नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ कोेल्हुवामा शनिबार राति प्रहरीको गोलीप्रहारबाट एक जना घाइते भएका छन् ।
मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा गोली लागेर मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षीय प्रेम महतो गम्भीर घाईते भएका हुन् ।
कोल्हुवा प्रहरी चौकीका सई गंगाराम कोईरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रहरी उपरिक्षक दीपक रेग्मीले बताए ।
उनको कोखा र गोडा मुनि गरी दुई राउण्ड गोली लागेको छ । सई गंगाराम कोइरीले गोली चलाएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
रेग्मीका अनुसार गस्तीमा रहेको टोलीले एउटा मोटरसाईकलमा ३ जना चढेर आएको देखेपछि रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेको र मोटरसाईकलले सइ कोईरीलाई लडाई दिनुका साथै ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको हो ।
उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाईक पनि बरामद गरेको छ ।
घाईतेको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको रेग्मीले जानकारी दिए ।
प्रहरीले मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । घटना राति ११ बजे भएको बताईएको छ ।






