निजामती सेवामा सेवा सर्तको सुरक्षा

निजामती कर्मचारीको सहयोगमा मुलुकको शासनव्यवस्था सञ्चालन गर्ने परिपाटीको आरम्भ प्राचीन चीनमा भएको थियो । निजामती सेवाका उच्चपदस्थ कर्मचारीले सम्राटका मन्त्रीका रूपमा भूमिका वहन गर्थे । योग्यता परीक्षाको माध्यमबाट कर्मचारीको छनोट गरिने हुँदा सम्राटलाई तीन किसिमले फाइदा पुग्ने गथ्र्याे । पहिलो, देशको दूरदराजका युवकले राज्यको सेवामा संलग्न हुने मौका प्राप्त गर्थे । दोस्रो, योग्य र प्रतिभासम्पन्न युवकबाट सेवा लिन पाइन्थ्यो र तेस्रो, राजाको नातासम्बन्धभन्दा बाहिरका सेवक राज्यव्यवस्थाको महत्वपूर्ण पदमा कार्यरत हुने हुँदा राजाको गाथ र गादीमाथि खतरा पैदा हुँदैनथ्यो । प्रतिष्ठाको लालसा नै प्रतिभावान् युवक चिनियाँ निजामती सेवामा प्रवेश गर्न उत्साहित हुनुको प्रमुख कारण थियो ।

अंग्र्रेजकालीन ‘इन्डियन सिभिल सर्भिस’ नोकरशाही ढंगको थियो । अंग्रेजहरू स्थानीय व्यक्तिलाई ब्रिटिस साम्राज्यको निजामती नोकर बनाएर त्यही नोकरमार्फत स्थानीय रैतीमाथि शासन गर्थे । शासन व्यवस्था सञ्चालन गर्ने त्यो तरिका बडो चतु¥याइँपूर्ण थियो । स्थानीय निजामती सेवकहरू अंग्रेज कर्मचारीले भन्दा कैयौं गुना थोरै पारिश्रमिकमा काम गर्न तयार हुन्थे । गोरा ‘साहेब’ प्रति कृतज्ञ र नतमस्तक ती नोकरशाहहरूको समाजमा भने ठूलो सान र रवाफ थियो । अचेल स्वतन्त्र भारतको निजामती सेवा निकै प्रतिष्ठित हुँदै गएको छ । त्यहाँ देशका सर्वाधिक मेधावी युवाहरू निजामती सेवाको सदस्य बन्न अत्यन्तै प्रेरित र उत्साहित हुने गरेको पाइन्छ ।

राणाकालीन नेपालका निजामती सेवकहरूको नोकरी सुरक्षित थिएन । उनीहरू बडो असुविधाजनक वातावरणमा काम गर्न विवश थिए । परन्तु सरकारको ‘सिन्दूर’ पहिरेपछि मानसम्मान प्राप्त हुन्थ्यो । राजसेवकको नाताले समाजमा दबदबा कायम गर्न पाइन्थ्यो । पञ्चायतको समयमा निजामती सेवाको प्रतिष्ठामा अभिवृद्धि भयो । कर्मचारी छनोटमा निष्पक्षतालाई महत्व दिइएको हुँदा निजामती सेवामा साधारण परिवारका परिश्रमी युवाहरूले आधिपत्य कायम गर्दै गए । लोकसेवा आयोग मुलुककै सर्वाधिक निष्पक्ष संस्थाका रूपमा प्रतिष्ठित भयो ।

निजामती सेवाप्रति प्रतिभासम्पन्न व्यक्ति आकर्षित हुनुको मुख्य कारण हो पदोन्नति, प्रतिष्ठा र सेवाको सुरक्षा । निजामती सेवा ऐन–२०४९ को परिच्छेद ८ मा निजामती कर्मचारीको सेवा र सेवा सर्तको सुरक्षा’bout उल्लेख भएको छ । नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, म्यादी पदमा बहाल रहेको, भागी पत्ता नलागेको र भ्रष्टाचारको आरोपमा अदालतबाट कसुरदार ठहरिएको बाहेक अन्य कुनै पनि कर्मचारीलाई सफाइको मौका नदिई सेवाबाट हटाउन वा बर्खास्त गर्न पाइँदैन ।

कर्मचारीमाथि मुद्दा चलाउने स्वीकृति दिएको अवस्थामा त्यस्तो कर्मचारीको प्रतिरक्षा पनि नेपाल सरकारले नै गर्नुपर्छ

निजामती कर्मचारीले ओहोदाको कर्तव्यपालन सम्झी गरेको सरकारी कामको सम्बन्धमा नीजउपर फौजदारी मुद्दा चलाउनुपरेमा अख्तियारवालाको अनुमति आवश्यक पर्छ । देवानी मुद्दा चलाउन वादी वा निजको वारेसले अख्तियारवालालाई लिखित सूचना दिई त्यसको नक्कल नेपाल सरकारसमक्ष पेस गर्नुपर्छ । यसै गरी बहाल टुटिसकेको कुनै कर्मचारीउपर सरकारी पदको कर्तव्यपालनको सिलसिलामा गरेको कामको सम्बन्धमा मुद्दा चलाउनुपरेमा नेपाल सरकारको स्वीकृति आवश्यक पर्छ । कर्मचारीमाथि मुद्दा चलाउने स्वीकृति दिएको अवस्थामा त्यस्तो कर्मचारीको प्रतिरक्षा पनि नेपाल सरकारले नै गर्नुपर्छ ।

कुनै पनि निजामती कर्मचारीलाई निज नियुक्त हुँदाका बखत लागू रहेको तलब, उपदान, निवृत्तभरणलगायत अन्य सुविधासम्बन्धी सेवाको सर्तमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गर्न पाइँदैन । कर्मचारी बहाल रहेको बखतमा लागू भइरहेको सेवाको सर्त र सुविधामा प्रतिकूल हुने गरी कानुन संशोधन भएमा पनि निजको लिखित सहमति बेगर त्यस्तो संशोधन निजको हकमा लागू हुँदैन । यो वर्तमान प्रणालीले निजामती सेवामा कार्यरत कर्मचारीको सेवा सर्तको सुरक्षाका खातिर गरेको अनुपम र प्रशंसनीय प्रतिज्ञा हो ।

पञ्चायती व्यवस्थाको समयमा निजामती कर्मचारीको प्रतिष्ठा सबल थियो तर सेवा र सेवा सर्तको सुविधा निर्बल । बहुदलीय व्यवस्था हुँदै हालको संघीय लोकतान्त्रिक गणतन्त्रको समयमा निजामती कर्मचारीको सेवा र सेवा सर्तको सुरक्षा अत्यन्तै सबल भएको छ, किन्तु प्रतिष्ठा भने अत्यन्तै निर्बल । सेवाको स्थायित्वको प्रत्याभूतिबाट नोकरी सुरक्षित भएपछि निजामती कर्मचारीमा थप उत्साह आउनुपर्ने हो ।

त्यो उत्साहको माध्यमबाट जनतासमक्ष पु¥याइने सेवाप्रवाहमा पनि सोहीअनुरूपको सुधार आउनुपर्ने हो । सेवा प्रवाहमा आउने सुधारको माध्यमबाट प्रफुल्ल भएका जनताले निजामती सेवालाई प्रशंसा गर्ने वातावरण उत्पन्न हुनुपर्ने हो । सेवा सुरक्षित भएका तल्लो तहदेखि उच्चतम तहसम्मका कर्मचारीमा सन्तुष्टि र उच्च मनोबल कायम हुनुपर्ने हो । निजामती सेवाको प्रतिष्ठामा अभूतपूर्व उन्नयन हुनुपर्ने हो । राजनीति र निजामतीको प्रस्ट लक्ष्मणरेखा कोरिएर आआफ्नो कार्यक्षेत्रको पहिचान र सम्मान कायम हुँदै सुमधुर सम्बन्ध स्थापित हुनुपर्ने हो । परन्तु विडम्बना † जे हुनुपथ्र्यो त्यो हुन सकेन ।

निजामती सेवाप्रति प्रतिभासम्पन्न व्यक्ति आकर्षित हुनुको मुख्य कारण हो पदोन्नति, प्रतिष्ठा र सेवाको सुरक्षा

