लोकतन्त्रका खटिरा

जुन दिन कम्युनिज्म स्थापना हुनेछ, त्यसै दिन धर्मको अस्तित्व स्वतः समाप्त हुनेछ । त्यो वर्गविहीन आदर्श समाजमा कसैको मान र अपमान हुनेछैन । त्यहाँ मालिक र सेवकको अस्तित्व रहनेछैन । कोही भोको र नांगो रहनेछैन त्यहाँ । हरेक व्यक्तिले आफ्नो सामथ्र्यअनुसार काम गर्नेछन् । प्रत्येकले आफ्नो आवश्यकताअनुसारको सुविधा पाउनेछ । आवश्यकता लालचमा आधारित हुनेछैन । आवश्यकताको निर्धारण समाजले गर्नेछ । सारा सम्पत्ति सार्वजनिक हुनेछ । त्यहाँ मानवता आफ्नो उच्चतम बिन्दुमा पुग्नेछ ।

कतिपयलाई कम्युनिज्म एक आदर्श किन्तु असम्भव कल्पनाजस्तो लाग्यो । केहीले यसलाई सम्भव तर धेरै ठूलो संघर्ष र बलिदानबाट मात्र प्राप्त हुने अवस्थाका रूपमा परिकल्पना गरे । समाजका शोषित, पीडित, दलित, प्रताडित र वहिष्कृतका लागि यो आकर्षक बन्यो भने सीमित संख्याका शोषक, प्रताडक र सामन्त कम्युनिज्म शब्द सुनेर भयभित भए । धेरै ठाउँमा महान् समाजवादी क्रान्ति भए । पुरातन सत्ताका दुर्भेद्य किल्ला ढले । सम्पत्तिको राष्ट्रियकरण भयो । परन्तु, शासनसत्ता कठोर भयो । जे कल्पना गरिएको थियो, त्यो प्राप्त भएन । मानवलाई सम्बोधन गर्दै प्रश्नहीन रहने र खुरुक्क राज्यको आदेश मान्ने फरमान जारी गरियो । मानवता प्रताडित भइरह्यो । जनतन्त्रको शरीरमा खटिरा उम्रे । कम्युनिजम फगत एक स्वैरकल्पना हो भन्नेलाई बल मिल्यो ।

समानताको नारा घन्काएर सत्तामा जाने नेताहरू ‘सबै समान् छन् किन्तु केही अरूभन्दा ज्यादा समान छन्’ को अवस्थामा पुगे । पीडित, प्रताडित र दलित जनताको कल्याण नै आफ्नो ध्येय भएको कुरा गर्ने व्यक्तिहरू पनि सत्तामा पुगेपछि विकृत हुँदा रहेछन् । शक्तिले सदैव भ्रष्ट हुन प्रेरित गर्दो रहेछ । लर्ड एक्टन भन्छन्, ‘शक्तिले भ्रष्ट हुने प्रेरणा दिन्छ । अतिशय शक्तिले अतिशय भ्रष्ट हुन प्रेरित गर्छ ।’ यस भनाइलाई कम्युनिस्ट सरकार रहेका प्रायः सबै देशका नेताले प्रमाणित गरेर देखाए । उनीहरूले कम्युनिज्म स्वैरकल्पना मात्र नभई यथार्थमा परिणत गर्न सकिने विचार हो भनेर आशा गर्नेहरूको टाउकोमा तातोपानी खन्याइदिए । चीनले मात्र कट्टर कम्युनिस्ट सिद्धान्तको परित्याग गरेर भौतिक समृद्धिको क्षेत्रमा उदाहरण प्रस्तुत ग-यो ।

सत्ता र शक्तिप्रतिको तृष्णा, तिकडम र आशक्तिले गर्दा प्रजातन्त्रको शरीरमा खटिरा लाग्यो

