नेपाली चित्रकारितामा हरिप्रसाद शर्मा ‘इतिहास’, शंकरराजसिंह सुवाल ‘संस्कृति’, हिरालाल डंगोल–हेम पौडेल–जीवनाथ पोखरेल ‘चरा’ले चिनिन्छन् ।
लैनसिंह बाङ्देल खासगरी कुचीमा नीलो रङ चलाउ“थे । रमेश खनाल ‘अरुपण’, गौतमरत्न तुलाधर ‘पानी र संस्कृति’, किरण मानन्धर–जीवन राजोपाध्यायलगायत ‘अमूर्तता’ र सुषमा राजभण्डारीले ‘गणेश’ मुहार कृतिबाट चिनारी बनाएका छन् ।
रागिनी उपाध्यायमा ‘राजनीतिक’ चेत छ । डा. रामकुमार भौकाजी ‘मूर्त गाउँघर’को परिवेशमा रमाउन चाहना राख्छन् । शान्तकुमार राई ‘महिला’मा रमाउँथे । थान्का, मिथिला, नेवारी, थारू कलाका आ–आफ्नै चित्र कलाकार छँदैछन् ।
गोर्खाली राजा द्रव्य शाहका सन्तान, तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मीका मामाका छोरा शशीविक्रम शाह नेपाली चित्रकारिता स्थापित नाम हो, जो पूर्वीय दर्शन खासगरी ‘घोडा चित्र’ले बढी चिनिन्छन् । भारतका हुसेन पनि घोडामा काम गर्थे । हिन्दूधर्मको विश्वासअनुसार संसार पालनकर्ता मानिएका विष्णुको दसौं अर्थात् ‘कल्की’ अवतारले सेतो घोडाका रूपमा आएर कलि नाश गर्नेछ ।
प्राचीनकालदेखि नै यातायात र लडाइँमा प्रयोग हुने घोडा गति र तीव्रताको विम्ब पनि हो । समुद्र मन्थनबाट प्राप्त दर्जनौं वस्तुमा उच्चैश्रवा घोडा पनि एक हो । पूर्वीय दर्शनअन्तर्गत ‘अश्वशास्त्र’मा घोडा’bout निकै वर्णन छ ।
कलिको आगमन तथा विकृति र विसंगतिको व्याप्ति वा तीव्रता देखाउने आदि प्रयोजनका लागि कलाकार शशी शाहले घोडा चित्रांकित गरेको धेरै वर्ष भइसक्यो । उनले तीव्रता र गतिको प्रतीक घोडालाई ‘बलशाली समय’को विम्बका रूपमा पनि लिएका छन् । तिनै प्राज्ञ कलाकारको व्यक्तित्व र कृतित्व समाविष्ट गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)का सदस्यसचिव विपिनकुमार घिमिरेले ‘शशी शाह ः कलायात्रा’ कृति प्रकाशनमा ल्याएका छन् ।
चित्रकारितामा सत्यमोहन जोशी, चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकारको एक समूह थियो । त्यसपछि स्किब–७१, याग, नेपाल कलाकार समाज, सोमा आदि जन्मे । स्किब (शशी, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्य)का संस्थापकमध्येका शाह पनि एक हुन् । ललितकला महाविद्यालयका शिक्षक, ललितकला क्याम्पसमा अध्यापक, क्याम्पस प्रमुख तथा सिर्जना कलेज अफ फाइन आर्टस्का संस्थापक तथा प्रिन्सिपल शाह नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसमेत भए ।
संस्थागत आबद्धता शाहका लगभग यिनै होलान् । भारतको मुम्बईस्थित ‘सर जेजे स्कूल अफ आर्टस्’बाट तालिम प्राप्त उनी परिवार र डा. हर्क गुरुङबाट कला प्रेरणा लिएर यस क्षेत्रमा आएका हुन् । उनका दाजु गोवद्र्धन त नेपालका ‘प्रथम व्यंग्य चित्रकार’ नै मानिन्छन् । ८१ वर्षीय शाहका देशविदेशका काठमाडौं, पोखरा, भारत, बंगलादेश, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, रुसमा कला प्रदर्शनी भइसकेको छ ।
