चिकित्सकको परामर्शबिना जथाभाबी औषधी खाने प्रक्रियालाई लागूपदार्थ दुरुपयोग भनिन्छ । कुनै पनि औषधि वा वस्तुलाई नशाको रूपमा प्रयोग गर्ने प्रचलनलाई पनि लागूपदार्थ दुरुपयोग भनिन्छ । नेपालको सन्दर्भमा लागूपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ । तर, यसबाट उत्पन्न हुने असर वा विकृतिहरू वर्तमान समयमा ज्यादै देखिएका हुन् । गाँजा सेवन यसको ज्वलन्त उदाहरण हो । यसको प्रयोगले नेपालको सहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई समेटेको छ । सन् १९६० को दशकपछि सहरी क्षेत्रमा विकसित भएको पश्चिमाहरूको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदियो । लागूपदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद गर्छ नै यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई नष्ट पार्दछ । समाजमा हत्याहिंसा, चोरीडकैती, वेश्यावृत्तिजस्ता विकृतिबाट मानिस आक्रान्त बन्न पुग्दछन् । नेपालमा खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागूपदार्थको दुरुपयोग बढ्दो छ ।
विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार लागूऔषध भनेको कुनै पनि किसिमको रासायनिक पदार्थ हो । जुन स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक, कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ । नेपालको लागूऔषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागूऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सारतत्व, मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोद्दिपक पदार्थ (साइकोट्रपिक सब्स्टान्स) र तिनको लवण तथा अन्य पदार्थ सम्झनुपर्छ ।’
नेपालमा लागूऔषधको स्थितिलाई केलाउँदा पुरानो समयमा गाँजा, भाङ, धतुरो आदि चाडपर्वमा साधारण मानिसले र जोगी जस्ताले चाडपर्वमा मठमन्दिरमा सेवन गर्ने गर्दथे भने कतिपयले बिरामी भएको अवस्थामा औषधोपचारका रूपमा समेत सेवन गर्ने प्रचलन थियो । विकसित देशहरूमा विकासको लहरसँगै आएको विकृतिहरू विगत ३० वर्षको समयमा बढ्दो बेरोजगारिता, मनोविनोदका साधनको उपलब्धि तथा प्रयोग, विशेषतः युवापिढीका बढ्दो आकांक्षाबाट अशान्त मनस्थिति हुनु आदि कारणले लागूऔषधप्रतिको बढ्दो भुक्तान यिनै वर्षहरूमा विशेषतः पाश्चात्य देशमा देखिएको र त्यसको प्रभाव हाम्रो देशमा समेत पर्न गएको देखिन्छ ।
लागूऔषधलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा ३ मा लागूऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा अफिम, तयारी अफिम, ओषधोपयोगी अफिम, कोकाको झार र पात, तत्कालीन श्री ५ को सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको प्राकृतिक वा कृत्रिम लागूऔषध वा मनोदिपक पदार्थ र तीनका लवणहरू तथा अन्य पदार्थहरू समेत सम्झनुपर्छ भन्ने उल्लेख गरिएको छ । लागूऔषधको दुव्र्यसनीको कथा मानिसको दुःखद अन्त्यको कथा हो भने लागूऔषधको व्यापारको कथा मानिसको क्रुरता तथा अन्धो स्वार्थीपनको उत्कृष्ट उदाहरण हो । यौन विकृति तथा बेश्यावृत्ति, परिवारभित्र अशान्ति, झैझगडा, चोरी, लुटपाट जस्ता सबै अपराधमा लागूऔषधको दुव्र्यसन र दुरुपयोग सदैव अप्रत्यक्ष रूपमा सघाउ पु¥याइरहेको हुन्छ ।
लागूपदार्थलाई २ समूहमा विभाजन गर्न सकिन्छ । अवैध घोषित भएका र रोक तथा कानुनी रोक नलागेका पदार्थहरू चुरोट, बिडी खैनी, रक्सी जस्ता नरम लागूपदार्थलाई कानुनले यसको सेवन बन्द गरेको छैन । तर, यी पदार्थ पनि धेरै समय प्रयोग गरे दम, क्यान्स, ब्रोंकाइटिस जस्ता रोग उत्पन्न हुने हुँदा अर्को उस्तै हानिकारक हुन आउँछ । मानव जीवनका निम्ति स्वस्थ, सफल र दीर्घायु हुन ड्रग आवश्यक छ तर जब एउटा उद्देश्यका लागि निर्माण गरिएको औषधी अर्को उद्देश्यले चिकित्सकको निरीक्षण र सल्लाह बिना नै आफू खुसी प्रयोग गरिन्छ । त्यसलाई औषधीको दुरुपयोग वा दुव्र्यसन भनिन्छ । यस प्रकारको सेवनले पीडा, थकान र दुःखाइलाई कम गरी निन्द्रा लगाउनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक संरचना र क्रियात्मक पक्ष नै परिवर्तन गरिदिन्छ । यसैलाई लागूऔषध भनिन्छ ।
लागूऔषध दुव्र्यसन रहित स्वस्थ र समुन्नत समाजको प्राप्तिका लागि लागूऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ लागू भइसकेको छ । लागूपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ । यसैगरी लागूपदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु आवश्यक देखिन्छ ।
लागूऔषधले जस्तोसुकै व्यक्तिको पहिचान सकारात्मकबाट नकारात्मक बनाउँछ
अतः लागूऔषधको प्रयोगबाट जोखिममा परेका समूहको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरी लागूपदार्थको माग घटाउ अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ । नेपालमा लागूऔषध दुरुपयोग नियन्त्रणका लागि खास गरी गृह मन्त्रालय क्रियाशील रहेको छ । यस क्रममा मन्त्रालयमार्फत लागूऔषध दुरुपयोगको माग घटाऊ कार्यक्रम, आपूर्ति नियन्त्रण अभियान र क्षति न्यूनीकरणका कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेका छन् ।
लागूपदार्थ प्रयोगका प्रकार:
प्राकृतिक लागूपदार्थ भन्नाले सुरुको उत्पादन अवस्थालाई जनाउँदछ । यो केवल बिरुवाको रूपमा हुन्छ र यसलाई साधारण तरिकाले प्रशोधन गरी प्रयोग गर्ने गरेको पाइन्छ । जस्तैः गाँजा, चरेस, कोका (कोकाबाट ‘कोकिन’ बनाइन्छ) आदि । अर्ध औषधी मिश्रित लागूपदार्थ भन्नाले बिरुवाका रूपमा प्रयोग भएको पदार्थलाई प्रशोधन गरी प्रयोग गर्न योग्य तुल्याइएको पदार्थलाई जनाउँदछ । जस्तैः मर्फिन, हिरोइन, कोकिन, गाँजा आदिका पाउडर यस श्रेणीमा पर्दछन् । यिनलाई निकै असरदार मानिएको छ । आजको विश्वमा प्रायः यसै प्रकारको लागूपदार्थ सेवन गरेको पाइन्छ । औषधी मिश्रित लागूपदार्थ यो पूर्णतया रासायनिक तत्वको मिश्रण गरी बनाइएको हुन्छ । यस्ता प्रकारका औषधी निकै असरदार हुन्छन् । एलएसडी, डिसी, एजी, नगिभक, कोडिन, फस्फेट चक्की, फोर्टविन, डाइजिन आदि ।
