कोरोना भाइरसको नयाँ उत्परिवर्तन ओमिक्रोनको प्रभाव विश्वका विभिन्न देशहरूमा तीव्र रूपमा देखापर्न थालेपछि नेपाल सरकारले त्यसको प्रभाव र संक्रमणबाट बच्न र बचाउन स्वास्थ्य सुरक्षा व्यवस्थापन गर्न निर्देशन जारी गरेको छ । निकै चनाखो हुनुपर्ने अवस्था सिर्जना भइरहेको कुरामाथि जोड दिँदै सरकारले मूलतः जनताबीच प्रभावकारी हुने विधि र व्यवस्थापनमा जोड दिनु सकारात्मक छ । तर, सरकारले जारी गरेको निर्देशनको पालना गराउन पनि सरकारले सोहीअनुसारका योजना र कार्यक्रम ल्याउन जरुरी छ ।
विश्व स्वास्थ्य संगठनले मानव जातिको स्वास्थ्य सुरक्षाका लागि चुनौती बनेर आएको नयाँ उत्परिवर्तनबाट सतर्क हुन विश्वका सबैलाई आह्वान गरिरहेका बेला नेपाल सरकार पनि आफ्ना नागरिकको स्वास्थ्य रक्षाका लागि थप संवेदनशील र जिम्मेवार बन्न जरुरी छ । सरकारले अहिले पहिलो प्रयासका रूपमा विदेशबाट नेपालमा आउने यात्रुहरूको व्यवस्थापन वैज्ञानिक र स्वास्थ्यमैत्री बनााउने पहल लिएको छ । लिइएको पहलअनुसार नेपालमा आउने विदेशी तथा स्वदेशी यात्रुहरूले स्वास्थ्य नियमका रूपमा यी व्यवस्थापन प्रावधान कडाइका साथ पालना गर्नुपर्नेछ । सबैभन्दा पहिले त्रिभुवन विमानस्थलमा स्वास्थ्य चेकजाँच गराउनुपर्नेछ । त्यसपछि क्वारेन्टाइनको व्यवस्था भएबमोजिम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्नेछ । दक्षिण अफ्रिकाबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध नै लगाइएको छ ।
हालका दिनसम्म नेपालमा उक्त भाइरसको प्रभाव र संक्रमण नदेखिए पनि तीव्र रूपमा फैलँदै गएको यो उत्परिवर्तनबाट बेलैमा सतर्क हुन सरकारले निर्देशन गर्दै यसलाई कडाइका साथ कार्यान्वयन गर्न जोड दिएर समयमै लिएको पहल आफंैमा सराहनीय छ । पहिलेका उत्परिवर्तन फैलने अनुपातमा यो नयाँ उत्परिवर्तन ४ गुणा बढी फैलिइरहेको छ । यसले क्षितिजीय तथा उध्र्वतर दुवै आयामलाई आफ्नो फैलावटमा एकै साथ लिएर अघि बढेको छ । यसका लक्षण केकस्ता रहेका छन् र यसको प्रभाव कसरी कम गर्न सकिनेछ भन्ने ’boutमा अझैं स्पष्ट रूपमा किटान हुन नसके पनि हालसम्मका अध्ययन र अनुसन्धानले यसको फैलावटको वेगलाई आश्चर्यजनक संक्रमणका रूपमा लिइरहेका छन् । यो नयाँ प्रजातिले जुन समुदायका मानिस वा जिनमाथि संक्रमण गर्छ र विजय पाउँछ । त्यो जिन वा समुदायका बस्तीमा यो हावा चलेझैं आगो लागेझैं फैलने गरिरहेको छ । यसको संक्रमणको गतिमा आएको यो आश्चर्यजनक गति परिवर्तनले अब उप्रान्त कोभिडका उत्पन्न हुुन सक्ने सम्भावित उत्परिवर्तनले विश्वलाई क्षणभरमै लपेटामा पार्ने त होइनन् भन्ने आशंका र अनुमान पनि स्वास्थ्यविद् तथा वैज्ञानिकबीच बहसको विषय बन्न थालिसकेको छ । यस्तो बेलामा यसको रोकथामका लागि नेपाल सरकारले गरेको पहल आफैंमा दूरदर्शी र सराहनीय दुवै छ ।
यसका साथै नेपालको संघीय सरकारले प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय गरी अग्रिम सतर्कता र रोकथामका उपायलाई धेरै प्रभावकारी बनाउनुु जरुरी भइसकेको छ । उसै त संघीय सरकारको यस मामलामा संयोजनकारी भूमिका हुनेमा कुनै पनि आशंका छैन । जनताका घरदैलोमा रहेका स्थानीय सरकारलाई बढी क्रियाशील बनाउने कार्यक्रम लिएर यसको प्रभावकारितालाई बढाउन संघीय सरकार पछि पर्नुहुँदैन । यसका साथै पछिल्लो समयमा सरकारले अति आवश्यकबाहेक विदेश भ्रमण नगर्न भनी दिएको सुझाव र निर्देशन पनि कम महत्वका छैनन् । यी सबै निर्णय र निर्देशन कार्यान्वयनका लागि सरकारले निर्माण गरेका नीति तथा योजनालाई कार्यक्रमिक रूपमा लैजानु जरुरी छ । सरकारको काम र कदममा सरकारले पनि सहयोग र साथ दिनुपर्छ ।






