मुलुकमा सक्षम नेतृत्वको आवश्यकता

डा. देवीप्रसाद आचार्य

हाम्रो देशको जननिर्वाचित सरकारका कार्यशैलीबाट नागरिक किन सन्तुष्ट हुन सकेनन् ? के साँच्चै नेपाली समाजलाई राज्यको आलोचना गर्ने बानी नै बसेको हो त ? नागरिकहरू राज्यको आलोचना गर्न अभ्यस्त भएका हुन् त ? त्यसो होइन । सानो सफलतामा पनि नेपाली समाज रमाउने चरित्रको छ । दृष्टान्तका लागि कुलमान घिसिङ्को नेतृत्वमा नेपाल विद्युत् प्राधिकरण आएपछि उनको कामको हरेक नागरिकले प्रशंसा गरेका छन् । जयजयकार गाएका छन् । अहिलेका प्रधानमन्त्रीको अघिल्लो कार्यकालमा उनको राष्ट्रियतासम्बन्धी कार्यशैलीको जनताले प्रसंशा गरेका थिए । हरेक क्षेत्रमा यस्तै देश र जनताका पक्षमा काम हुन सके देशका प्रधानमन्त्री, मन्त्रीगण, कर्मचारी, निर्माण व्यवसायीलगायतका व्यक्ति एवं व्यक्तित्वलाई नागरिकले शिर निहुराएर श्रद्धा गर्छन् ।
राज्यवा हरेक व्यक्तिको आलोचना वा प्रसंशाको आधार उसको काम हो, योगदान हो । हालसम्म सरकारमा पुग्ने हरेक दल वा व्यक्ति विशेष जनताका लागि जुन जोगी आए पनि कानै चिरेका भनेझैं भएको छ । जनताले विकासको अनुभव गर्न पाएका छैनन् । विकासको मूल फुटाउने कुरा त पञ्चायतकालमा पनि हुने गरेको थियो । अहिले पनि विकासका ठूलाठूला कुरा हुने गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले यो सरकारले असाधारण उपलब्धि गरेको भाषण गरे । अहिले उनको भाषणको पनि आलोचना भएको छ ।


सरकारका कामले समाजमा सकारात्मक प्रभाव पर्न सकेको छैन । देशको अवस्था जताततै लथालिंग छ । भताभुंग छ । समाजका बुद्धिजीवी, नागरिक समाज, मानवअधिकारवादी, सचेत नागरिक, एकेडेमिया, स्वतन्त्र विचारक, लेखक, कलाकार, पत्रकार, सम्पादक, किसान, मजदुरलगायत विचार, छलफल, बहस, कुराकानी, अन्तरवार्ताको समीक्षा गर्दा मुलुकले सक्षम नेतृत्वको अभावका कारण नै अहिलेको अवस्थामा गुज्रनुपरेको हो, भन्ने आशय बुझिन्छ । अहिले समाजलाई अमूक दल वा व्यक्तिभन्दा पनि देशलाई विकासको गतिमा अगाडि बढाउन सक्ने सक्षम नेत्वको आवश्यकता छ । अहिलेको जननिर्वाचित बहुमतको सरकारले पनि काम गर्न नसक्नु मुलुकको दुर्भाग्य हो ।
प्रजातन्त्रलाई जनताले, जनताद्वारा, जनताको लागि बनाइएको शासन व्यवस्था भनिए तापनि हाम्रो देशको सन्दर्भमा प्रजातन्त्रले जनताका लागि काम गर्न किन सकेन ? जननिर्वाचित सरकारबाट हुने गरेका कार्य किन जनताबाट आलोचित भइरहन्छन् ? किन राज्य र नागरिकबीच हार्दिक सम्बन्ध स्थापित हुन सकेन ? सरकारले देश र जनताको पक्षमा काम गरे के हुन्छ ? राज्यले किन समाजमा रहेका अनेक पेसा वा व्यवसायमा संलग्न नागरिकका समस्या समाधान गर्न सक्दैन ? मुलुकमा विधिको शासन, आर्थिक समृद्धि एवं सामाजिक न्यायको अवस्था किन फेरिन सकेन ? राज्यको कार्यशैलीप्रति समाजले नाक खुम्च्याउनुपर्ने अवस्था किन सिर्जना भयो ? किसानले आप्mनो उत्पादन बचेको पैसा लिन रुनुपर्ने, समयमा मल, खाद किन्न नपाउने, उपभोक्ताले महँगो पैसा तिर्नुपर्ने, रोगीले सर्वसुलभ उपचार गर्न नपाउने, शिक्षा सर्वसाधारणको पहुँचमा नहुने, प्रशासनतन्त्र जनसेवामुखी हुन नसक्ने, भ्रष्टचारले देश कंगाल बन्दै जाने, युवाले स्वदेशमा आयआर्जनको अवसर नपाउनेजस्ता यावत् समस्याको जवाफ खोज्दा नेतृत्वमा भिजन, मिसन र एक्सन भएको सक्षम नेतृत्वको अभाव देखिन्छ ।


