देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।

इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो ।

सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ ?,’ महामन्त्री थापाले बैठकमा भने ।

बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्तार गर्दासम्म पनि सभापतिले पार्टीभित्र छलफल नगरेको बताएका हुन् । बैठकमा महामन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन अन्य दलसँग गठबन्धन गरिए पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै भिड्ने अवस्थामा रहेकोसमेत बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुपर्छ, हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ, त्यो ताकत हामीसँग छ,’ महामन्त्री थापाले बैठकमा धारणा राख्दै भने । नेता अर्जुननरसिंह केसीले सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्दा अर्थात् कार्यकालको सुरुवात नै विधानविपरीत मनोमानी गरेको बताए ।

‘विधान, विधि र पद्धतिअनुसार चले सभापतिलाई सघाउन तयार छौं तर उहाँको गति त्यस्तो देखिएन । अब कांग्रेसभित्र वैचारिक आन्दोलन हुन्छ,’ केसीले भने । उनले पार्टीलाई विधि र विधानअनुसार चलाउने तथा पार्टीभित्र एकता सहमति र सहअस्तित्वलाई स्वीकारेर अघि बढे सभापतिलाई सहयोग गर्ने नभए संघर्ष पनि सँगै अघि बढ्ने स्पष्ट पारे ।

१४औं महाधिवेशनपछि सभापति देउवाले दुई चरणमा १३ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्दा विधि पद्धति मिचेको उनले भनेका हुन् ।

केन्द्रीय सदस्य मनोनीत गर्ने आधार के ? : डा शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा केन्द्रीय सदस्य मनोनीत गर्ने आधार के हो ? भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । बुधबार एक अपिल जारी गर्दै कोइरालाले कुन मापदण्ड र आधारबाट केन्द्रीय समितिमा केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै सभापतिलाई प्रश्न गरेका हुन् ।

‘नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं,’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले महाधिवेशनबाट निर्वाचित भएपछि दुईपटक गरी १३ जना केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् । उनले मनोनीत गरेकाहरू महाधिवेशनमा सबै आफूलाई सघाउने र धेरैजसो आफ्नातर्फबाट र आफूलाई समर्थन गर्ने समूहका तर्फबाट पराजितहरू मात्र छन् । डा. कोइराला पक्षबाट पदाधिकारीमा हारेकाहरूलाई भने देउवाले मनोनीत गरेका छैनन् ।

नेता डा. कोइराला जारी गरेको अपिलमा सभापतिलाई मनपर्ने र नपर्नेका रूपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताएका हुन् ।

‘सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ, विधि र विधानबाहिर गएर गरिने सबै काम बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’ उनले प्रश्न गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 550 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !