शीर्ष डिभिजनमा सातदोबाटोको उडान

काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबले शीर्ष डिभिजनमा आफ्नो अपराजित यात्रालाई कायम राख्दा शुक्रबार विभागीय नेपाल एपीएफ फुटबल क्लबमाथि सानदार जित दर्ता गरेको छ । विदेशी फरवार्ड अजायी मार्टिन्सले यो सिजनको लिगको पहिलो ह्याट्रिक पूरा गरेपछि सातदोबाटोले एपीएफलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

सातदोबाटोले लिगमा तीन खेल खेल्दा दुई जित र १ बराबरी खेल्दै शीर्षस्थानसमेत ओगट्न सफल भएको छ । अपराजित सातदोबाटो ३ खेलबाट ७ अंक पुगेको छ । उसले एक खेल कम खेलेको दोस्रो स्थानमा मनाङ–मस्र्याङ्दी क्लबलाई १ अंकले पछि पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको १९औं मिनेटमा आफ्नो गोलरक्षक अमृतकुमार चौधरीलाई गुमाएपछि एपीएफले आफ्नो धैर्यतासमेत गुमाउन पुगेको थियो । अमउत घाइते हुनु एपीएफको लागि महँगो सावित बन्यो । अमृत बल क्लियर गर्ने क्रममा आफ्नै डिफेन्डरसँग ठोकिन पुगेका थिए । त्यसपछि उनलाई स्ट्रेचरबाट बाहिर लगिएको थियो । उनको स्थानमा मैदान छिरेका अर्का गोलरक्षक दिलकुमार लिम्बुले सुरुवातमा केही उत्कृष्ट बचाउ गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन् ।

पाँचौं मिनेटमा आभाष लामिछानेले प्राप्त मौका सदुपयोग गर्न नसक्दा एपीएफ अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार पोस्टमाथिबाट बाहिरियो । ३९औं मिनेटमा गोलको राम्रो अवसर पाएको थियो । दुईपटकको प्रहारलाई एपीएफका गोलकिपर दिलकुमारले सफल हुन दिदएनन् । ४३औं मिनेटमा कप्तान मानबहादुर तामाङको फ्रिकिक प्रहारलाई पेनाल्टी बक्सबाट एपीएफका खेलाडीले बल क्लियरको प्रयास गरे । त्यही रिबाउन्डमा सुदीप गुरुङले निकालेको पासमा मार्टिनले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए ।

मार्टिनले नै पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा पासाङ लामाले पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोको अग्रता दोब्बर पारे । दोस्रो हाफको सुरुमै एपीएफले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो । ४८औं मिनेट आशीष लामाको प्रहारलाई बचाउने क्रममा करण रावतले आफ्नै पोस्टको दिशा दिएका थिए । त्यसको दुई मिनेट बित्न नपाउँदै सुशील राईले गोल गर्दै सातदोबाटोलाई ३–१ ले अघि बढाए । सुशीलले एपीएफका तीन रक्षकलाई बिट गर्दै दर्शनीय गोल गरेका थिए । ५८औं मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरेपछि सातदोबाटो फराकिलो जिततर्फ अग्रसर बन्यो । सुदीप गुरुङको पासलाई किपरले पूर्णरूपमा नियन्त्रणमा लिन नसकेपछि नजिक रहेका मार्टिनले सहजै गोल गरेका थिए ।

जारी लिगमा ह्याट्रिक गर्ने मार्टिन पहिलो खेलाडी बनेका छन् । त्यसअघि ५५औं मिनेटमा मार्टिनले वान भर्सेन वानमा प्रहार गरेको बललाई दिलकुमारले रोकेका थिए । पहिलो खेलमा फ्रेन्ड्ससँग बराबरी खेलेको सातदोबाटोले दोस्रो खेलमा थ्री स्टारलाई स्तब्ध पारेको थियो । लगातार तेस्रो हार बेहोरेसँगै एपीएफको रेलिगेसन सम्भावना बढेको छ । ब्रिगेड ब्वाइज क्लबसँग पहिलो खेलमा ३–२ को हार बेहोरेको एपीएफले दोस्रो खेल च्यासलसँग १–० ले गुमाएको थियो ।

