स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी छिन् ।
त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्घाटन गरेकी हुन् । विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले स्याङ्जामा नापनक्साका समस्या भएको भन्दै अब नागरिकहरुले राहत पाउने धारणा राखिन् ।
‘पुनः नापनक्सा हामीले ल्यायौं । जो हिजो नापनक्सा गर्दा छुट्नुभएको छ । उहाँहरुले राहत पाउनुहुनेछ’, मन्त्री अर्यालले भनिन् ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।’
यो नापनक्सा डिजिटल प्रविधिको नापनक्सा भएको भन्दै मन्त्री अर्यालले टोटल स्टेशन भन्ने प्रविधिमार्फत अबको जग्गा नापेर त्यसको संरक्षण गरिने बताइन् ।






