सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा अहिले पार्टी सभापतिलगायतका विभिन्न पदाधिकारीमा उमेदवारको विषयलाई लिएर निकै गम्भीर विवाद भइरहेको छ । आकांक्षीहरू धेरै भए पनि त्यसको व्यवस्थापन गर्ने नीति, विधि र पद्धति निर्माण गरिएको छैन । विभिन्न गुट उपगुटसहितका प्यानल देखिएका छन् । एउटा शक्तिशाली पार्टीका लागि गुटउपगुट र प्यानलबन्दा त्यसले भविष्यमा पार्टी जीवनमा पनि विभिन्न समस्या देखा पर्न सक्छ भन्नेमा कांग्रेस संवेदनशील बन्न जरुरी छ ।
आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीले यसको व्यवस्थापन गर्न नसक्दा अप्रजातान्त्रिक व्यवहार भएको आरोप पनि खेप्नुपर्ने हुन सक्छ । यस्ता आरोवबाट पुरानो लोकतान्त्रिक पार्टी बच्न सक्नुपर्छ ।
प्रजातन्त्रका नाममा कसैले आफू बाँच्दासम्म पार्टी र सरकारको शक्ति भरपुर उपयोग गरेर पार्टी सभापति हत्याइरहने तर कसैले सरकार पार्टीमा कमजोर उपस्थितिका कारण हात धोइरहनुपर्ने स्थिति आफंैमा प्रजातान्त्रिक होइन । प्रजातन्त्र भनेको उदात्तभावका साथ सबैले समान रूपमा प्रतिस्पर्धा गर्न पाउनु र सेवा गर्ने अवसर पाउनु पनि हो । प्रजातन्त्रको अर्थ एउटाले जीवनभर खाइरहने अर्काले हेरिरहने पनि होइन । अर्कोतिर आ–आफ्ना गुट खडा गरेर हारजितको लडाइँ लड्नु पनि प्रजातन्त्र होइन । गाउँघरमा भने झैं ‘जो जित्छ, उही मेरो भाले’ भन्ने प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यास दुवै होइन । प्रजातन्त्र आफंैमा समान प्रजातान्त्रिक अभ्यास र व्यवहार हो । यो जसको शक्ति उसको भक्ति पनि होइन । बरु यो समता र समानताको अध्याय पनि हो ।
तर, नेपाली कांग्रेसमा यसको कुनै गुन्जायस देखिन सकेको छैन । गुटको समीकरण चरम सीमामा पुगेको छ । प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यास र प्रक्रियालाई बलियो बनाउनेभन्दा पनि कसले कसलाई ढाल्ने र हराउने चलखेल चलिरहेको छ । एकपटक ओहदा हत्याएपछि जीवनभर नछाड्ने परिपाटी प्रजातान्त्रिक परिपाटी हुँदै होइन । प्रजातन्त्र भनेको नीति, विधि र पद्धति हो । प्रजातन्त्र भनेको चुनाव गरेर देखाउँदै जीवनभर राजशाही चलाउने व्यवस्था पनि होइन । तर, नेपाली कांग्रेसले यही नीति, विधि र पद्धति बसाल्न सकिरहेको छैन । एक लामो कालखण्डसम्म कोइराला परिवारको एकलौटी राइँदाइँ चल्दै आएको नेपाली कांग्रेसमा अब फेरि लामो समयसम्म शेरबहादुर देउवाकै हैकम चल्ने स्थिति देखिएको छ । सधंै र सँगै काम गरेर आएका सहकर्मीहरूको योगदानको कुनै मूल्यांकन छैन । नेता कार्यकर्तालाई सही स्थानमा काम गर्न दिनु पनि छैन । बरु आफ्ना र बिरानाको सीमा अझ बलियो बनाइँदै लगिएको छ । पार्टीमा यस्ता नेता तथा कार्यकर्ताले आफ्नो भविष्य नै देख्दैनन् भने त्यहाँ के र कुन प्रकारको प्रजातन्त्र होला ? नेपाली कांग्रेसले यो विषयमा गम्भीर समीक्षा गर्नु जरुरी देखिएको छ ।
पार्टी महाधिवेशन आफंैमा एक राजनीतिक उत्सव पनि हो । देशभरका नेता तथा कार्यकर्तायस्ता उत्सवका जमघट हुँदै छन् । उनीहरू आआफ्नो हित र भविष्य यो अधिवेशनमा देख्न चाहन्छन् । तर, नेताहरू भने समस्या समाधानका पद्धति बसाउनुभन्दा पनि आआफ्ना स्वार्थ साँध्न तयारी गरिरहेका छन् । इगो, इवी र अस्वस्थ प्रतिस्पर्धा आफंैमा प्रजातन्त्र होइन । हुन त पार्टीभित्र स्वास्थ्य प्रतिस्पर्धा हुनु नराम्रो कुरा होइन । कांग्रेसले स्वस्थ्य प्रतिस्पर्धामार्फत विधि पद्धति र सिद्धान्तलाई आत्मसात् गर्नु अत्यावश्यक छ ।
सबै नेताहरूले महाधिवेशन वैचारिक बनाउँदै यसलाई प्रजातान्त्रिक पद्धतिमा लैजानु जरुरी छ ।