हारपछि एपीएफका प्रशिक्षक कुमार थापाले कमब्याक गर्नेमा विश्वास गरे पनि गोल खान पुग्दा हार बेहोर्न पुगेको बताए । ‘लगातारको हारले अब झन् दबाब बढेको छ । गोल खाए पनि हामीले राम्रो गरिहेका छौं । गोलरक्षकले गर्दा पनि गाह्रो सातदोबाटोविरुद्ध गाह्रो भयो । पहिलो रोजाईको राजु नगरकोटी घाइते छन् ।

अर्का गोलरक्षक अमृत पनि घाइते भएपछि नयाँ गोलरक्षक दिलकुमारलाई खेलाउनु पर्दा सोचेअनुरूप हुन सकेन ।’ खेलपछि प्रशिक्षक थापाले भने, ‘हामी ढुक्क छौं, हार्मी झर्दैनौं । ९ अंक गुमाएका छौं । अब ३० अंकबाट कम्तीमा १५ अंक ल्याएर शीर्ष डिभिजनमा रहनेछौं ।’ सातदोबाटोको प्रशिक्षक मेघराज केसीले मौसम र मैदानको कारण खेल चित्त बुझ्दो नभए पनि जितमा खुसी रहेको बताए । ‘एपीएफले राम्रो खेलेको हो । स्कोरमा एटेम्प हुन सकेन ।

हाम्रोे डिफेन्सले उनीहरूलाई रोक्न सफल भयो । एपीएफको ब्याडलक गोलरक्षक घाइते हुनु नै हो । सम्भवत पहिलोपटक ठूलो खेल खेलिरहेका गोलरक्षकको फाइदा हामीले लिन सक्यौं ।’ खेलपछि प्रशिक्षक केसीले भने, ‘हामीले पहिलो खेलबाट २ अंक गुमायौं । मैले यसअघि पनि भनिसकेको छु । म प्रत्येक म्याच जित्नका लागि खेल्छु । जित्नका लागि आउनेछु जित्ने मानसिकता हुने छ । जित्नका लागि खेल्ने छौं । खेल २० प्रतिशत सकियो । टेबुलमा हेर्नेे बेला भएको छैन ।’

थ्री स्टार हारबाट जोगियो
उपाधि दावेदारका रूपमा हेरिएको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबसँगको हारबाट जोगिएको छ । एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको ५१औं मिनेटमा नाथानिल जुडे गार्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाए । उनले कप्तान प्रकाश बुढाथोकीको त्रसलाई सदुपयोग गरेका थिए । त्यसअघि ५०औं मिनेटमा सन्जोक राईको पासमा ऋतिक खड्काले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाउँदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । लगत्तै ७५औं मिनेटमा अशोक खवासको पासमा सन्जोक राईको पेनाल्टी बक्सबाहिरको प्रहार पोलमा लागेर फर्कदा थ्री स्टार बराबरीबाट चुक्यो ।

८३औं मिनेटमा हेमन्त थापामगरको चलाखीपूर्ण पासमा ऋतिक खड्काले दिएको क्रसलाई मिक्चेन तामाङले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा गोलरक्षक राहुलअघि बढेको अवस्थामा ऋतिक खड्काको प्रहारलाई पोस्टबाट रोनेल एन्थोनी पलले हेडमार्फत क्लियर गर्दा थ्री स्टार अग्रता लिनबाट चुक्यो । बराबरीपछि थ्री स्टारको ३ खेलबाट ४ अंक पुगेको छ । फ्रेन्ड्सको तीन खेलबाट २ अंक छ । यसअघि पहिलो खेलमा थ्री स्टारले च्यासललाई ३–० ले पराजित गर्दा दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध बनेको थियो । फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेल्दा संकटासाग २–१ को हार बेहोरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण