कांग्रेसको आगामी भूमिका

त्यसो त देशका सबै राजनीति दल र नेतागणहरूको कार्यशैली वाक्कदिक्क लाग्ने स्तरको भयो भन्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । राजनीतिमा पारदर्शिता, निष्ठा र स्वाभिमान कुनै पनि दलमा देखिँदैन । नेतृत्वमा भिजन, मिसन र एक्सनको खडेरी छ । देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाको हातमा गएपछि गुट, टुट, फुट र भ्रष्टाचार मौलाएको जानकार बताउँछन् ।

नेपाली कांग्रेसकै कामजोरीका कारण नेपालमा कम्युनिस्टहरू फैलिएका हुन् भन्नेहरू पनि छन् । कांग्रेसमा देश विकास गर्ने नेतृत्व आउन सकेन कि कोही पनि छैन ? भन्ने कोणबाट पनि सामाजिक टीकाटीप्पणीहरू हुने गरेका छन् । नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकेको, प्रजातान्त्रिक पार्टी जससँग विभिन्न राजनीति परिवर्तनहरूमा महत्वपूर्ण भूमिका छ । गाउँगाउँसम्म कार्यकर्ता छन् । समर्थक छन् । यस्तो दल मियोबिनाको दाइँजस्तो हुन हुँदैन भन्नेहरू धेरै छन् । कांगे्रसजनहरूले उल्लेखित कुरा बुझेका छन् कि छैनन् होला ? राजनीतिक दलमा कस्तो व्यक्ति नेतृत्वमा छ भन्ने कुराले ठूलो भूमिका खेल्दोरहेछ । नेपाली कांग्रेसमा लामो समयसम्म भिजन भएको नेतृत्व हुन सकेन भन्ने बहस छेडिँदै गर्दा यसपटकको चौधौं महाअधिवेशनमा पनि मुख्य नेतृत्व परिवर्तन हुन सकेन ।

कांग्रेसजनहरूले शेरबहादुर देउवाले दल चलाउन नसकेको, विधिको शासन दिन नसकेको आरोप लगाउँथे । नेतृत्व परिवर्तन कांग्रेसको अनिवार्य सर्त हो भन्ने गर्थे । तर, अन्त्यमा उनै पात्रहरूले लोभ र लालचको अगाडि घुँडा टेके । अहिले नयाँ दृष्टिकोणका साथ नेपाली कांग्रेसलाई हाँक्ने र सुशासन दिने, विकास गर्ने र जनताको आशा जगाउने नेतृत्व चाहिएको छ । दलका अधिवेशन मतदाताहरूको हातमा हुँदो रहेछ । देशको भविष्य केही मानिसहरूको विवेकमा भर पर्दो रहेछ । कार्यकर्ताहरूले व्यक्तिपूजा गर्ने र आप्mनो फाइदा हेर्दा मुलुकले लामो समयसम्म दुःख पाइरहेको छ ।

नेपाली जनतालाई अमुक नामको व्यक्ति चाहिएको होइन । जो आए पनि काम गर्न सक्ने व्यक्ति चाहिएको हो । अहिले हरेक दलहरूको राजनीतिक साख घटेको छ । राजनीति विश्लेषक सुन्दरमणि दिक्षितको शब्दमा सहरी क्षेत्रका नागरिकले अहिलेको नेृत्वको अनुहार हेर्न नपरोस् भनेर टेलिभिजन बन्द गर्ने गरेका छन् भन्ने छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको शब्दमा गाउँघरमा नेताहरू जाँदा कुन चोर आएछ भनेर जनताहरूले आक्रोश देखाउने गर्छन् भन्ने छ । लिङ्देनको भनाइ खण्डन गर्दै प्रचण्डले नेपाली कांग्रेसको महाअधिवेशनमा आएका नेता कार्यकर्तालाई प्रश्न गरे ।

देश र नागरिकको हित हुने कुरामा पनि असहयोग गर्ने, आफ्नो फाइदा देखिएमा जता पनि सा“ठगा“ठ गर्ने कांग्रेस नेतृत्वको कुटिल र दहीचिउरे आचरणले यो दलको भविष्य उज्ज्वल हुन सक्दैन

