उच्च सतर्कता र खोप नै एक मात्र विकल्प

एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमणको तेस्रो लहर आइसकेको संकेत मिलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा यसको पुष्टि गरेपछि अबका दिन केही बढी नै संक्रामक हुने देखिएको छ । देशभर गरिएको दुइखाले परीक्षणबाट यो परिणाम देखिएको हो । पीसीआर परीक्षणमार्फत कुल ८ हजार ९ सय ६५ जनाको परीक्षण गर्दा १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि हुनु र कुल २ हजार ४ सय ६४ जनामा एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण भेटिनु भनेको संक्रमण अनुपात ह्वात्तै वृद्धि हुनु हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मात्र मृत्यु भएको तथ्यलाई पछ्याउँदा भने यो भेरियन्ट जत्तिको संक्रामक रहेको छ, त्यतिकै मात्रामा हानिकारक नरहेको पुष्टि भने हुन आएको छ । संक्रमण सँगसँगै हाल देशभर बिरामीको संख्या पनि बढ्दै गइरहेकाले उपचारका लागि समस्या पनि थपिने देखिएको छ । हालैका दिनमा गणना गरिएका सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ जना रहनु महामारी संक्रमणको विस्तारको तथ्यांक हो ।

हाल यो संख्यामा अधिकांश होम आइसोलेसनमा रहेको अवस्था भए पनि उनीहरू गम्भीर बन्न गएमा अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्ने देखिएको छ । हाल केही गम्भीर बिरामी मात्र संस्थागत आइसोलेसनमा राखिएका छन् । सरकारी तथ्यांकअनुसार ६ सय १० जना संस्थागत आइसोलेसनमा रहेका, ६७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा उपचारमा रहेको देखिएका छन् । तुलनात्मक रूपमा संक्रमितको संख्या बढी र गम्भीर बिरामीको संख्या कम देखिए पनि अबका दिनमा बालबालिकामा नयाँ संक्रमण लहरझैं फैलन थालिसकेको छ । अहिले १० वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण व्यापक हुन थालिसकेको छ । यो संक्रमणले ११ देखि २० वर्ष उमेर समूहका किशोरकिशोरीमा बढी संक्रामक असर पारिरहेको छ । बाक्लो जनसंख्या हुनु र देशका ७७ वटै जिल्लाबाट आवतजावत भइरहनुका कारणले राजधानी सहर काठमाडौं अहिले सबैभन्दा धेरै संक्रमणको चपेटामा परिरहेको छ ।

राजधानीमा आएका मानिस देशका सबै जिल्लामा छरिएर जाने भएकाले पनि काठमाडौंमा फैलिएको संक्रमणले सजिलैगरी देशव्यापी संक्रमणको रूप लिन सक्ने सम्भावना बढेर गएको छ । पछिल्लो समयमा हरेक जिल्लामा संक्रमितको अनुपातलाई हेर्दा यो क्रमशः बढेर गइरहेको छ । हाल मोरङ, कास्की, चितवन र रूपन्देही अरू जिल्लाभन्दा अग्रभागमा देखिएका छन् । यी जिल्लाहरूमा हाल संक्रमित बिरामीको संख्या गुणात्मक रूपमा बढेर जान थालिसकेको छ । सीमा क्षेत्रमा निर्वाध रूपमा आवागमन हुँदा पनि समस्या झनै बढेर गएको हो । स्थानीय तह तथा केन्द्रीय सरकारले समन्वयात्मक रूपमा सीमा क्षेत्रमा हुने आवागमनमा कडाइ गर्नुपर्छ । यस्तो बेलामा देशमा भित्रिएको खोपको समान वितरण हुनु जरुरी छ । साथै, आमजनताले सही किसिमले मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, सेनिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने तथा भिडभाड नगर्ने कुरामा संयमता र नियमितता अपनाउनु जरुरी छ । यसका साथै, नेपाल–भारत सीमा इलाकामा होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गरिनुका साथै संघीयदेखि प्रादेशिक तथा स्थानीय सरकारसम्मले आआफ्ना क्वारेन्टाइन, आइसोलेसन निर्माणसँगै सम्बन्धित निकाय मातहतमा रहेका अस्पताल तथा नर्सिङ होमहरूमा कोभिड वार्डको व्यवस्था गर्न-गराउन समयमै ध्यान पु-याउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुराका तीनै धाममा यस वर्ष १० हजार बढी तीर्थ यात्री सहभागी

कुरी-कुरी