यी त भए जनतन्त्रका कुरा । सन्त नेता कृष्णप्रसाद भट्टराई आफ्नो कृति ‘मेरो म’मा लेख्छन्, ‘भन्नैपर्ने एउटा कुरा के छ भने गिरिजा बाबुको केही गरी पनि आफू प्रधानमन्त्री हुन पाऊँ भन्ने इच्छा थिएन । मलगायत अन्य धेरै साथीहरूको भनाइका कारणले नै उहाँले त्यस पदलाई स्वीकार गर्नुभएको हो । पछि भने त्यस पदका लागि उहाँको रस बस्दै गएकाले तृष्णा पनि बढ्दै गयो ।’ बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री बन्नु नितान्त स्वाभाविक थियो । शासकीय पद र प्रतिष्ठामा रस लाग्नु पनि स्वाभाविक नै थियो । परन्तु सत्ता र शक्तिप्रतिको तृष्णा, तिकडम र आशक्तिले गर्दा प्रजातन्त्रको शरीरमा खटिरा लाग्यो ।

निकट अतीतमा नेकपा एमालेका शीर्षस्थ नेताबीच रडाको मच्चियो । १५ वर्ष एमालेको महासचिव भएर वर्चस्वशाली स्थान हासिल गरेका नेता माधवकुमार नेपालको नवौं महाधिवेशनमा हार भयो । त्यतिका समय पार्टीको कर्ताकर्ता रहेका व्यक्ति पराभव बेहोरेपछि सक्रिय राजनीतिबाट सरक्क पन्छिएको भए पनि इज्जतै बढ्थ्यो । पराजयपश्चात् पनि पार्टीको निर्णय प्रक्रियामा स्थान खोज्नु र जोरी खोजिरहनुबाट उनी नवनिर्वाचित नेताको अप्ठेरो ठाउँमा उम्रेको खटिरा जस्तो हुनु स्वाभाविक नै थियो । एमाले छाडेर अर्को पार्टी खोल्न गएपछि एमालेको शीर्षस्थ नेतृत्वबाट पिलो निचोरिए जस्तै शीतल भएको अभिव्यक्ति आयो । शरीरमा पिलो र खटिरो निस्क्यो भने त्यसलाई पाक्न दिनुपर्छ । नपाकेको पिलो र खटिरो निचोर्दा बाहिर सन्चो भएजस्तो देखिए तापनि खिलभित्रै लुकेर बसेको हुन्छ । माधव नेपाल बाहिर निस्के तापनि एमालेको शरीरमा उम्रेको खटिराको खिल एमालेको शरीरभित्रै छ । राजनीतिमा प्रश्नहीन र आलोचनाहीन हुन खोज्नु भनेको खटिरा लुकाउने प्रयत्न मात्र हो ।

एक ठाउँमा दुई जना पहलवानबीच कुस्तीको कार्यक्रम थियो । सुरुमा एक जना मोटोघाटो र भयंकर मुस्तण्ड पहलवान आएर छातीमा मुड्की ठोक्दै हुंकार ग¥यो । उसको शरीरभरि खटिराका दाग थिए । उसका समर्थकहरूको भनाइअनुसार उसको शरीरका सारा दाग अर्को लडेर जित्न नसक्ने हुतीहारा पहलवानले चिथोरेको घाउका अवशेष थिए । फेरि अर्को झनै भयानक पहलवान् आयो । उसको शरीरभरि पनि घाउका दाग थिए । जति डरलाग्दा खत त्यति नै बहादुरीको प्रतीक । दुवै पहलवान् थाकेर पस्त भएपछि कम्मरमा हात राखेर दाउ खेलेजस्तो गरी नजिकै गएर उभिए । दर्शकहरूले नसुन्ने गरी एक जनाले भन्यो, ‘मेरो शरीरका घाउ म आफैंले चिथोरेर र कोतरेर बनाएको हुँ । तर, यी बबुरा प्रशंसक मेरो प्रतिद्वन्द्वीले चिथोरेर बनाएको घाउ सम्झेर बसेका छन् ।’ अर्को पहलवानका घाउ पनि ऊ आफैंले बनाएको थियो ।