के साँच्चै लिङ्देल भनेजस्तो नेता चोर हुन त ? ठूलो जमातले एकै स्वरमा हो भनेर जवाफ दिए । देशविदेशबाट विशिष्ट नेताहरू आएको सभामा दलकै कार्यकर्ताहरूले यसोभन्दा हाम्रा नेताहरूको इज्जत गयो कि गएन ? उनीहरूको जनाधार देखियो कि देखिएन ? एकातिर कार्यकर्ताहरूमा सक्षमभन्दा पनि गुटका नेतालाई जिताउने र फाइदा लिने अभ्यास चलिरहेको छ भने अर्कोतिर नेतृत्वमा पुगेपछि त्यही समूहको सेवा र मेवामा नेतृत्वले काम गर्दा योग्य र सक्षम नेतृत्व किनारा लाग्दै गएको अवस्था छ ।

भाग्यवश नेतृत्वमा पुगेपछि दलका आआफ्ना कार्यकर्तालाई जागिर खुवाउने भर्नास्थलका रूपमा देशका संघसंस्था प्रयोग भएका छन् । न्यायालय, विद्यालय, विश्वविद्यालय, संस्थान, राष्ट्रिय सभा, संवैधानिक अंगहरूलगायतका ठाउँहरूमा राम्रा मान्छेभन्दा हाम्रा मान्छे भर्ना गरिएका छन् । यिनै अक्षमहरूका कारण हरेक क्षेत्र आलोचित छ । कमजोर छ । तहसनहस छ । अनि जनताले नेतागणलाई कसरी सम्मान र विश्वास गर्ने ? त्यसैले यस्तो अवस्थालाई बदलेर विवेकपूर्ण काम गर्न सक्ने कांग्रेस मुलुकको आवश्यकता हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा मुलकमा पाँचपटक प्रधानमन्त्री भए ।

उनले गरेका पाँच राम्रा काम देखाउन उनकै वरिपरि परिक्रमा गर्नेहरूले पनि सक्दैनन् । हो, देउवालाई भ¥याङ बनाएर तर मार्नेहरूले उनलाई भगवान् नै मान्लान् । तर, साँचो अर्थमा सचेत नागरिकले देउपालाई जनताको माग बुभ्mन नसकेको, कुशासन मच्चाएको, नीति, नियम, विधि, विधानजस्ता कुरा लत्याएको, दल चलाउन नसकेको, कम्युनिस्टहरूको पुच्छर भएर आमनिर्वाचनमा हँसिया हतौडामा मत हाल्न लगाएको, देशविकासको मार्गचित्र नभएको भन्नेहरू धेरै छन् । फेरि उनै देउवालाई भोट दिएर जिताउनेहरू पनि तिनै पात्र छन् । कम्युनिस्ट दलहरूमा पनि यस्तै देखिन्छ ।

लामो समयसम्म पदमा रहेका असक्षम नै पार्टीको नेतृत्वमा पुगेको देखिन्छ । दलका केही संख्यामा रहेमा अन्धभक्तका कारण ३ करोड नेपाली मात्र नभएर आउने नयाँ पुस्ताले समेत दुःख पाउने अवस्था बलियो हँुदै गएको राजनीति विश्लेषक बताउँछन् । यस्तो अवस्थामा कांग्रेसको नेतृत्वले अब्बल नेतृत्व दिन आवश्यक छ । विगतका कमीकमजोरीबाट पाठ सिकेर प्रभावकारी काम गर्न आवश्यक छ । नेपाली जनतालाई नेतृत्वमा जुनबहादुर आए पनि फरक पर्ने थिएन ।

