नेपालको प्राकृतिक सौन्दर्य र गौरवमय राष्ट्रियता

दीर्घराज प्रसाईं


मानव सभ्यताका प्रवर्तक कैयौं ऋषिमुनिहरूको जन्म र कर्मभूमि हिमवतखण्ड नै थियो । पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दुकुस, उत्तरमा कैलास मानसरोवर र दक्षिणमा गंगा नदीको क्षेत्र नै हिमवतखण्ड हो । सप्तगण्डकीमा काश्यप ऋषि, पुलस्त्य ऋषि, कोसी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोर्खामा वेदव्यास, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा वाल्मिकि ऋषि, बाग्मती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋगवेदमा उल्लेखित सप्तऋषि र किरातीहरूका ऋषि आकुनीले ख्याति कमाएको उल्लेख छ । वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको ज्येष्ठभूमि मानिएको छ । हिमवतखण्ड पुस्तकको ७१ अध्यायको श्लोक १६मा उल्लेख छ, ‘कश्यप, दक्ष प्रजापति’ले पनि यहाँ तपस्या गरेका हुन् । मार्कण्डेय, अस्वथामा, वली, व्यास, हनुमान, कृप, प्रशुराम र विभूषणले यही तपस्या गरेर चिरञ्जीवी भएका हुन् । त्यसैगरेर सो पुस्तककै ७१ अध्यायको २१ श्लोकमा उल्लेख छ, ‘पशुपत क्षेत्रको महŒव बुझेर मरिची, अंगिरा, पुलह, भृगु र अत्रीजस्ता ऋषि र प्रह्लादजस्ता भक्त यही रहेर अष्टमूर्ति महेशको पूजा गर्छन्’ भन्ने उल्लेख छ । भारवीले यस क्षेत्रलाई नै केन्द्रित गरेर
‘किराँतार्जुनीयम्’ महाकाव्य लेखेको कुरालाई पनि यहाँको सभ्यताको विकासमा स्रोतको रूपमा लिइन्छ । अर्जुनले धनुर्विद्याको विशेष ज्ञान किराँत प्रदेशमै प्राप्त गरेको ‘नेपाल विषय राजन्’ भनेको कुरा महाभारतमा उल्लेख छ ।
हिमवतखण्ड ‘नेपाल’ एक पूण्यभूमि हो । स्कन्दपुराणको ६९औं अध्यायमा उल्लेख छ, ‘आर्यश्रेष्ठ ने–मुनि ठूला तपस्वी थिए । हिमालय पर्वतको काखमा सप्तऋषिहरू तपस्यारत हुन्थे । हिमवतखण्डमा वैदिक हिन्दु सनातन धर्म र संस्कृतिलाई ऋषिमहर्षिको ‘कृण्वन्तो विश्वमार्यम’् विश्वलाई सभ्य बनाऔं भन्ने सिद्धान्तबाट विश्वव्यापी बनाउन सशक्त भूमिका खेलेकाले वैदिक–हिन्दुशास्त्र र दर्शन विश्वव्यापी हुन सकेको थियो । ‘यही भूमिमा नेमुनि’ले पशुपति क्षेत्रलाई निरन्तर धर्मले पालन गरेका थिए ।’ यो पूण्यभूमि सानो भए तापनि एउटा सानो संसारका रूपमा मानिन्छ । नेपाल अधिराज्यको यस्तो बनोट छ कि हिमाली क्षेत्र, पहाडी र तराई क्षेत्रमा विभिन्न जनजातिको बसोबासोमा जसरी विभिन्नता छ त्यसरी नै नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तो छ कि यहाँ अनेकौं किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाद्य पदार्थहरूको उत्पादन हुने गर्छ । यहाँको हावापानी यस्तो छ कि १२ महिना काम गर्न सकिन्छ ।


