काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ को मंसिरसम्मको बितेका पाँच महिनाको अवधिमा आर्थिक सहायताको नाममा राज्यको ढुकुटीबाट ३ करोड रुपैयाँ वितरण गरेको छ । सरकारले सो रकम मुलुकका उच्च पदस्थ व्यक्तिको उपचार खर्च, आर्थिक सहायताका साथै सर्वसाधारणलाई पनि उपचार खर्च र आर्थिक सहायतका नाममा खर्च गरेको हो । उच्च पहुँचका आधारमा उनीहरूलाई सो रकम वितरण गरिएको हो ।
पहुँचका आधारमा आर्थिक सहयोग लिनेहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री प्रदीप नेपाल, पूर्वराष्ट्रपति डा. रामवरण यादवलगायतका उच्चपदस्थ व्यक्तिसम्म रहेका छन् ।
अर्थ मन्त्रालयले रकमान्तर गरी गृहलगायतका मन्त्रालयबाट विभिन्न व्यक्तिलाई सरकारले आर्थिक सहायता रकम बाँडेको हो । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा राज्यकोषबाट आर्थिक सहयोग लिने उच्च पदस्थ व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी ४८ लाख ५० हजार रुपैयाँ लिएका छन् । उनले दिल्लीस्थित एपोलो अस्पतालमा गरेको उपचार खर्चका लागि राज्यकोषबाट सो रकम सहयोग लिएका हुन् ।
यसैगरी, सो अवधिमा सरकारले रघुजी पन्तसमेत तीन जनालाई २७ लाख रुपैयाँ, प्रदीप नेपालसहित तीन जनालाई ३२ लाख रुपैयाँ र पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको अर्थ मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
सो प्रतिवेदनमा उल्लेख भएअनुसार रुकम छायानाथ रारा नगरपालिका १० का राजबहादुर शाही र गुठीचौर–३ का पदमबहादुर बुढाको परिवारलाई ७ लाख रुपैयाँ, विराटनगरका जीवनकुमार राईलाई ३ लाख, काठमाडौं १५ निवासी प्रदीप नेपाल र मैया भुजेललाई १४ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन रकमान्तर गरी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार कलाकार जेवी टुहुरेको औषधोपचारबापत उनकी छोरी निर्भीका टुहुरेलाई ८ लाख ३० हजार रुपैयाँ राज्यकोषबाट भुक्तानी दिइएको छ । बागमती प्रदेशका सांसद यादवचन्द्र शर्माको उपचार र कुरुवा खर्चबापत १ लाख २९ हजार ६ सय २५ रुपैयाँ सहयोग गरिएको छ ।
यसैगरी, गुरुमा धम्मासतीको उपचार गर्न भनेर सरकारले ४६ हजार ८ सय २३ रुपैयाँ दिएको छ । सोही अवधिमा एक जना सरकारी कर्मचारी खरिदार रीना लामालाई आर्थिक सहायताबापत ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
चालू आवको बितेका पाँच महिनाको अवधिमा सरकारले राज्यकोषबाट रामबहादुर साउँदसमेत १२ जनालाई ५९ लाख ९ हजार १ सय ५ रुपैयाँ, मोतीपुर घटनाका २४ जना घाइतेको उपचारका लागि ११ लाख ३० हजार ४ सय ४४ रुपैयाँ, कुमार खड्कासमेत ३ जनालाई १४ लाख रुपैयाँ, घन कटवालसमेत दुई जनालाई १० लाख रुपैयाँ, ज्ञानबहादुर रोकायासमेत दुई जनालाई ८ लाख रुपैयाँ र नानीबाबु खड्कालाई ५ लाख रुपैयाँ आर्थिक सहयोगका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मोतीपुर घटनाका मृतक वीरेन्द्रप्रसाद कुर्मी, रमेश परियार, युजल कुमाल र केशनारायण केवटका परिवारलाई किरिया खर्च र क्षतिपूर्तिस्वरूप २२ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विभिन्न समयमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सो आर्थिक सहयोग भुक्तानीका लागि अर्थ मन्त्रालयले गृहलगायतका विभिन्न मन्त्रालय र स्थानीय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको अर्थ मन्त्रालयले जनाएको छ ।