‘अति यथार्थवादी’ कलाकार स्पेनका साल्भाडोर डालीबाट प्रेरित उनका कला सुरुमा मुलुकका सामाजिकार्थिक समस्या, विकृति, विसंगतिकेन्द्रित थियो । पछि उनी परावस्तुवादी, अमूर्त अभिव्यञ्जनावादतिर डोहोरिए । घोडाको चित्रण गर्दा उनका रेखांकन, संरचना, अनुपात, रङ संयोजन सीपमा बेजोड छ ।
‘हरेक मान्छेको आत्मामा घोडा छ । घोडाको गुण–आफू मर्ने बेलामा मात्र ऊ थाक्छ । घोडा बलको प्रतीक हो र सबैभन्दा बलवान समय हो…हामी घोडाझैं हुुनुपर्दछ किनकि त्यो दौडमा थाक्दैन । यदि, त्यस्तो हुन सकेन भने आजको समयमा हामी बाँच्न सक्दैनौं,’ शाह भन्ने गर्छन् ।
घोडालाई ‘गति र अथकता’को मात्र विम्ब नमानी उनले हरिया, नीला, प्याजी, काला घोडाका माध्यमबाट सफलता, खुसी, उल्लास, दुःखको भाव सिर्जना गरेका छन् । गतिशील, तेजिला, शक्तिशाली घोडाले पीडा, डर, त्रास र चिन्ता भाव पनि दिएका छन् । यसरी उनी आफ्नो मौलिक पहिचान दिई घोडाका माध्यमबाट ‘कल्की र ‘गति’मात्र नभई विकृति, विसंगति, असमानता सबै विषयमा कुदिरहेका छन् ।
खासगरी सेता, काला, नीला, पहेंला रङ संयोजनबाट उनले ‘दशावतार’, ‘समुद्र मन्थनको केही रुप’, ‘ब्रह्मा, विष्णु र महेश’, ‘रामायण’, ‘शरशैयामा भीष्मपितामह’, ‘अज्ञाततिर सिँढी’, ‘उडिरहेको चंगा’, ‘नील रात’, ‘सूर्यका सात घोडाहरू र दुःखी भिक्षु’, ‘ब्ल्याक हर्स एन्ड वल्र्ड ट्रेड सेन्टर’, ‘घोडामाथि हतियारधारी बुद्ध’, ‘राजदरबार हत्याकाण्ड’लगायत चित्रांकन गरेका छन् ।
विद्यालय जीवनदेखि नै शाहले खाली समय रेखाचित्रमा ध्यान दिए । कालो मसी र नीबबाट आफ्नै विभिन्न रुप, समुद्र मन्थन, शेषशैयामा विष्णु, घोडाका विभिन्न रुप पनि रेखांकन गरेका छन् ।
रोचक घिमिरेको ‘रचना’ पत्रिकामा निरन्तर समसामयिक व्यंग्यचित्र छापिँदै आएको छ । ‘शशीका चित्रहरू समाजमा व्याप्त विकृतिमाथि सूक्ष्म रुपबाट प्रतिक्रिया जनाउँछन् । उनका चित्रमा अन्याय र अत्याचारबाट थिचिएका पात्रको चित्रणम विद्रोहको आभास दिइएको हुन्छ । खासगरी, घोडाको स्वरूपमा चित्रण गरिएका विविधताले दिने प्रभाव नै उनमा रहेको विशेषता मानिएको छ,’ कलाकार तथा लेखक घिमिरे शाह’bout भन्छन् । कृतिले शाह’bout अझ बढी अनुसन्धान गर्न ढोका खोलिदिएको छ । स्थापित कलाकारलाई चिनाउने लेखकको यो प्रयास प्रशंसनीय लाग्छ । शाहका प्रतिनिधिमूलक चित्रले कृति गहकिलो बनाइदिएको छ । कृृतिमा एक अंग्रेजी लेख पनि छ, जसको भाव नेपालीमा आइसकेकाले नराखेको भए हुन्थ्यो । नाफाजस्तो संस्थाबाट प्रकाशित कृतिमा पनि वर्ण विन्यासमा अनगन्ती अशुद्धि हुनु राम्रो होइन ।






