दोलखामा हिउँ पर्याे, यातायात अवरुद्ध, विद्यालय बन्द (फोटोफिचर)


दोलखा । दोलखाको कालिञ्चोक क्षेत्र हिउँले सेताम्य भएको छ । कालिञ्चोक क्षेत्रमा बुधबार बिहान देखिनै लगातार हिमपात भइरहेको छ । दोलखाको माथिल्लो क्षेत्रमा पुनः बुधबार तेस्रोपटक हिमपात भएको हो । दोलखामा गत शुक्रबार देखी चिसो एक्कासि वृद्धि भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा शुक्रबारदेखि पुनः हिमपात हुन सुरु भएको छ ।

कालिन्चोकमा बुधबार बिहान देखिनै बाक्लो हिमपात भइरहेको स्थानीय होटल व्यवसायी हरि ओलिले जानकारी दिए । बुधबार बिहान देखिनै वर्षा र हिमपात हुँदा जिल्लाभरको जनजीवन सामान्य प्रभावित बनेको छ । सोमबार ,मंगलबार दिनभर दोलखामा घाम लाग्न सकेन जसको कारण बुधबार जिल्लामा बिहान देखिनै बाक्लो हिमपात र वर्षा भइरहेको छ । जिल्लाको तापक्रम सबैभन्दा कम मापन गरिएको छ । दोलखाको जिरी, शैलुङ,कालिन्चोक,खावा लगायतका ठाउँमा यो समयमा परेको हिमपातका कारण किसान खुशी देखिएका छन् । माथिल्लो क्षेत्रमा आलू रोप्ने समय सुरु भएकाले पुसमा हुने हिमपात र वर्षाले जमिनलाई चिसो पार्ने हुँदा किसान उत्साहित भएका हुन् ।
उच्च पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुनका साथै विद्यालयहरू समेत बन्द भएका छन् ।

त्यसैगरी दोलखाको खरीढुङ्गामा पनि हिमपात भैरहेको स्थानीय जीतबहादुर श्रेष्ठले बताए । लगातारको हिमपातको कारण काठमाडौँबाट दोलखाको विभिन्न ठाउँको लागि आएका बस लगायतका सवारी साधनहरू रोकिएको श्रेष्ठले बताए । हिमपातले माटो राम्रो हुने र आलु खेती फस्टाउने भएकोले खरीढुङ्गाका किसानहरू चिसोले कष्ट बेहोर्नु परेपनि खुसी भएका छन् ।

लगातारको हिमपातको कारण खरीढुङ्गामा रहेको सुर्के मावि खरीढुङ्गा, बुद्ध प्रावि झाक्रिचौर र कालीदेवी प्रावि झिगाने बन्द रहेको सुर्के मावि खरीढुङ्गाका प्रधानाध्यापक जय श्रेष्ठले बताए ।

हिमपातका कारण खरीढुङ्गामा रोकिएका यातायात सुचारु गर्न पहल भै रहेको दोलखाका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । ‘अहिले हिमपात भै रहेको छ, मौसममा केही सुधार भएपछि सडकमा जमेको हिउँ फालेर यातायात सुचारु गरिने छ ।’ प्रहरी नायव उपरीक्षक रिजालले भने ।

लगातारको हिमपातको कारण शैलुङ क्षेत्रमा पर्ने ढुङ्गे, झोर मनगाँउ, पात्ले, खोलाखर्क आसपासका विद्यालयहरु बन्द रहेको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 780 times, 1 visits today)

epaper

ताजा समाचार

स्याङजामा यात्रुवाहक जिप दुर्घटना