सिकाइको लक्ष्य विद्यार्थी टिकाउ

नाराका रूपमा ‘सबैका लागि शिक्षा’आएको पनि दशकौं भइसक्यो । विद्यालय बाहिरका बच्चालाई विद्यालय झिकाउन सरकारले अनेकांै प्रयास गरे पनि आजसम्म विद्यालय उमेरका सबै बच्चामा विद्यालयको पहुँच पुुग्न सकेको छैन । पहुँचका लागि विद्यालय दूरी किटान पनि गरियो । तैपनि सरकारले खोजेजस्तो उपलब्धि हात लागेन । राजा वीरेन्द्रको राज्याभिषेकमा शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस् भन्ने नारा आयो । त्यसबेलाको सरकारले राजाको नारा साकार पार्न सबैले आफ्ना बालबच्चा विद्यालय पठाउन भन्यो । तर आममानिस हाम्रो भात खाएर राजालाई पढ्न हामी बालबच्चा पठाउँदैनांैसम्म भने । तर आजका मानिसमा त्यसबेलाको जस्तो चेत छैन । विकसित चेतका कारण विद्यालय पठाउन तत्पर छन् । तर पनि आमरूपमा सबैले विद्यालयको मुख नदेखेको कुरा सत्य हो । यसलाई निमिट्यान्न पार्ने जिम्मा सरकार र खासगरी स्थानीय तहको काँधमा आएको छ ।

आजको शैक्षिक समस्याका रूपमा विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा कसरी झिकाउने र टिकाउने भन्ने रहेको छ । सरकारले २०३८ सालको सेती परियोजनादेखि प्राथमिक शिक्षा परियोजना, आधारभूत प्राथमिक शिक्षा परियोजना, सबैका लागि शिक्षा, विद्यालय शिक्षा सुधार कार्यक्रम, विद्यालय विकास परियोजनालगायत कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । सबै कार्यक्रमको लक्ष्य विद्यालय सुधार तथा सबै बालबालिकाका लागि विद्यालय पहुँच नै हो । सबैका लागि समावेशी र समतामूलक एवं गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवद्र्धन गर्ने दिगो विकासको लक्ष्य राखी नेपालले ‘शिक्षा २०३०’ कार्यढाँचासमेत तय गरेको छ । संघीय संसद्ले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ पारित गरिसकेको पनि छ । यसमा आधारभूत शिक्षामा सबैको पहुँच पु¥याउनेदेखि उनीहरूको निरन्तरता वा सहभागिताको साथै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिने कुरा उल्लेख छ । संविधानको धारा ३९ मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ भनेर लेखिएको छ ।

अझै पनि एकातिर विद्यालय उमेरका कैयन् बालबालिका विद्यालयको औपचारिक कार्यक्रमबाट बाहिरै छन् भने विद्यालय आएकाको सिकाइ उपलब्धि पनि सन्तोषजनक छैन । शिक्षाको उद्देश्य पनि व्यक्तिको व्यवहारमा सकारात्मक परिवर्तन सँगसँगैको सिकाइ हो । तर, आजको हाम्रो शिक्षाले पढाउने तर नसिकाउने गर्दा कैयांैले विद्यालय बीचैमा छाड्न पुगेका छन् । विद्यालयमा सिकाइ नभएर पढाइ मात्र हुँदा विद्यार्थीले छाड्छन् । यसर्थ जीवन र शिक्षाबीच तालमेल मिलाइ सिकाउन अपरिहार्य छ ।

विद्यालय ल्याउने तरिका
विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा झिकाउन पहल हुनैपर्छ । सक्नेहरूले त ल्याइसके । अब नसक्नेका लागि प्रेरित गर्न जरुरी छ । अभिभावकलाई सघाउने, फकाउने, नपढेकाका लागि सरकारी सुविधा नपाउने गरिदिने, विपन्नताका लागि अभिभावक सहयोग कार्यक्रम, दिवा खाजा, छात्रवृत्ति, तथा नपढाउँदा हुने हानी’bout सम्झाउन जरुरी छ । अभिभावकलाई सकारात्मक हस्तक्षेप गर्नैपर्छ । यस कामका लागि संविधानको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शैक्षिक अधिकार प्राप्त स्थानीय सरकारले नै अब्बल दर्जामा पहल गर्नुपर्छ । विद्यालयमा बालमैत्री सिकाइ कार्यकलाप हुन जरुरी छ । ताकि बच्चालाई विद्यालय जाऊँजाऊँ लागोस् ।

