धनगढी । सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेका संख्या ६ लाख १ हजार ५ सय १८ पुगेको हो ।
‘प्रदेशमा पूर्ण खोप लगाउनको संख्या ४ लाख १ हजार ३३ छ,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘सबैभन्दा बढी कैलालीमा १ लाख ५५ हजार ५ सय १० जनाले पूर्ण खोप लगाएका छन् । कैलालीमा पहिलो डोज लगाउनेको संख्या भने १ लाख ९५ हजार ३ सय ६१ छ ।’ कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५ सय २६, डोटीमा ३१ हजार ३ सय ८९, अछाममा ३० हजार ६ सय ७०, बझाङमा २२ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यसैगरी दार्चुला १९ हजार ४ सय ४८, डडेल्धुरामा १२ हजार १ सय ६२ र बाजुरामा ७ हजार २ सय १३ जनाले कोरोना भाइरसविरुद्धको पूर्णखोप लगाएका छन् । प्रदेशमा अहिले पनि खोप अभियान जारी रहेको मन्त्रालयले जनाएको छ । यस्तै भारतबाट नेपाल फर्किने नेपालीलाई सीमा नाकामै कोरोना खोप लगाउन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको सहयोगमा भिमदत्त नगरपालिकाले भदौ १० गतेदेखि गड्डाचौकी नाका भएर नेपाल फर्कनेलाई सीमामै खोप दिन थालेको हो ।
गड्डाचौकी हेल्थ डेस्कका प्रमुख डाक्टर सन्तोष भट्टले भदौ १० गतेदेखि बिहीबारसम्म (भदौ १७ गतेसम्म) ६ सय ७२ जनालाई खोप लगाइसकेको बताए । भारतबाट नेपाल फर्कनेहरूको एन्टिजेन टेस्ट गरेर नेगेटिभ आएकालाई अस्ट्राजेनेकाको खोप लगाइएको डाक्टर भट्टले बताए । उनले सरकारको निर्णयअनुसार भारतबाट फर्किनेलाई अहिले अस्ट्राजेनेकाको खोप दिइरहेको बताउँदै पहिलो डोज नाकामा लगाएकाले दोस्रो डोज भने सम्बन्धित पालिकामै लगाउनुपर्ने बताए ।






