कोभिड–१९ को नयाँ उत्परिवर्तित भेरियन्ट ओमिक्रोनले नेपालमा तेस्रो लहर ल्याउन सक्ने आशंका गर्न थालिएको छ । यसका लागि यो भेरियन्ट फैलिनुपूर्व नै उच्च सतर्कता अपनाउनुपर्ने सुझावसहित स्वास्थ्य निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन पनि गरिसकेको छ । तेस्रो लहरको जोखिम न्यूनीकरण गर्न आमसर्वसाधारण जनताले पनि सोहीअनुसार आवश्यक सचेतता अपनाउन जरुरी छ ।
अहिले नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेपछिको अवस्थामा यो भेरियन्टको आक्रामक र संक्रामक चरित्रलाई लिएर सरकारी निकायले सावधानी अपनाउन बेलैमा सचेत गराउनु आफंैमा सतर्कताका लागि सकारात्मक प्रयत्न पनि हो । त्यसो त चिसो मौसममा कोभिड–१९ ले महामारीको रूप लिने गरेको विगतका अनुभव हामी सबैलाई छ । यो भेरियन्टको लक्षण देखिँदा सामान्य रुघाखोकीझैं देखिए पनि यसले गर्ने असर भने असामान्य रहेको छ । यसैलाई लिएर अमेरिका तथा युरोपीय देशहरूमा स्वास्थ्य इमर्जेन्सी तथा लकडाउनका प्रक्रिया अहिले पनि प्रयोगमा छन् । उनीहरूले आन्तरिक तथा बाह्य उडानका साथै देशभित्रको आवतजावतमा पनि निकै कडाइ गरिरहेका छन् । यसबाट बुझ्न सकिन्छ, रोग लागेपछि निको पार्नुभन्दा रोग लाग्नुपूर्व नै सावधानी अपनाउनु सबैभन्दा राम्रो तरिका हो । विश्व स्वास्थ्य संगठनले पनि लापरबाही गरिएमा यसको ठूलो मूल्य चुकाउनुपर्ने भनी विश्वभरका मानिसलाई चेतावनी दिइरहेको छ ।
हालसम्म लगाइएका खोप बुस्टर डोजका रूपमा प्रयोग गरिएमा वा नियमित रूपमा लिँदै गरेका खोपको मात्रा लिएमा पनि यसको संक्रमणबाट बच्न सघाउ पुग्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । हरेक देशका कार्यकारी निकायका रूपमा रहेका सरकारलाई यो संगठनले घचघच्याइरहेको छ । आ आफ्नो देशमा उत्पादित खोप विश्वभरका जनतामाझ समान रूपमा वितरण गर्न नसकिरहेका बखत ओमिक्रोनजस्ता नयाँ भेरियन्ट विकास हुँदै आउने भएकाले पनि खोपको विश्वव्यापी वितरणमा विश्वस्वास्थ्य संगठनले जोड दिएको छ । नेपाल पनि यस्ता देशहरूमा पर्छ, जहाँका जनताले समान रूपमा खोप पाउन सकेका छैनन् । खोप लिएका मानिसहरूको संख्या निकै कम भएकाले पनि ओमिक्रोन नेपालमा भयानक लहर लिएर आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । हिउँदको जाडो मौसम सुरु हुनु, ओमिक्रोनको संक्रमण छिटफुट रूपमा देखा पर्न थाल्नु र खोप लगाउने अभियान रोकिन जानुले ओमिक्रोनको संक्रमण कतै तेस्रो लहर लिएर भित्रिने त होइन भन्ने आशंकालाई बलियो ठाउँ दिन पुगेको छ । हाल सरकारले शीघ्र उपचार पहुँचका लागि ‘¥यापिड एक्सन प्लान’तयार पारेको भने पनि त्यसको सशक्त कार्यान्वयन हुन नसक्नु दुःखद भएको छ ।
देशमा ओमिक्रोन महामारी देखिइसकेको छ । यसको प्रवेश भनेको यसले लिन सक्ने आक्रामक र संक्रामकताको संकेत हो । त्यसैले आमजनताले सही किसिमले मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हातधुने तथा भिडभाड नगर्ने कुरामा संयमता र नियमितता अपनाउनुपर्छ । सीमा इलाकामा होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गरिनुपर्छ । संघीयदेखि प्रादेशिक हुँदै स्थानीय सरकारसम्मले आफ्नो स्थानमा क्वारेन्टाइन, आइसोलेसन र अस्पताल तथा नर्सिङ होममा कोभिड वार्डको व्यवस्था गर्न गराउन समयमै ध्यान दिनुपर्छ । बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था र आवश्यक बेड तथा उपचार तथा परीक्षण कक्षको व्यवस्था गरिनु पनि जरुरी छ । कुनै पनि महामारी आफू एक्लै नआएर यसले आफूसँग अन्य विपत्ति लिएर आउँछ भन्ने कुरालाई बेलैमा ख्याल गरिनुपर्छ ।






