संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको प्रक्रियासँगै देशमा राजनीतिक संकट देखापरेको छ । यो संकट प्रकृतिका हिसाबले हेर्दा दोहोरिएकोे जस्तो देखिन्छ । तथापि, राजनीतिक परिस्थितिका हिसाबले यसको अन्तर्यमा भने कुनै न कुनै कुरा फरक परिरहेको देखिन्छ । घट्ने राजनीतिक घटनाक्रम सार र रूपमा एउटै हुँदैनन् । कहिलेकाहीँ नयाँ सारलाई पुरानो आवरणले ढाक्ने त कहिलेकाहीँ पुरानो सारलाई नयाँ आवरणले छोप्ने भइरहेको हुन्छ । यसले गर्दाभित्र के भइरहेको छ ? भन्ने अन्तर्विरोधका कुरा बुझ्न नसकिने तर राजनीतिक घटनाक्रम जटिल बनेर आइदिने गर्द छ । कहिलेकाहीँ निरन्तर चलिरहेका राजनीतिक घटनाक्रममा एक्कासि क्रम भंगता आइदिन्छ । यसले नयाँ अन्तर्विरोधका कारण पुरानो रूपले यसलाई छेक्न र ढाक्न नसकेको देखिन्छ । नेपाली राजनीतिमा संसद् निरन्तर चलिरहेको बेला संसद् विघटन हुनु र संसद् विघटन हुँदाका बखत त्यसको निरन्तरताको खोजी गरिनु नेपाली राजनीतिक परिदृश्यमा देखापरेका रूप र सारका बेमेल हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र व्यावहारिक रूपमा अघि बढ्दै गर्दा संविधानमा उल्लेख गरिएका कतिपय प्रावधानले नयाँ रूपको माग गरिरहेका हुन्छन् भने कतिपय अवस्थामा नयाँ राजनीतिक रूपको प्रयोग गर्न खोज्दा पुरानो अन्तर्विरोधले जटिलता पैदा गरिरहेको हुन्छ । यसलाई व्यावहारिक रूपमा हेर्दा पार्टी पार्टीबीचको लडाइँ, नेता नेताबीचको जुंगाको लडाइँ, सत्ता भागबन्डाको लडाइँ र राजनीतिक पूर्वाग्रहको लडाइँजस्तो देखापरेको हुन्छ ।
संक्रमणकालीन अवस्थामा यस्तो समस्या बढी देखिन्छ । नेपाल पनि राजनीतिक रूपले संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दा रूप र सारका हिसाबले यो राजनीतिक रूपमा ‘प्राडाडाइन सिफ्ट’ नै हो । यसले राजनीतिक क्रियाकलापको नितान्त भिन्न रूपमा माग गरिरहेको हुन्छ । पुरानै सोच र शैलीहरू यसमा सफल नहुन सक्छन् । फेरि यो नयाँ प्रयोग पनि हो । नयाँ प्रयोगमा धेरै कमीकमजोरी र अपुगहरू हुन्छन् । यी सबैको समाधानका लागि राजनीतिक पार्टीहरूबीच सघन राजनीतिक सहकार्य जरुरी हुन्छ । यो सहकार्य परिकल्पना गरिएको व्यवस्थाअनुरूप सुहाउँदो हुनुपर्छ । यसले नयाँ व्यवहार र नयाँ संस्कार, संस्कृतिको माग गर्छ । तर, यसका लागि नेता, नेतृत्व र राजनीतिक दलहरू तयारी हालतमा रहनुपर्छ । यो तयारी रहेन भने पुरानै आग्रह पूर्वाग्रहमा रजनीतिक निकासको समस्या गाँठो पर्न जान्छ । यसले एक अर्कालाई अप्ठ्यारो पार्ने, घुमाउने, नचाउने र गिज्याउने तहसम्म पु¥याइदिन्छ । अग्रगमनतिर जानुभन्दा जबर्जस्त पश्चगमनको यात्रा सुरु गराउँछ । हाल नेपालमा अग्रगमनका लागि सही कदम चाल्न सकिएन भने राजनीतिक घटनाक्रमले पश्चगमनको मोड लिने सम्भावना पनि नकार्न सकिने अवस्था देखिँदैन । राज्य व्यवस्थाका हिसाबले अझै पनि देशमा संक्रमणकालीन राजनीतिक अवस्था विद्यमान छ । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।
त्यसैले, वर्तमान अवस्थामा देशमा सिर्जिएको राजनीतिक संकट’bout राजनीतिक दल, यसका नेतृत्व र नेताहरू गम्भीर भएर घोत्लिनु जरुरी हुन गएको छ । अहिलेको अवस्थामा को हावी हुने ? कसले जित्ने ? कसलाई तह लगाउने भन्ने ? भन्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कसरी सामूहिक प्रयत्नका साथ अघि बढ्ने भन्ने कुरा सबैका दिल दिमागमा राख्नुपर्ने अवस्था सिर्जना हुन गएको छ । राजनीतिक संकट सदैव रहिरहन्छ । तर, यसलाई अग्रगामी कलात्मक र सिर्जनात्मक रूपले हल गर्ने क्षमता नेता र नेतृत्वमा हुनुपर्छ । समय पर्खंदैन । समाज उही अवस्थामा रहँदैन । परिस्थिति निरन्तर परिवर्तन भइरहन्छ । यसैलाई बुझेर आइपरेका समस्याको अग्रगामी समाधानसहित नेतृत्वले अगाडि बढाउन सक्नुपर्छ । हाल देशमा देखिएको राजनीतिक संकट ठीक यसैमा केन्द्रित छ ।