यदि उसले विकास र जनहितमा काम गर्न सके, भ्रष्टाचार रोक्न सके, महँगी नियन्त्रण गर्न सके, सुशासन दिन सके, राजेगारीको अवसर सिर्जना गर्न सके, विधिको शासनमा देशलाई अगाडि बढाउन सके, शिक्षा, स्वास्थ्य र प्रशासन सेवालाई गुणस्तरीय बनाउने सके, कृषिमा आधुनिकीकरण, उद्योगीकरणलगायतका क्षेत्रमा काम गर्न सके । तर, विडम्बना ! हालसम्मको रेकर्ड हेर्दा कांग्रेसको नेतृत्वले उल्लेखित समस्या बुझेको त छ ? भन्ने प्रश्नहरू उठेका छन् । अहिले राज्यको आर्थिक सिन्डिकेट व्यापारी, औद्योगिक र राजनीतिक वर्गको नियन्त्रणमा छ । व्यापारीहरू राजनीति पार्टीका दुहुना गाई भएका छन् ।

अझै पनि नेपाली कांग्रेसलाई हा“क्ने र सुशासन दिने, विकास गर्ने र जनताको आशा जगाउने नेतृत्व चाहिएको छ

त्यसैले हरेक वस्तुमा महँगी चुलिएको छ । तस्करी, कालोबजारी र भ्रटाचारी नेताहरूबाट नै सुरक्षित भएका समाचार आउने गर्छन् । जताततै विसंतिले जरा गाडेको छ । अहिलेका प्रधानमन्त्रीले उल्लेखित समस्या समाधान गर्लान् त ? उनको ऐतिहासिक कार्यशैलीको मूल्यांकन गर्दा पत्याउने अवस्था छैन । त्यसैले देशका समस्या समाधान गर्न देउवाले अहिले नेतृत्वमा आएको नयाँ पुस्ताको नेतृत्वसँग सहकार्य गर्न जरुरी छ । यसै गरून् । बेरोजगारीको समस्या मुलुकमा भयावह छ ।

युवाहरू बेरोजगारीको कारण अनेक प्रकारका दुव्र्यसनीहरूमा संलग्न छन् । कोही विदेश पलायन भएका छन् भने कोही राजनीति पार्टीका भक्त भएर हिँडेका छन् । युवाहरू विदेश पलायन हुँदा गाउँघर बूढाबूढी र केटाकेटीका वस्ती भएका छन् । युवाहरूले विदेशमा रगत र पसिना बगाएर कमाएको विशेषणले यहाँको मन्त्रिपरिषद् र विधेयकलाई सत्ता, भत्ता, ऐश, आराम र भ्रष्टाचार गर्न रकमको तर्जुमा भइरहेको छ । उल्लेखित समस्या समाधान गर्न सक्ने कांग्रेस आजको आवश्यकता हो ।

कांग्रेसमा पदका लागि तँछाडमछाड गर्ने र अस्वाभाविक समझदारी गरेर दलको मान, मर्यादा र इज्जत घटाउने स्वार्थी समूहहरू समाजका कलंक हुन् । लोकतन्त्रका बाधक हुन् । राजनीतिलाई कमाइ खाने भाँडो बनाउने व्यापारी हुन् । लोकलाज हराएका नकच्चरा हुन् । देश विकास र सुशासनका बाधक हुन् । अन्त्यमा, देशमा व्यवस्था बदलियो तर अवस्था बदलिएन ।

आप्mनो स्वार्थले काम नगरेमा देश र नागरिकको हित हुने कुरा पनि असहमति, असहयोग गर्ने र आफ्नो फाइदा देखिएमा जता पनि साँठगाँठ गर्ने कांग्रेस नेतृत्वको कुटिल र दहीचिउरे आचरणले यो दलको भविष्य उज्ज्वल हुन सक्दैन । त्यसैले कांग्रेसजनहरू बदलिन जरुरी छ । इतिहास भजाउने तर काम नगर्ने कांग्रेस चाहिएको होइन । कांग्रेसको घैंटोमा घाम लागोस् । जनताले दिएको अवसरलाई देश विकासमा लगाओस् । यसपटक देउवा सरकार सफल होस् । प्रशंसा गर्न लायक बनोस् ।

तपाइको प्रतिक्रिया
(Visited 423 times, 1 visits today)

epaper

ताजा समाचार

असोजमा भित्रियो कीर्तिमानी २ खर्ब ६७ अर्ब रुपैयाँ रेमिटेन्स