संसारका अनेकौं देश जेजति उत्पादन हुन्छ, यही भूभागमा उत्पादन हुने गर्छ । कैयौं नदी र सयौं खोला र झरनाले यस भूभागलाई प्रकृतिको देनका रूपमा लिइन्छ । नेपाललाई पानी नै पानीको देश हो । नेपालको पानीलाई राम्ररी सिँचाइ र विद्युत् उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्छ । नेपालको पानीबाट ८ करोड किलोवाट बढी विद्युत् उत्पादन गरेर छिमेकी देश पनि हरभरा बनाउन सकिन्छ । जंगलै जंगलले सजिसजाउ नेपालभित्र अनेकौं जीवजनावर, ८ सय बढी प्रकारका चराचुरुंगी दुर्लभ जडीबुटी पाइन्छन् । हरप्रकारले प्रकृतिले नेपाललाई साथ दिएको छ । कैयांै विदेशी पर्यटक भन्छन्, ‘यो ठाउँ संसारभरमा सबैभन्दा सुन्दर स्थान छ ।’
विश्वका कुनामा कुनामा रहेका आप्रवासी नेपालीको प्रेमले विश्वभर नेपालीको मौलिक पहिचान र राष्ट्रिय पहिचान स्थापित हुन गएकोे छ ।


नेपाल देश सानो भए पनि थरीथरी जातजातिको बसोबास छ । यहाँ कुनै पनि एक जातिलाई होच्याएर र बिर्सेर नेपालको राष्ट्रियता पूरा हुँदैन । यहाँ फरक जातिको फरक सांस्कृतिक सम्मानमा नै राष्ट्रियता अटेको छ । नेपालमा हिन्दु, वैदिक र बौद्धको समष्टीबाट नेपाली संस्कृतिको सिर्जना भएको छ ।



स्वदेश तथा विदेशमा बसेका नेपालीले मातृभूमिको रक्षार्थ संवेदनशील भएर अगाडि बढ्नुपर्ने बेला छ । राजनीतिक विवादका कारण नेपाली राष्ट्रियता र पहिचानको
चीरहरण हुनुहुन्न

हाम्रो राष्ट्रियता यति संवेदनशील छ, हाम्रा स्थापित मान्यतामा कुनै विवाद उठ्यो भने राष्ट्रिय एकतामा खतरा आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताको विषयमा सधैं सहिष्णु र संवेदनशील भएर बोल्नुपर्छ




सहिष्णुता, सभ्यता र संस्कृतिको हिसाबमा हाम्रो संस्कृति उत्कृष्ट छ । हामी संस्कृतिका धनी छौं । अनेकौं जाति मिलेर एक साझा नेपाली जातिमा एकीकृत हुन सकेको नेपालको राष्ट्रियता टपक्क फूलेको छ, जसको कारणले नेपाली संस्कृतिको सुवास विश्वभरि फैलिएको छ । विभिन्न भाषाभाषीबीच सम्पर्क भाषाका रूपमा नेपाली भाषा माध्यमका रूपमा स्थापित भएको छ । नेपाल हिन्दु अधिराज्यका रूपमा विश्वव्यापी हुन गए तापनि धार्मिक मामलामा विश्वका धर्मनिरपेक्ष राष्ट्रभन्दा नेपाल धेरै उदार छ । यही देशमा मुसलमान, क्रिस्चियन र अन्य धर्मावलम्बी पनि आफ्ना धार्मिक कर्म गर्न स्वतन्त्र छन् । तर, पनि कतिपय नेपाली राष्ट्रियताको सौदाबाजी गरेर स्वार्थपूर्ति गर्न उद्दत छन् ।


नेपालको राष्ट्रियता भनेको एक भावनात्मक मान्यता मात्र होइन । यो एक क्रियात्मक मनोदशा हो । भूभागले मात्र राष्ट्रियताको प्रतिनिधित्व गर्दैन । नेपालको राष्ट्रियताका जग तथा आधार र स्थापित मान्यतालाई विस्थापित गर्न खोजिएमा राष्ट्रियतामाथि प्रश्न चिह्न खडा हुन सक्छ । युगौंदेखि स्थापित भएका मान्यतालाई विवादमा ल्याइयो भने नेपालीको एकता टुट्न सक्छ । हामी नेपालीको राष्ट्रियता यति संवेदनशील छ कि हाम्रा स्थापित भएका मान्यतामा कुनै विवाद उठाउने काम भयो भने हाम्रो राष्ट्रिय एकतामा खतरा आउन सक्छ । त्यसैले हामीले राष्ट्रियताको विषयमा सधंै सहिष्णु र सम्वेदनशील भएर मात्र बोल्नुपर्छ । नेपालको राष्ट्रियताको कडी भनेको चीन र भारत हो । यसमा पनि भारतसँग नेपालको सांस्कृतिक एवं धार्मिक सौहार्द कायम राखेर सार्वभौमिकता सुरक्षित राख्नुपर्ने देखिन्छ । नेपाल–भारतबीचको सौहार्द वातावरण खलबल्याएर केही देशीविदेशी तŒव स्वार्थपूर्तिमा संलग्न हुन पनि सक्छन् । यस्ता षडयन्त्रबाट दुवै देशका सरकार र जनता सचेत हुन सक्नुपर्छ ।


हुन त नेपाल चीन र भारतबीच अवस्थित भूपरिवेष्ठित राष्ट्र हो । यद्यपि, नेपालले यी दुई ठूला राष्ट्रको चेपबाट जोगिएर नेपालले आफ्नो अस्तित्व कायम राख्नु छ । नेपालको राष्ट्रियता भनेको यहाँको संस्कृति, मौलिकता, स्रोतसाधन भूगोललगायत समष्टि हो । यसका लागि हामी नेपाली आफंै सक्षम र सजक नभई राष्ट्रियतालाई समृद्ध गराउन सकिँदैन । राष्ट्रियता बचाउन आफै अग्रसर हुनुपर्छ, अर्कोले बचाइदिने होइन ।
नेपाल र भारतबीच हिन्दु देवस्थल र अनेक धामको गरिमाले जनता एकअर्कालाई सम्मान गर्छन् । नेपाल कहिले पनि पराधीन भएन । तिब्बतमा अवस्थित कैलाश मानसरोवर विश्वका हिन्दुको सम्मानित धाम हो । चीनमा नेपालका भृकुटी र अरनिकोका पदचिह्न र बौद्धधर्मको उद्गम राष्ट्रका रूपमा नेपाल र नेपाली जनताको सार्वभौम स्वतन्त्रताको चीनले कदर गर्दै आएको छ । त्यसरी नै नेपालीको स्वाभिमानप्रति भारतले सम्मान गर्ने गरेको पनि छ । नेपाललाई गौरव छ कि भारतको धर्म संकटको बेलामा हिन्दुहरूको आश्रयदाता पनि नेपाल रहिआएको छ । भारतमा हिन्दुहरूका लागि हिमालयको आकर्षण पशुपतिनाथ र मत्स्येन्द्रनाथको दर्शन एउटा चीर आकांक्षा भई नै रहन्छ । नेपाललाई थाहा छ कि विश्वका प्रत्येक हिन्दु नेपाललाई स्वतन्त्र सार्वभौम हिन्दु अधिराज्यका रूपमा हेरेर आनन्दित हुन्छन् ।


अतः यस हिसाबले नेपाल–भारतबीच धार्मिक र सांस्कृतिकलगायत विकास र सहकार्यका सवालमा दुवै देशलाई उपयोगी हुन सक्ने नीतिको अवलम्बन गरिनुपर्छ । राष्ट्रियताप्रति मानिसको झुकाव घट्दै गयो भने देशभित्र नैतिकताको ह्रास आउँछ, धर्म संस्कृतिमा विवाद उठ्न थाल्छ, अराजकता बढ्छ । नेपालमा केही राजनीतिक नेता राष्ट्रियताप्रति संवेदनशील हुन नसकेकाले नेपालको प्राकृतिक र सांस्कृतिक पहिचान विवादमा परेका छन् ।
स्वदेश तथा विदेशमा बसेका नेपालीले आप्mनो मातृभूमिको रक्षार्थ संवेदनशील भएर अघि बढ्नुपर्ने बेला छ । हाम्रो कसैसँग भेदभाव छैन । राजनीतिक विवादका कारणले नेपाली राष्ट्रियता र पहिचानको चिरहरण हुनुहुन्न । सबै मित्रराष्ट्रसँग समान सम्बन्ध कायम गरेर आपसी फुटभन्दा एकतामा आबद्ध भई हामी राष्ट्रियताको सवालमा एक
हुन सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,228 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

निहारिका र शिवराजले जानकी मन्दिरमा विवाह गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ १७, २०७९
मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित