(बेलगाँडी) झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई शनिबार दिउँसो गायक प्रेमराजा महतको प्रत्यक्ष गायनमा छमछमी नाचे । मुख्यमन्त्री नै नाचेपछि कलाकारहरु पनि के कम । उनलाई नृत्यामा अभिनेता दीलिप रायमाझी, रमित ढुँगाना, अभिनेत्री केकी अधिकारी, वर्षा राउत, दीपाशा बिसी, गायिकाहरु रचना रिमाल, अस्मिता अधिकारी लगायत विभिन्न कलाकारले साथ दिए ।
अमेरिकाबाट सञ्चालित दुई वटा रियालिटी शो ‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को झापाको दमक स्थित बेलडाँगी शरणार्थी शिबिरमा शनिबार सँयुक्त उद्घाटन गर्दै मुख्य मन्त्री राई करिब ७ मिनट महतको गीतमा नाचे । उनले सबै कलाकारको नाम लिँदै आफुले नेपाली गीत सँगीत र नृत्यमा पनि त्यत्तिकै चासो लिने गरेको बताउँदा कलाकारहरु गदगद भएका थिए ।
सो क्रममा मुख्यमन्त्री राजेन्द्र राई, इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारी, अभिनेता दीलिप रायमाझी, अभिनेत्री केकी अधिकारी, गायक प्रमोख खरेल, नृत्य निर्देशक शँकर बिसी, नरमान राईलगायतले शनिबार बेलडाँडी शिबिरमा ‘मेरो डान्स कप युएसए–४’ र मेरो भ्वाई कप युएसए–२’को सँयुक्त उद्घाटन गरेका हुन् । सोही क्रममा मन्त्री राईले बेलडाँगी शिबिरमा इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले खोजेका जेष्ठ नागरिक डे केयर सेन्टरको पनि उद्घाटन गरे ।
अमेरिका र क्यानडामा रहेका नेपाली तथा नेपाली भाषीहरुलाई नेपाली भाषा संस्कृतिमा आकर्षण गर्न अमेरिकाबाट यो रियालिटी शो चार वर्षदेखि आयोजना गरिँदै आएको छ। यो दुबै रियालिटी शोको अडिसन यही जनवरीबाट अमेरिकामा हुने जानकारी गराउँदै दुबै रियलिटी शोको फारम खुला गरिएको सो क्रममा घोषणा गरियो ।
मुख्यमन्त्री राजेन्द्र राईले नेपालीहरु जहाँ भए पनि आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु पर्ने भन्दै यो दुबै रियालिटी शोले त्यहाँ नेपाली भाषा संस्कृतिको विकाश र प्रवर्धन गर्ने विश्वास व्यक्त गरे ।
आयोजक संस्थाका अध्यक्ष डिल्ली अधिकारीले आफुहरुको पहिचान भनेकै नेपाली भाषा भएकाले अमेरिकामा रहेका नेपाली भाषी भुटानी र नेपालीका नयाा पुस्ता नेपाली भाषा संस्कृति प्रति आकर्षित हुन भनेर नृत्य र गायन सम्बन्धि दुई वटा रियालिटी शो आयोजना गर्दै आएको बताए । इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले चार वर्ष अघिबाट मेरो डान्स कप युएसए र दुई वर्षबाट मेरो भ्वाईस कप युएसए सञ्चालन गर्दै आएको पनि उनले जानकारी गराए । उनी पनि लामो समय नेपाल बसेर अमेरिका पुगेका भुटानी शरणार्थी हुन् ।
‘हाम्रो संस्था इन्ट्र नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापाको शरणार्थी क्याम्पमा रहेका ७५ वर्ष माथिको जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिनुका साथै शिबिरका विधार्थीहरुलाई पढाउँदै आएको छ ।’ अधिकारीले भने,‘अमेरिका र क्यानडामा भए पनि हामी हाम्रा बालबालिकासँग घर तथा आफ्नो कार्यालयमा नेपाली भाषा नै बोल्छौं । हामीसँग नेपाली नागरिकता नभएपनि यो हाम्रो पहिचान भएकाले नेपाली भाषा संस्कृतिको जगेर्नाका लागि यो प्रतियोगितालाई महत्वको साथ हामीले आयोजना गर्दै आएका हौं ।’ झापामा रहेका नेपाली भाषी भुटानी शरणार्थीलाई या त नेपाली नागरिकता दिनु पर्ने वा भुटान तथा तेश्रो मुलुक पुनर्वासका लागि नेपाल सरकारले सहयोग गर्नु पर्ने उनले बताए ।
मेरो डान्स कप युएसएका निर्णायक दीलिप रायमाझी, शँकर बिसी, केकी अधिकारी र नरमान राईले आफ्ना चर्चित गीतमा नृत्य प्रस्तुत गरे ।
नृत्य कलाकार दीपाशा बिसी, करिश्मा ढकाल, निक शर्मा, ऋचा थापाले पनि विभिन्न गीतमा कार्यक्रममा नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाए । कलाकार सन्दीप क्षत्रीको प्रहसन पनि आकर्षक थियो ।
दिउँसो ११ बजेबाट सुरु भएको कन्सर्ट बेलाका ७ बजेसम्म चलेको थियो । मेरो भ्वाईस कपका निर्णायक एवम् गायक प्रमोद खरेलले बेलुका साँझ ढल्दै गर्दा म बिना कसै कसैलाई मुस्किल छ सहित आधा दर्जन गीत गाउँदा सबै नाचेका थिए । कार्यक्रममा गायक गायिकाहरु सिडी बिजय अधिकारी, रचना रिमाल, रबी गहतराज, करणराज कार्की, सञ्जु मोक्तान, निशान भट्टराई, अरिफ शाह, अस्मिता अधिकारी, प्रविण बेडवाल, नेहा उप्रेती लगायतले पनि आफ्ना चर्चित गीतहरु प्रस्तत गरेर दर्शकलाई नचाए । विभिन्न स्थानीय कलाकारले पनि त्यहाँ नृत्य प्रस्तुत गरेका थिए ।