लागूऔषधलाई विभिन्न किसिमबाट वर्गीकरण गर्ने गरिन्छ । लागूऔषधको प्राप्ति स्रोतको हिसाबबाट प्राकृतिक र कृत्रिम गरी दुई किसिमबाट वर्गीकरण गरिन्छ भने कानुनी रूपमा कानुनी, गैरकानुनी र नियन्त्रित गरी तीन प्रकारमा बाँड्ने गरिन्छ । त्यसैगरी लागूऔषधको असरको हिसाबबाट हेर्दा यसलाई निम्नानुसार वर्गीकरण गर्ने गरिन्छ ।
(क) स्वापकजन्य वा पीडाहरू
(ख) अवसादक वा आलस्यजनक
(ग) उत्तेजक
(घ) मतिभ्रामक
निद्रा लगाउने, चेतनाको अवस्थामा बदलाव ल्याउने, साथै पीडाहरू कम गराउन प्रयोग गरिने औषधीलाई स्वापकजन्य वा पीडाहरू भनिन्छ । केन्द्रीय स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने औषधीलाई उत्तेजक भनिन्छ । यस वर्गमा पर्ने औषधीले उत्तेजना बढाउने, भोग हटाउने र थकाइ मेटाउने जस्ता प्रभाव पार्दछन् ।
बर्सेनि हजारौंको संख्यामा बढ्दै गइरहेको लागूऔषध दुव्र्यसन, लागूऔषधको बढ्दो अवैध खेती, उत्पादन, भण्डारण तथा ओसारपासरा विश्वव्यापी आर्थिक सामाजिक महामारीका रूपमा रहिआएको छ । विश्व लागूऔषध प्रतिवेदनका अनुसार विश्वका करिब ६ प्रतिशत मानिसहरू लागूऔषध सेवन गर्दछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१५ मा ४ लाख ५० हजार व्यक्तिले लागूऔषध सेवनका कारण ज्यान गुमाए (विश्व ड्रग प्रतिवेदन, २०१८) । नेपालको लागूऔषध सर्वेक्षण २०६३ र २०६९ अनुसार वार्षिक करिब ११ प्रतिशतले लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको छ । त्यसैगरी कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागूऔषधसँग सम्बन्धित रहेका छन् (एनसीबी–२०१८) ।
दुव्र्यसनी अध्ययन अनुसन्धान:
बेरोजगारी पारिवारिक बिछोड तथा आवश्यक मायाममताको अभावमा हिनताबोध भई कतिपय युवायुवतीहरू यस्तो कुलतमा परेको पाइएको छ । किशोर अवस्था स्वभावैले कौतुहलपूर्ण हुन्छ । कुनै पनि कुराको अनुभव लिने जिज्ञासा उनीहरूमा हुन्छ । यस क्रममा कहिलेकाहीं आफंै उत्सुक भई नसालु पदार्थको सेवनतर्फ अग्रसर हुन्छन् । लागूपदार्थको सेवन तथा कारोबार नियन्त्रणका लागि सरकारले दबाबका कारणले नियन्त्रणका उपाय प्रभावकारी हुन सकेका छैनन् र अरू संरक्षण पाइरहेका छन् ।
साथीभाइको संगत, बेरोजगारी, अभिभावकत्वमा कमी, पश्चिमा संस्कृतिको प्रभाव तथा लागूऔषधको सहज व्यापारका कारण नेपालमा लागूपदार्थको दुरुपयोग बढ्दो छ
मानिसलाई विभिन्न किसिमका आर्थिक, पारिवारिक सामाजिक संकट आइपर्दछन् । यस्ता संकटले तनावको अवस्था निम्त्याउँछ । उनीहरू तनावबाट मुक्त हुन नसालु पदार्थको सेवनबाट क्रमशः कुलततर्फ जान्छन् । कतिपय युवायुवतीहरू बढी महŒवाकांक्षी हुन्छन् । उनीहरू लक्ष्यमा पुग्न नसक्ने अवस्थामा तनावयुक्त हुन्छन् । यस्तो तनावबाट मुक्त हुन लागूपदार्थको सेवन आवश्यक हुन्छ भन्ने गलत सोचाइ भएको पाइन्छ ।
दुव्र्यसनका लक्षण :
- स्वभाव, आनीबानीमा परिवर्तन आउँदै जानु, जस्तैः प्रसन्न र चलाख मानिस एकाएक खिन्न र सुस्त हुनु ।
- साना–साना कुरामा झर्कनु वा रिसाउनु
- जिब्रो लरखराउनु, मुख र शरीरबाट दुर्गन्ध आउनु,
- पढ्नमा मन नलाग्नु, स्कुलमा अनियमित हुनु,
- मानसिक स्थिति ठिक नभएको व्यक्ति जस्तो जताततै बरालिएर हिँड्नु
- स्त्री भएमा देह व्यापारमा संलग्न हुनु,
- सरसफाइमा ध्यान दिन छाड्नु,
- खानेकुरामा रुचि हराउनु र बढी पानी पिउन थाल्नु,
- औषधिका चक्की, झोल औषधी, इन्जेक्सनको सुई धूलो औषधी, चुरोटको झिलमिले कागज आदि वस्तुहरू खल्ती वा कोठामा फेला पर्नु आदि ।
- आँखा रातो देखिनु, बोली लर्बरिनु र लठ्ठ देखिनु
- अचानक स्वभाव, बोल्ने भाषा, पहिरनमा परिवर्तन आउनु
- बिनाकारण झगडा गर्नु र परिवारबाट टाढा रहन खोज्नु
- सधैं नयाँ बहाना बनाएर चाहिनेभन्दा बढी पैसा माग्नु र खर्च गर्नु ।
लागूऔषध तस्करमा अवरोध हटाउन आर्थिक स्रोतको प्रयोग र राजनीतिक चलखेल गरी राज्य शासनमा आफ्नो अनुकूलको राजनीतिक नेतृत्व ल्याउन, सुरक्षा अधिकारीलाई रकम दिएर खरिद गर्ने, विरोधीको हत्या जस्ता आतंककारी गतिविधिलाई नार्कोटेररिज्म भन्दछ । लागूऔषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक सञ्जाल विस्तार गर्नेदेखि लिएर राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक प्रभुत्व कायम गर्ने गतिविधिमा प्रयोग हुने गरिएको छ । कोकिन दक्षिण अमेरिकाको एन्डियन देशहरू बोलिभिया, कोलम्बिया, पेरुमा उत्पादन हुन्छ । कोकाको पातलाई प्रशोधन गरेर कोकिन बनाइन्छ । कोकिनको मूल्य अत्याधिक भएकाले धनी राष्ट्रमा तस्कर हुने र धनाढ्यबर्गले नै दुव्र्यसन गर्दछन् ।
यसैले कोकिनलाई धनी (रिच एलिट ड्रग) लागूऔषध भनिन्छ । नेपालमा विभिन्न लागूऔषध दुव्र्यसनीको संख्या १ लाख रहेको आँकलन गरिएको छ । लागूऔषध दुव्र्यसनीले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् । स्थानीय र अन्तर्राष्ट्रिय तस्करले नेपाललाई ट्रान्जिटका रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाँजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको छ । लागूऔषध दुव्र्यसनीको संख्या सन् २०१४ मा २ अर्ब ९ करोड र प्रतिवर्ष २ लाख दुव्र्यसनीको मृत्यु हुने गरेको देखिन्छ । दुव्र्यसनीहरू सन् २०५० सम्ममा २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
अभिलेखअनुसार उमेरका हिसाबले १५ वर्षदेखि कम उमेरका ३२.२ प्रतिशतले, १५ देखि १९ वर्ष ४८.९ प्रतिशतले २० देखि २४ वर्ष १३.८ प्रतिशतले र २५ भन्दा माथि ४.९ प्रतिशतले पहिलो चोटी लागूऔषध सेवन गर्दछन् र हाल १५ वर्ष कम उमेरकाले १.४ प्रतिशत, १५ देखि १९ वर्षकोले १९.९ प्रतिशत, २० देखि २४ वर्षकाले ३३.२ प्रतिशत, २५ देखि २९ वर्षकाले २२.४, ३० देखि ३४ वर्षकोले १३.७ प्रतिशत, ३५ देखि ३९ वर्षकाले ५.७ प्रतिशत र ४० देखि माथिकाले ३.७ प्रतिशतले लागूऔषधमा निर्भरता भई जीवन बिताइरहेका छन् । धेरैजसो लागूऔषध प्रयोगको सुरुवात विद्यालय वा क्याम्पसबाट हुने गर्दछ । ६ देखि १० कक्षाका ४१.९ प्रतिशतले विद्यार्थी र ३४.२ प्रतिशत एसएलसी सर्टिफिकेट लेवलदेखि लागूऔषध लिने गर्दछन् । लागूऔषध त्यस्तो खतरनाक चिज हो जसले जस्तोसुकै व्यक्तिको जीवन लागूऔषधमा निर्भरता बनाउँछ । शिक्षित, अशिक्षित, धनी, गरीब, कुनै वर्ग, जाति, लिंग भन्ने हुँदैन । जस्तोसुकै व्यक्तिको पहिचान सकारात्मकबाट नकारात्मक बनाउँछ । जति नै सभ्य समाज भए पनि असभ्य बनाउँछ ।