अन्य दलका असन्तुष्टहरूलाई आफ्नो दलमा प्रवेश गराउने ‘मुहिम’ चलाउने घोषणा गर्नु भनेको अर्को शरीरको खटिरोलाई आफ्नो शरीरमा संक्रमण गराउनु मात्र हो

मनुष्यको अभीष्ट सुखी र आनन्दित जीवन हो । सबैलाई सुखी र समृद्ध हुने हक छ । लोकतन्त्रमा सबैलाई कानुन र सभ्यताले स्वीकार गरेको पेसा अपनाउने अधिकार छ । एउटा चोरले पनि सुखी र सन्तुष्ट जीवनको चाहना राखेको हुन्छ । किन्तु, सुखका लागि उसले अपनाएको तरिका असामाजिक र गैरकानुनी हुन्छ । एउटा चोर र राजनीतिक नेताको सन्तुष्टिको मापदण्ड एउटै हुन थाल्यो भने समाज नै भ्रष्ट हुनु अवश्यम्भावी छ । यस्तो प्रवृत्तिका मानिस नै लोकतन्त्रका दुर्दान्त खटिरा हुन् ।

नेकपा एमालेका युवा नेता घनश्याम भुसाल भन्छन्, ‘हामी विचारहीन हुँदै गएका छौं । गएको १० वर्षदेखि हाम्रोमा एउटा राम्रो प्रशिक्षण भएको छैन । समृद्ध नेपाल सुखी नेपाली भन्दै छौं, त्यो भनेको के हो कसैलाई थाहा छैन ।’ यसै गरी नेपाली कांग्र्रेसका नेता तथा विचारक प्रदीप गिरिले आफूलाई पैसा र पदको चाहना नरहेको भए तापनि धेरै समय पैसा र पदको चाहना गर्नेहरूसँग बित्ने गरेको कुरा बताएका छन् । पद एवं पैसाको पछाडि कुद्ने विचारहीन राजनीतिकर्मीहरू लोकतन्त्रका खटिरा हुन् । यहाँ सम्पत्ति र सत्ताप्रति अनाशक्त विचारशील व्यक्ति पनि आशक्तको संगत गर्न विवश छन् । राजनीति गर्ने मानिस एक्लै हिँड्न सम्भव छैन । व्यक्तिगत लिप्सा र तिकडमको अपसंस्कृति पुष्पित र पल्लवित हुनु सिद्धान्तनिष्ठ नेताका लागि विडम्बना हो ।

पुराना संगठक र घाघडान व्यक्तिहरू घर छाडेर जाँदा पनि नेकपा एमाले चैनमा छ । निरन्तरको झंैझमेला र रडाकोबाट मुक्ति मिलेजस्तो गरी रमाइरहेको छ एमाले । एकथरी एमालेहरू अहंकारको अनुमोदन भएकोमा खेद व्यक्त गर्दै एमालेमै बसिरहेका छन् । कोही उकुसमुकुस महसुस गर्ने पनि होलान् । नेपाली कांग्र्रेस र एमालेजस्ता ठूला दलका ठूला मानिसले प्रश्न, समालोचना र सुझावको उपहास लोकतन्त्रका खटिरा हुन् भन्ने कुरा महसुस गर्नु आवश्यक छ ।

सिद्धान्तनिष्ठ दलले अन्य दलका मानिसलाई सजिलै आफ्नो दलमा प्रवेश गराउँदैनन् । एक दलमा आफूले खोजेजस्तो स्थान पाउन नसकेको राजनीतिकर्मी अर्को दलमा पस्नु भनेको जहान बढाउने काम मात्र हो । पल्लो घरको खटिरो वल्लो घरको मलम बन्न सक्दैन । अन्य दलका असन्तुष्टहरूलाई आफ्नो दलमा प्रवेश गराउने ‘मुहिम’ चलाउने घोषणा गर्नु भनेको अर्को शरीरको खटिरोलाई आफ्नो शरीरमा संक्रमण गराउनु मात्र हो । दल फेर्न जति सजिलो सिद्धान्त, निष्ठा र विचार फेर्न किमार्थ छैन ।

तपाइको प्रतिक्रिया
(Visited 572 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स