मानिस प्रशंसाको भोको प्राणी हो । ऊ प्रशंसा, इज्जत र सम्मानका खातिर लालायित हुन्छ । कोही मानिसलाई पनि आलोचना मन पर्दैन । तर, राजनीतिको उच्च स्थानमा पुगेर इतिहास रच्ने अवसर पाउँदा पनि हाम्रा देशका नेतागणले किन प्रशंसनीय काम गर्न सक्दैनन् ? किन आलोचनाका पात्र बन्छन् ? उल्लेखित सवालको जवाफ हो, उनीहरूमा प्राथमिकताका आधारमा देश र नागरिकका लागि काम गर्ने कार्यशैलीको अभाव छ । उनीहरू लोभ, लालसा र आत्मकेन्द्रीत सोचाइले ग्रस्त छन् । वर्तमान समाजको चाहना र भविष्यको दूरदृष्टिको कमी छ । विकासको प्रस्ट मार्गचित्र छैन । लोकलज्जाको बोध छैन । देश बनाउने अठोट र इच्छाशक्तिको कमी छ । जवाफदेही, पारदर्शी र जनउत्तरदायित्वको अभाव छ । प्रजातन्त्रको पुनःस्थापना पछाडिको तीन दशकको इतिहासले उल्लेखित कुरा पुष्टि गर्छ ।
अहिले मुलुक अभाव, गरिबी, भ्रष्टाचार, बेरोजगारी, वैदेशिक हस्तक्षेप र अनेक सामाजिक समस्याबाट आक्रान्त छ । नयाँ संविधान आएपछि राज्यमा भएका तमाम समस्या समाधान गरी सामाजिक रूपान्तरण र आर्थिक समृद्घिको मार्गमा देश अगाडि बढ्नेछ भन्ने नेपालीको अपेक्षामा तुषारापात भएको छ । जनताबाट बहुमत पाएर पाँच वर्षका लागि बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकारका दुई वर्ष अनेक प्रकारका प्रकरणमा बिते । उसले ल्याउने विधेयक आलोचित रहे । विकास योजनाको कार्यान्वयन पक्ष सन्तोषजनक छैन । भ्रष्टाचार उस्तै छ । नागरिकमा सुशासनको अनुभूति हुन नसकेको दलका नेतागणले नै भन्ने गरेका छन् ।


किसानको अवस्था झन् दयनीय बन्दै छ । युवाले आप्mनो भाग्य र भविष्य खोज्न बिदेसिनु परेको छ । महँगीले आकास छोएको छ । जनतालाई करको भारी बोकाइएको छ । उद्योगधन्दा खुलेका छैनन् । शैक्षिक बेरोजगारी बढ्दै छ । शिक्षा र स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकार भनिएको छ तर व्यवहारमा शिक्षा र स्वास्थ्य क्षेत्र व्यापार भएको छ । अहिले एमसीसी प्रकरणले सिंगो समाज तरंगीत भएको छ । यसरी हेर्दा यो नेपाल कम्युनिस्ट पार्टीको सर्वहारा भनिने नेतृत्वमा कार्यशैलीको खडेरी देखिन्छ ।
देशमा राजनितिक परिवर्तन जनताको त्याग तपस्या र बलिदानबाट भएका थिए । यी परीवर्तनको व्यवस्थापन गर्न राजनितिक पार्टी सफल नहुँदा नागरिकका लागि प्रजातन्त्र वा गणतन्त्र कागलाई वेल पाक्यो हर्ष र विस्मात भनेझैं भएको छ । नागरिकले विकासकोे अनुभूति गर्न पाएका छैनन् । सामाजिक न्यायको प्रत्याभूति गर्न पाएका छैनन् । केही व्यक्ति र समूहले मात्र नेपाली राजनीतिलाई आयआर्जनको स्रोत बनाएका छन् । विधिको शासनको अनुभव हुन सकेको छैन । लोकतन्त्रका मूल्य र मान्यता खल्बलिएका छन् । तर, राज्यले जताततै प्रगति भएको देखेको छ । असाधारण उपलब्धि भएको महसुस गरेको छ ।


