काठमाडौं । पछिल्लो निषेधाज्ञामा पनि राजेन्द्र बजगाईलाई खाली बस्नुपरेको छैन । गत साता मात्रै संगीतकार बजगाईंले प्रमोद खरेलको स्वरमा नयाँ गीत आमा…रेकर्ड गरेका छन् । त्यसको एक साताअघि पनि उनले गायक सरोज कोईरालाको स्वरमा सपूत देश बचाऊ आऊ गीत रेकर्ड गराए । अहिलेको राजनीतिक परिवेशमा केन्द्रित भएका कारण सो गीत लकडाउनबीच पनि रेकर्ड गरिएको उनले बताए । गायिका रचना रिमालको आमासम्बन्धी गीत पनि उनले यही निषेधाज्ञाको बीचमा तयार गरेका छन् । यस्तै, बिन्दु परियारको स्वरमा म तिम्रो बर…गीत पनि लकडाउनबीच नै उनले तयार गरेका छन् ।
संगीतकार बजगाईंका अनुसार उनी यतिबेला नयाँ गीतिसंग्रहकै तयारीमा जुटेका छन् । गीतकार आर्यनजंग खड्काको ६ वटा गीतहरूमा उनी अहिले संगीत गर्दै छन् । जसमध्ये लकडाउनकै बीचमा तीनवटा गीत रेकर्ड भइसकेको पनि उनले बताएका छन् । जसमा प्रमोख खरेल, शिव परियार, अञ्जु पन्तको स्वरमा रेकर्ड भएको हो । यस्तो बेलामा स्टुडियो पनि भिड नहुने भएकाले गीत रकेर्ड गर्न त्यत्ति गाह्रो नभएको उनले बताएका छन् । यही बीचमा उनले सिर्जना गरेको आलिफ खान र सुजाता केसीको स्वरमा रहेको चिनी अमिलो…गीतको भिडियो पनि निषेधाज्ञा खुलेपछि रिलिज गरिने भएको छ ।
गत १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी भए पनि संगीतकार राजेन्द्र संगीत सिर्जनामा व्यस्त छन् । घरछेउमै आफ्नो म्युजिक स्टुडियो कार्यालय भएकाले अफिसमा पुगेर नियमित काम गरिरहेको उनले बताएका छन् ।
‘कोरोनाको महामारीका कारण अहिले कलाकारसँग त्यति भेटघाट गरेको छैन् । सामाजिक दूरी कायम गरेर रेकर्डको काम गरिरहेको छु ।’ संगीतकार बजगाईले भने, ‘यो अनलाइनको जमानामा गीत तयार गर्न शब्द मगाएर आफूले संगीत गरेर मेलमा पठाउँदै आएको छु । बाजाहरू पनि वाद्यवादकले बजाएर घरमै पठाउने हुँदा कलाकारसँग भेटघाटबिना पनि काम गर्न सजिलो भएको हो ।’
संगीतकार बजगाईंको भनाइमा निषेधाज्ञामा त्यतिकै घर बस्दा दिन काट्नै निकै गाह्रो हुन्छ । सोही कारण आफू कार्यालय पुगेर संगीत सिर्जनामा हरेक दिन व्यस्त रहने गरेको पनि उनले बताएका छन् । यी संगीतकारले अघिल्लो वर्षको लकडाउनमा केही महिना घरमै बसे । त्यसपछि उनले अनलाइनमार्फत गीतसंगीतको काम सुरु गरे । ६ महिनाको लकडाउनकै बीचमा आफूले २२ वटा गीतमा संगीत सिर्जना गत वर्ष गरेको पनि उनले जानकारी गराए । गत लकडाउनमा तयार भएका उनका गीतहरूमा तीतेकरेली…, साइत जुरेन…, पानी कुवाको…, घरको झ्यालैमा…जस्ता थुप्रै गीतहरू उनले तयार गरेका थिए । पछिल्लो समय उनको तीते करेली गीत निकै सफल भएको छ । निशान भट्टराईको स्वरको साइत जुरेन पनि त्यतिकै रुचाइएको गीत हो ।
राजेन्द्र बजगाईंले संगीत सिर्जना गर्न थालेका एक दशक नाघेको छ । लोक, आधुनिक, पप, राष्टिय भाव र चलचित्रका गीतमा उनले संगीत सिर्जना गर्दै आएका छन् ।
एकलव्य, टिम फोर, काँचुली, मत मर्छु कि क्या होलगायत विभिन्न चलचित्रमा उनले संगीत सिर्जना गरिसकेका छन् । संगीत सिर्र्जनाबाट बचेको समय उनी चलचित्रमा पाश्र्वसंगीत पनि गर्दै आएका छन् ।
हालसम्म ८ सय बढी गीतमा उनले संगीत सिर्जना गरिसकेका छन् । उनी गायनमा पनि त्यतिकै सक्रिय छन् । आफ्नो स्वरमा ५ दर्जन बढी गीत रेकर्ड गराइसकेका बजगाईं अबको निषेधाज्ञा खुलेपछि लगातार आधा दर्जन गीत रेकर्ड गर्ने तयारीमा छन् । दुई महिनापछिको तीजका लागि पनि अहिलेदेखि आफूलाई गीत तयार गर्न प्रस्ताव आइसकेकाले निषेधाज्ञा खुलेपछि अझ व्यस्त हुने उनले बताएका छन् । विगतमा उनले कैयौं गीत लोकप्रिय भइसकेका छन् । भुवन प्यासीको स्वरका यो देशका लागि.., ट्राफ्रिक जाम…, राज सिग्देलको आवाजको यो त जाली सहर…, ज्योति मगरको स्वरमा रहेको करुवा तेल…, भेषराज गौतमको स्वरमा मुसुमुसु हाँसेर…उनका चर्चित गीत हुन् । यस्तै प्रताप दास र अस्मिता अधिकारीको आऊ माया साथैमा… सहित मस्त जवानी…, टेन्डर…पनि उनका चलेका गीत हुन् । पछिल्लो पुस्ताका व्यस्त संगीतकारको सूचीमा परेका राजेन्द्र बजगाईं संगीत सिर्जनामा निरन्तर लागेका छन् ।






