काठमाडौं । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास बचत तथा ऋण सहकारी लिमिटेड र योयो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सोसम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ ।
नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका योयोका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे । नागरिक विकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । योयोले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्नेछ ।
अवार्ड कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्युटमै शनिबार हुँदै छ ।
अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष-महिला खेलाडी गरी चार खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । उदीयमान खेलाडीका रूपमा समान १–१ पुरुष-महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिनेछ । आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए ।
उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभमेन्ट’ विधाबाट सम्मानित गरिनेछ । त्यस्तै, विगत १० वर्षदेखि उसु प्रशिक्षकका रूपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसापत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा अवार्डका रूपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, योयोका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रूपमा ट्रफी अनावरण गरे ।