अबको शिक्षक शिक्षक नभएर सहजकर्ता र उसको व्यवहार पढाइ नभएर सहजीकरणमा बदलिनुपर्छ

सिकाइ तरिका
मुख्य कुरो बालबालिकालाई विद्यालय झिकाउनु मात्र होइन । आएका बच्चालाई सिकाउनु पनि पर्छ । सिकाइ अर्थपूर्ण र जीवनसापेक्ष नभएसम्म विद्यार्थीलाई विद्यालयप्रति रुचि हुँदैन । रुचि नभएपछि कुनबेला घण्टी बज्ला र घर जाउँला भनी दाउ हेरेको हुन्छ । यसैकारण हरिभक्त कटुवाल भन्छन्, ‘बा, पाठशाला जान्नँ म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।’ तसर्थ सिकाइलाई व्यक्तिको जीवनसँग मेल खाने गराई बालमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । विद्यार्थीलाई यस्तो लागोस् कि शनिबार नआए हुन्थ्यो । यसका लागि स्थानीय पाठ्क्रम बनाएर लागू गर्नुपर्छ । अब सीता कसकी छोरी थिइन् ? भन्ने प्रश्न होइन, तिमी कसकी छोरी हौ ? भनेर सोध्नुपर्छ । यसको जिम्मा शिक्षकको हो । केन्द्रीय पाठ्यक्रमलाई पनि स्थानीयकरण गरेर स्थानीय विषयवस्तु पस्किने दक्षता शिक्षकमा हुनुपर्छ । रामबहादुर सिकर्मी हो भन्ने पढाएर अहिलेसम्म हामीले भएभरका सबै रामबहादुर सिकर्मी मात्रै हुन्छन् भन्ने गलत धारणा दियांै । अब यो तरिका फेरेर तिम्रा गाउँमा काठको काम गर्ने कोही छ ? भन्ने प्रश्न गर्नुपर्छ । पुरापुर आगमन विधिको प्रयोग गर्नुपर्छ । यसो भयो भने सिकाइ अर्थयुक्त हुन्छ । स्थायित्व हुन्छ । बाघको धारणा दिनुप¥यो भने तिम्रा घरमा भएको बिरालोजस्तै हुन्छ भनेर सिकाउनुप¥यो । यसो भयो भने सिकाइ दिगो हुन्छ । अब हरेक कुराको कारण खोज्न लगाएर, दर्शन खोज गर्न लगाएर, असर खोजी गर्न भनेर, सिद्दान्त र व्यवहारको खोज गर्न लगाएर सिकाउनुपर्छ । घोकन्ते विधि होइन परियोजना विधि भित्र्याउनुपर्छ । अब शिक्षक÷शिक्षिका होइन सहजकर्ता बन्नुपर्छ । अनि मात्र सिकाइ हुन्छ ।

बच्चा धान्ने कसरी
विद्यालयमा भर्ना भएका बच्चालाई धान्न सक्नु पनि आजको आवश्यकता हो । बीचैमा पढाइ नछोडून् भनेर ख्याल गर्न जरुरी छ । कक्षा १ मा भर्ना भएका कति विद्यार्थी १२ कक्षामा पुग्छन् भन्ने प्रश्न अहिलेको महत्वपूर्ण सवाल हो । अहिले कक्षा छाड्ने दर उच्च छ । कक्षा ५,८ र १० मा विद्यार्थी टिकाउ दर विगतमा क्रमशः ८८.३, ७७.४ र ५७.१ प्रतिशत मात्र थियो । यसमा अहिले पनि खासै सुधार हुन सकेको छैन । यो ज्यादै न्यून दर हो । विद्यार्थीले किन कक्षा छाड्छन् ? किन विद्यालयले उनीहरूलाई धान्न सक्दैन ? यसको खोजिनीति पनि हुनुपर्छ । पहिलो कुरा सिकाइसँग सम्बन्धित रहन्छ । सिकाइ उपयुक्त भएन, विद्यालयको वातावरण बालमैत्री भएन भने पनि विद्यार्थी टिकाउन सकिँदैन । कुनै पनि विद्यालय २ सय २० दिन खुलेकै हुनुपर्छ । १ सय ८० दिन सिकाएकै हुनुपर्छ । बिहान १० बजे विद्यालय पुगेको बच्चाले ७ पिरियड पढ्न पाउनैपर्छ । यो उसको अधिकार हो । विद्यालय सुशासनले पनि यही भन्छ । यति भयो भने टिकाउ दर उकालो लाग्छ । सिकाइको परम्परागत विधिको सट्टा आधुनिक प्रविधिमैत्री विधि उपयोग गर्नुपर्छ । अनि मात्र टिकाउ दर बढ्छ ।

स्थानीय, प्रदेश र केन्द्र सरकारबीच सहकार्य र समन्वयको वातावरण भयो भने मात्र शैक्षिक अवस्थामा सुधार हुन्छ

