दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् ।

ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘सरकारले अलोकतान्त्रिक कदम चालेको’प्रति आलोचना गरेका छन् ।

नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग विज्ञप्तिमा अपिल गरिएको छ ।

विज्ञप्तिमा ‘काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको’ भन्दै आपत्ति जनाइएको छ । ‘चुरे र महाभारत शृंखलामा हुने उत्खननबाट जंगल विनाश भई पानीका मुहान सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘प्रधानमन्त्रीका गलत क्रियाकलापका कारण देशले अस्थिरता र अन्योलग्रस्त राजनीतिक स्थिति सामना गरिरहेको बेला कामचलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा बालुवा र गिटी उत्खनन गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो घरमा आगो लगाएर अरूको हितका लागि खरानी बेच्नेजस्तो सरकारको निर्णयको तीव्र विरोध गर्दै त्यस्तो निर्णय खारेज गर्न माग गर्दछौं ।’

उनीहरूले ‘काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्नेगरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन’ चेतावनी दि“दै ‘यसप्रकारका गलत काममा संलग्न नहुन’ प्रशासन र सुरक्षा निकायलगायत राज्यका अन्य निकायलाई आग्रह गरेका छन् ।

त्यस्तै, ‘सरकार कोरोना महामारी रोक्न नलागी प्रधानमन्त्री स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चय र अस्थिरताको खेतीमा लागेको’ आरोप पनि पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा लगाइएको छ ।

‘सत्ता स्वार्थमा लिप्त भएर राज्यसंयन्त्र, सरकारी साधन र स्रोत व्यापक दुरुपयोग गरिएको छ । भ्रष्टाचार र अनियमित कार्यलाई प्रधानमन्त्री र उनका निकटस्थबाट संरक्षण र प्रश्रय दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले आन्तरिक राजनीतिमा बाह्य चलखेल हुन दिन नहुनेसमेत बताएका छन् ।

‘नेपाल’bout हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यानाकर्षित गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
पाँच पूर्वप्रधानमन्त्रीले पहिलो खोप लगाएकाले समयमै दोस्रो खोप नपाएको भन्दै यस्तो अवस्थाप्रति गम्भीर हुँदै खोप समुचित व्यवस्था गर्न पनि माग गरेका छन् ।ं

तपाइको प्रतिक्रिया
(Visited 425 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा