आउँदो पुस महिनादेखि राष्ट्रियमा ३० मेगावाट विद्युत् थपिने

लमजुङ । आउँदो पुस महिनादेखि राष्ट्रिय विद्युत् प्रसारण लाइनमा ३० मेगावाट विद्युत् थपिने भएको छ । लमजुङमा निर्माणाधिन न्यादी जलविद्युत् आयोजनाले पुसबाट व्यावसायिक उत्पादन थाल्ने भएसँगै त्यस्तो प्रसारणको सुनिश्चित भएको हो ।

न्यादी जलविद्युत आयोजना लमजुङको मस्र्याङदी गाउँपालिका–६ र ७ को सीमा क्षेत्र भएर बग्ने ङादी खोलामा निर्माणाको अन्तिम चरणमा छ । सो जलविद्युत आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सकिएको र मंसिरको अन्तिम सातादेखि परीक्षण उत्पादन थाल्ने र पुस महिनाबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने तयारीमा रहेको सो आयोजनाले जनाएको छ ।

मुलुकमा आएको विपदका कारणले उत्पादन मिति धकेलिँदै आएको उक्त आयोजनाको उत्पादन मिति नोभेम्बर हुने कार्यतालिका रहेको थियो । तर प्रसारण लाइनको काम नसकिएको कारणले उत्पादन मिति सर्न गएको सो आयोजनाका फिल्ड अधिकृत बासुदेव गड्तौलाले बताए । उनका अनुसार उर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबाट आएको विज्ञले परीक्षण सफल भएको प्रमाणित गरेपछि मात्र परीक्षण उत्पादन सुरु गरिनेछ । उनले भने, ‘आन्तरिक परीक्षणको काम अन्तिम चरणमा छ, परीक्षण प्रसारणका लागि विज्ञ टिमलाई बोलाउने तयारी भइरहेको र त्यो टोली आउनासाथ परीक्षण उत्पादन थालिनेछ ।’

आयोजनाको पावरहाउस, ड्यामसाइड, हेडवक्र्सको पानीको बहाव, गेटलगायतको आन्तरिक परीक्षण भइरहेको गड्तौलाले जानकारी दिए । उनका अनुसार यिनको परीक्षण समेथ सफल भएको प्रमाणित गर्नका लागि विज्ञ टोली आउनुपर्ने हुन्छ । आयोजनाको पावरहाउस मस्र्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा रहेको छ भने आयोजनाको बाँध सोही वडाको नाँइचेमाथि ङादी नदीमा बनाइएको आयोजनाले जनाएको छ । ३ हजार ८ सय ४० मिटर सुरुङबाट पानी ल्याएर विद्युत् उत्पादन गर्ने तयारी छ । आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी जी ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ ।

२०७३ चैत्र ३० बाट निर्माण सुरु गरिएको आयोजना करिब ४ अर्ब ३८ करोडमा निर्माण कार्य सक्ने लक्ष्य भएता पनि निर्माण अवधि लम्बिदा लागतसमेत बढ्न गएको आयोजनाको भनाइ छ । यतिबेला भने निर्माण लागत ६ अर्ब पुग्ने अनुमान गरिएको छ ।

ठूलीबेंसीबाट मस्र्याङ्दी नदीमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत् आयोजनासम्म प्रसारण लाइन जोड्नका लागि २५ वटा टावर राख्नुपर्ने हुन्छ । तीमध्ये १६ वटा टावरमा तार तान्ने काम सकिएको छ । नौवटा टावरमा तार तान्ने कामको तयारी चलिरहेको सो आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । उनका अनुसार आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी चच्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ । उनीहरूकै अगुवाइ र सुपरभिजनमा नेपाली कामदारले समेत काम गरिरहेको छ । उनले भने, ‘बुटवल पावर कम्पनी (बीपीसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त विद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको छ ।’

उक्त आयोजनाको निर्माण थालनी गर्दा २०२१ को जुलाईमा आयोजना सम्पन्न गराउने लक्ष्य रहेको थियो ।

आयोजनाको मिति सर्दै जाँदा केही प्रतिशत लागत बढ्ने देखिएको छ । कोभिड–१९ को संक्रमण प्रकोप तथा चिनियाँ कामदार बढी भएको कारणले उक्त विद्युत् आयोजनाको निर्माण कार्य गत वर्ष झन्डै पाँच महिना प्रभावित भएको थियो । गत वर्ष जनवरीमा नयाँ वर्ष मान्न एक महिना छुट्टीमा चीन गएको निर्माण टोली कोरोना प्र्रकोप बढेका कारणले गर्दा तीन महिना चीनमा नै रोकिएको थियो । त्यस्तै वर्षायामको बाढी पहिरोको प्रकोपले पनि निर्माण कार्य प्रभावित भएको आयोजनाका फिल्ड अधिकृत गड्तौलाले बताए । उनका अनुसार त्योबाहेक प्रसारण लाइनको कामसमेत आफैंले गर्नुपर्ने भएपछि निर्माण खर्च केही बढी लाग्ने भएकाले आयोजनाको लागत बढ्ने स्थिति उत्पन्न हुन गएको हो ।

उक्त आयोजना निर्माणमा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आईएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी गरेका छन् ।

नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्ने लक्ष्य छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महामन्त्रीको निर्वाचन रोचक मोडमा : रञ्जुको समर्थन विपिनलाई