नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र एकाथरीले ‘आफ्नै सरकार गिराउनेमाथि कारबाही’ र अर्काथरीले ‘पार्टीमा छलफल नै नगरी संसद् विघटन गर्नेमाथि कारबाही’को परस्परविरोधी आवाज उठाइरहँदा पार्टी एकताको अनुभूत दुवैथरीले नगरेको सार्वजनिक रूपमै अभिव्यक्त हुन आएको छ । एकता विवाद कायमै रहेको प्रस्ट रूपमा देखिने यस्तो कडा अभिव्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी एकताका लागि भन्दै माधव नेपाललाई अलपत्र छाडेर एमालेमा फर्किएका युवा नेताहरूप्रति लक्षित रहेको छ । पार्टी एकताका १० बुँदा कार्यान्वय नहुनुपर्ने भन्ने आवाज उठाउँदा युवा नेताहरूमाथि आफ्नै सरकार गिराएको आरोप छ, जो यथार्थ पनि हो । त्यसैगरी, पार्टीमा छलफल नै नगरी संसद् विघटन गरिएको पनि साँचो हो । पार्टी एकताका लागि यी कुराहरूको गम्भीर समीक्षा र मनन् हुनु जरुरी छ । एकता आफैंमा अन्तरविरोधहरूको सापेक्ष हल पनि हो । यसका साथै एकता भावनात्मक मिलन र कमीकमजोरीको अनुभूत र परित्याग पनि हो । एकतामा ‘मतभेद’का साथै ‘मनभेद’को अन्त्य हुनु जरुरी हुन्छ । एकता सांगठनिक रूपमा अभिव्यक्त भए पनि त्यहाँ मानिसहरूका बीचमा ‘एकत्व’ प्रकट हुने भएकाले यो स्थल मात्र नभई भावनात्मक पनि हुन्छ ।
लगभग दुई तिहाइको जनादेशसहित बलियो सरकार बनेका बेला आफ्नै आन्तरिक किचलो र बेमेलका कारण सरकार गिर्न पुगेको थियो । वामपन्थीहरूको सरकार बनेका बेला कम्तीमा पनि सुधारका ठूलाठूला काम हुनेछन् भन्ने आशा र विश्वास जनतामा थियो । तर, पार्टी आन्तरिक कचिंगलले निकास पाउन सकेन । फलतः सरकार ढल्यो, यसमा पार्टी आन्तरिक अन्तरविरोधले काम गरेको छ । त्यसैगरी, पटकैपटक संसद् विघटनको कारण पनि पार्टी अन्तरविरोध नै हो । यहाँ पार्टी आन्तरिक अन्तरविरोधका दुई भिन्न पहलहरूले एकअर्कालाई नकारात्मक कार्य गर्न बल पु¥याइरहेका देखिन्छन् । हाल एमाले पार्टीभित्र देखिएको विवाद र बहस यसैको निरन्तरता हो । यसको गम्भीर समीक्षा र समयसापेक्ष हल जरुरी छ । यो अन्तरविरोध पार्टीभित्रको अन्तरविरोध भएकाले यसको हल नहुँदासम्म पार्टी एकता भएको अनुभूत कुनै पनि पक्षलाई हुनेछैन । कुनै पनि राजनीतिक पार्टी, त्यसमा पनि अझ कम्युनिस्ट पार्टीमा, यदि आन्तरिक अन्तरविरोध वा दुई लाइन संघर्ष बेलैमा हल गर्न सकिएन भने वर्ग संघर्ष वा पार्टीले लिएका नीति तथा कार्यक्रम कार्यान्वयन नै गर्न सकिँदैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हल गर्न नसकेर चुकेको विषय यही नै हो ।
हाल एमालेभित्र गुजुल्टिएको आन्तरिक अन्तरविरोधको गुत्थी भनेको पार्टी एकता कसरी कायम गर्ने भन्ने हो । न कि एकता भाडमा जाओस् भन्ने नै । आमकार्यकर्ताको भावना पार्टीमा देखिएका सबै खाले गुटबन्दी अन्त भएर जाओस् र पार्टी एकजुृट भएर आगाम दिनमा आइपर्ने सबै खाले समस्या समाधान गर्न सक्षम होस भन्ने नै रहेको छ । पार्टी कार्यकर्ताको भावनालाई नेताहरूले खेलाँचीका रूपमा लिएर सधंै झैझगडा गर्दै जाने हो भने उनीहरू आफंै पतन हुने निश्चित छ । आन्तरिक अन्तरविरोधको दुई पहलु, जसमा ‘सरकार गिराउने’ र ‘संसद् विघटन गर्ने’का पक्षधरहरू एकआपसमा प्रतिध्रुव झैं प्रतीत भइरहने होइन कि अन्तरविरोधलाई हल गर्ने स्तरमा उठ्नै पर्छ । यो अन्तरविरोध हल हुन सकेमा एकता र हुन नसकेमा अनेकताको विजारोपण पार्टीभित्रै यसले गराउनेछ । यो झाँगिएर भोलिका दिनमा असमान्य अवस्थामा पुग्नेछ । त्यसैले आन्तरिक अन्तरविरोधको हल बेलैमा गर ।