अहिले हामीकहाँ यी कुनै पनि कुराको मतलव गरिँदैन । विद्यार्थी टिके पनि नटिके पनि फरक नपर्ने भएपछि टिकाउका लागि किन मिहिनेत गर्नुप¥यो भन्ने सोच विकसित भएको छ । यसमा सुधार हुनुपर्छ । टिकाउको जिम्मा विद्यालयले लिनुपर्छ । वातावरण बनाउने काम विद्यालयको हो । यसका लागि को कसको सहयोग लिने हो भन्ने कुरा विद्यालयले जान्ने कुरा हो । आजभोलि छात्राहरूका लागि छुट्टै शौचालय, महिनावारी हुँदाका बखत सेनिटरी प्याडको व्यवस्था सरकारले गरिदिएको छ । यो विद्यार्थी नियमितता र टिकाउका लागि उपयुक्त कदम हो । यसलाई स्थानीय सकारले निरन्तरता दिनुपर्छ । केन्द्रको मात्र मुख ताक्नुहुँदैन । माग बढेको छ । कति विद्यालयमा त यी सुिवधा छन् । कतिले संघसंस्था गुहारेर प्याडको सौजन्यता खोजेका छन् । गत वर्षदेखि सरकारले निःशुल्क प्याड वितरणको थालनी गरेको छ । यो सकारात्मक पक्ष हो यसलाई निरन्तरता दिनुपर्छ । यस्ता ठाउँमा टिकाउ प्रवृत्तिमा सुधार आएको पनि छ । अब यसो नगरेकाहरूले पनि गर्न जरुरी छ । शौचालयसमेतको भौतिक व्यवस्थापनको काम स्थानीय सरकारको हो । यसो भयो भने मात्र विद्यालय छाड्ने दरमा कमी आउँछ ।

सहकार्यको जरुरी
विद्यालयमा झिकाउने, आएका बच्चालाई सिकाउने र विद्यालयमा टिकाउने कामका अलावा आजको शिक्षा बजारमा बिकाउने खालको पनि हुनुुपर्छ । निश्चित तह पार गरेपछि बिकाउका लागि रोजगारीको क्षेत्र किटान गर्नुपर्छ । बजारको प्रबन्ध गर्नुपर्छ । हाट बजारको व्यवस्थापन गर्नुपर्छ । यसका लागि तीनवटै सरकारबीच सहकार्य चाहिन्छ । परम्परागत सीपमा आधारित भएर स्थानीय पाठ्यक्रम बनाउनुपर्छ । स्थानीय पाठ्यक्रमले बिकाउमा सहयोग पु¥याउँछ । यसका लागि प्रदेशमा प्रदेश सरकार र केन्द्रमा संघीय सरकारको पनि सहयोग जरुरी हुन्छ । तीनैथरी सरकार अर्थात् संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय भएर मात्र शिक्षाको झिकाउ, सिकाउ, टिकाउ र बिकाउ अभियान पूरा हुन्छ । प्रदेश सरकारले संविधानको अनुसूची ९ अनुसार स्थानीय सरकारलाई सघाएको हुनुपर्छ । प्रदेश सरकारले बालबालिकालाई झिकाउने, सिकाउने, टिकाउने र बिकाउने कामका लागि स्थानीय सरकारलाई प्रतिस्पर्धी बनाउनुपर्छ । बेलायतको प्रदेश सरकारले कमजोर पालिकालाई सघाउँछ । अमेरिकामा कमजोर तथा बलिया दुवै पालिकालाई त्यहाँको प्रदेश सरकारले सघाउने गरी कोषमा रकम दिने गर्छ । हाम्रोमा पनि यो चलन भित्र्याइनुपर्छ । पालिकाहरूले यही कोषको रकम प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्छन् ।

एक शैक्षिकसत्रमा यति शैक्षिक उपलब्धि बनाउँछु भनी शिक्षकले प्रअसँग सम्झौता गर्नुपर्छ । प्रअले विव्यससँग गर्नुपर्छ । विव्यसले स्थानीय सरकारसँग गर्नुपर्छ । स्थानीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर बर्सेनि शैक्षिक उपलब्धिको परीक्षा सञ्चालन गरी पालिकागत उपलब्धि स्तर निकाल्नुपर्छ । प्रदेशअन्तर्गतको पालिकाको उपलब्धिको तुलना गर्नुपर्छ । शिक्षा मन्त्रालयले कर्मचारी खटाउँदा जिल्लाको र आफूअन्तर्गतको पालिकाको शैक्षिक उपलब्धि यति गर्नेछु भनी एक वर्षको सेवा करार गराएर मात्र कर्मचारी खटाउनुपर्छ । अवधि पुगेपछि सम्झौता पल्टाउनुपर्छ । उपलब्धिको समीक्षा गर्नुपर्छ । भनेजति गर्नेलाइ यथावत् गर्न दिनुपर्छ । कम गर्नेलाई आगामी दिनमा अवसरबाट वञ्चित गर्नुपर्छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच तालमेल, सहकार्य र समन्वयको वातावरण बनाइनुपर्छ । यसो भयो भने मात्र आजको शैक्षिक अवस्था माथि बढ्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,066 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो