काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली इराकविरुद्धको मैत्रीपूर्ण खेल र कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटका बाँकी खेल खेल्न आउँदो मंगलबार इराक प्रस्थान गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टोली कतार एयरलाइन्सको विशेष उडानबाट आगामी मंगलबार इराक प्रस्थान गर्न लागेको होे । टोलीले इराकसँगको मैत्रीपूर्ण खेलपछि विश्वकप र एसियन कप छनोटका लागि कुवेत जानेछ । टोली १२ जुनमा स्वदेश फर्कनेछ ।
नेपालले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टोली विश्वकप छनोटको बाँकी तीन खेलका लागि कुवेत प्रस्थान गर्नेछ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोटअन्तर्गत ३ खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन तथा जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।
नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेईको ५ खेलमा कुनै अंक छैन । अस्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रूपमा मात्र बाँकी छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले थ्री नेसन्स कपको उपाधि जित्न सफल टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै मंगबार २३ सदस्यीय टोली घोषणा गरेको थियो । नेसन्स कप जित्दाका १० खेलाडीले मात्र राष्ट्रिय टोलीमा स्थान बनाउन सके । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । मिडफिल्डर कमल थापा, सुरज ज्यु ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।
फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् । प्रारम्भिक टोलीमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रञ्जित धिमाल र निशान खड्का तथा मिडफिल्डर रवी पासवानले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यसबाहेक पहिलोपटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङ्देम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।