पञ्चायतको समयमा कुनै पनि निजामती कर्मचारीको सेवाको आवश्यकता नपरेमा सेवाबाट हटाउन सकिने व्यवस्था थियो । अधिकारप्राप्त अधिकारीले पर्चा खडा गरेर नोकरीबाट हटाउन सक्थ्यो । बिनाकुनै आरोप र स्पष्टीकरण जागिर जान सक्थ्यो । त्यस्तो असुरक्षित वातावरणमा सर्वत्र अनुशासन हुनु तर आजको ढुक्कसँग सुरक्षित वातावरणमा अपेक्षित अनुशासन कायम नहुनु र कर्तव्यपालनमा ह्रास आउनुमा जिम्मेवार को होला ? किन राम्रो पद्धतिभित्र नराम्रो प्रवृत्ति हाबी भयो ? यो निजामती सेवा’bout उठाइने गरेको गम्भीर र सामयिक प्रश्न हो ।

अहिले निजामती सेवा सडकदेखि संसद्सम्म आलोचित भइरहेको छ । कर्मचारीको हक र हितका लागि स्थापना भएका कर्मचारी युनियन र आधिकारिक ट्रेड युनियनसमेत आफ्नो कर्तव्यबाट विचलित भएको आरोप लाग्ने गरेको छ । ज्यादा ‘नेतागिरी’ भयो भन्ने गुनासो यत्रतत्र छ । कर्मचारी समायोजन सम्यक तरिकाले हुन सकेन । संघीय निजामती विधेयकको बिजोग भयो । प्रदेश निजामती सेवा र स्थानीय सेवा कुनै ठहर र ठेगानबिना अलपत्र छन् ।

सेवा र सेवा सर्तको सुरक्षाको प्रत्याभूति मात्र कर्मचारीमा उत्प्रेरणा पैदा गर्न अपर्याप्त हुँदो रहेछ भन्ने कुरा प्रमाणित भइसक्यो । सेवाको सुरक्षा सर्वोपरि हो । नोकरी सुरक्षित भएपछि व्यक्तिगत जीवनको चिन्ता कम हुन्छ । किन्तु यो मात्र सार्वजनिक सेवाको उन्नयनमा समुचित तवरले मद्दतगार सिद्ध हुन नसक्ने रहेछ । कर्मचारी योग्य भएर मात्र पुग्दैन । योग्यतालाई कर्मनिष्ठता, लगनशीलता, इमानदारी र निडरतामा रूपान्तर गर्नु आवश्यक छ ।

कर्मचारीलाई कर्मशील बनाउन मनोवैज्ञानिक सुरक्षाको वातावरण सिर्जना गर्नु निकै जरुरी देखिएको छ । जसरी नोकरी सुरक्षित छ, त्यसैगरी पदस्थापन, सरुवा, तालिम, ज्येष्ठतामा आधारित अनुमानयोग्य पदोन्नति र सामयिक रूपमा सुविधामा अभिवृद्धि पनि प्रेरक पक्ष हुन् । काम जति महत्वपूर्ण हुन्छ, जोखिम पनि त्यति नै ज्यादा । जोखिमको डरले महत्वपूर्ण कार्य गर्न हच्किनुपर्ने कारणको खोजी गर्ने दायित्व राजनीतिको हो । कर्मचारीतन्त्रलाई राष्ट्रको सेवक बनाउनुपर्नेमा कतै राजनीतिको सेवक र परिचालक त बनाइएन ? आफ्ना समर्थकको खोजीको सिलसिलामा निजामती सेवाभित्र समेत छिरेको राजनीतिले आफंैले निर्माण गरेको ‘राजनीतिक निजामती’को भारवहन गरिरहला कि भारी बिसाउला ? यसैमा निजामती सेवा र देशको समृद्धिसमेत निर्भर रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1,296 times, 1 visits today)

epaper

ताजा समाचार

विस्तृत शान्ति सम्झौता नेपालको राजनीतिक रूपान्तरणको ऐतिहासिक दस्तावेज : प्रचण्ड