एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गरेको छ । प्रधानमन्त्री देउवाले बिहीबारका लागि बोलाएको बैठकमा एमाले अनुपस्थित बनेको हो । बैठकले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको ठहर गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका तर्फबाट कोही पनि प्रतिनिधि बैठकमा उपस्थित नरहेको बताउँदै संवाद र वार्ताबाट भाग्न खोजेको देखिएको बताएका छन् ।

‘उहाँहरूसँग संवाद र वार्ता गर्नका निमित्त योभन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो । त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरू संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको बैठकमा एमाले अनुपस्थित भए पनि फेरिफेरिका बैठकमा उपस्थित हुने आशा व्यक्त गरेका थिए ।

बैठकले संघीय संसद्लाई निर्बाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गत २३ भदौमा सुरु भएको संसद्को चालू अधिवेशनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार रूपमा नाराबाजी गर्दै आएको छ । आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेको लगातार संसद् बैठक अवरोध गर्दै आएको छ ।

आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदलाई कारबाहीको सू्चना जारी गरिनुपर्ने एमालेको माग रहेको छ । तर, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका ती सांसदहरूले नेकपा एकीकृत समाजवादी पार्टी नै दर्ता गरिसकेका छन् । एमालेकै अवरोधबीच पनि सरकारले भने बजेट पास गरिसकेको छ ।

सरकारले दलहरूबीच विभाजन गर्न सहज हुनेगरी जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण एमाले असन्तुष्ट रहेको छ । सरकारले हालै मात्र सो अध्यादेश खारेज गरेको छ । खारेज गरेकोप्रति पनि एमालेले विरोध गर्दै आएको छ । संसद् अवरोधका कारण प्रतिनिधिसभा संसद्मा ३३ वटा र राष्ट्रिय सभामा पेस भएका २७ वटा विधेयक अलपत्र छन् ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

समस्यै समस्याले जेलिएको कारागार सुधारमा पहिलो महिला प्रशासक