देशमा व्यापक आर्थिक अनियमितता छ । राष्ट्रको सम्पतिमा सित्तैको धन फुपुको श्राद्घ भनेझंै दुरुपयोग हुने गरेका समाचार आउने गरेका छन् । नेपालजस्तो गरिब मुलुकमा माथिल्लो ओहोदाका नेताको भरणपोषण, महँगा गाडी, पेट्रोल खर्च, मर्मत खर्च, डाइभर सुविधा, सुरक्षा व्यवस्थालगायतमा राज्यले अर्बांै रुपियाँ खर्च गरेको छ । हरेक मन्त्रालयमा अनावश्यक गाडी राखिएका छन् ।
यस वर्ष मात्र स्थानीय तह, प्रान्त र केन्द्रका पदाधिकारीलाई अर्बौं रुपियाँका गाडी खरिद गरिएको छ । अझै तिनै गाडी खरिदमा समेत कमिसनको चलखेल भएको समाचार आयो । यतिले मात्र नपुगेर देशका सार्वजनिक जग्ग्गामा गिद्घे नजर लगाउने काम पनि माथिल्लो निकायबाट नै हुने गरेको छ । अहिले गोकर्ण रिसोर्ट प्रकरण, बालुटार प्रकरणलगायतले सरकार निकै आलोचित भएको छ । देशभक्तले सरकारको यस्तो गैरजिम्मेवार कुटिल चाल र स्वार्थको राजनीतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।


प्राकृतिक सुन्दरता र प्रचुर विकासको सम्भावना भएर पनि सक्षम भिजन भएको नेतृत्वन हुनाले हाम्रो देशमा जति राजनीतिक व्यवस्था परिवर्तन भए पनि देश अवस्था परिवर्तन हुन सकेन । कुशल र राम्रा व्यक्तिभन्दा हाम्रा व्यक्तिलाई राज्यका जिम्मेबार निकायमा सरुवा, बढुवा र पदस्थापनामा सेटिङ मिलाई राजनीतिक स्वार्थ लिने पार्टी र नेतृत्व हुनु मुलुकको दुर्भाग्य हो । नेपाललाई समृद्ध मुलुक बनाउन भिजन, मिसन र कार्य क्षमता भएको योग्य नेतृत्व चाहिएको छ । प्रजातान्त्रिक राज्यलाई विधिको बाटोमा हिँडाउन सक्ने कठोर निर्णय र कार्यान्वयन गर्न सक्ने क्षमता भएको निष्पक्ष प्रधानमन्त्री चाहिएको छ ।
अहिले मुलुकमा जुन पुस्ताका नेतृत्व पंक्तिले राज्यको बागडोर समालेको छ । यो पुस्ताको प्रजातान्त्रिक लडाइँ र राजनीतिक परिवर्तनको संघर्ष प्रशंसनीय छ । तर, यो पुस्ताको कार्यशैलीले देशको विकास एवं नागरिकको समृद्धि हुने कुराको सम्भावना टर्दै गएको छ । यस सन्दर्भमा देश विकास गर्न सक्ने वैज्ञानिक एवं प्रयोगवादी मोडेलको दृष्टिकोण भएको नेतृत्वको खोजी गर्न नेपाली समाज कहिले सफल होला ? देश विकास गर्न सक्ने प्रस्ट भिजन, मिसन र अठोट भएको सक्षम कार्यकारी राज्य प्रमुख कहिले पाइएला ?

तपाइको प्रतिक्रिया
(Visited 441 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी