गच्छदारलाई भ्रष्टचार मुद्दा लाग्दा प्रतिनिधिसभा अवरुद्ध


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा चल्दा बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । ललिता निवास जग्गा प्रकरणमा उनीमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै कांग्रेसका सांसदहरूले सदन अवरुद्ध गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललिता निवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तत्कालीन प्रधानमन्त्रीलाई छुट दिएर प्रतिपक्ष भएकै कारणले उनलाई मुद्दा चालाइएको कांग्रेस सांसद पुष्पा भुसालले बताइन् ।


प्रतिनिधिसभाको बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख अग्नी सापकोटाले भुसाललाई धारणा राख्न समय दिएका थिए । उनले आफ्नो दलको उपनेतालाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको बताउँदै सदन सुचारु गर्न नदिने बताएकी थिइन् ।
कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी भुसालले संवैधानिक निकायलेसमेत सरकारको निर्देशनमा काम गरेकोमा आशंका व्यक्त गरिन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छाया बनेको पुष्टि भएको छ,’ उनले भनिन्, ‘यो नीतिगत निर्णयलाई आधार बनाएर आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसको निर्णयकर्ता भौतिक योजनामन्त्री गच्छदार जग्गा वितरण गर्ने, लालपूर्जा दिने अधिकार लिएर गएको हो वा प्रधानमन्त्रीको नेतृत्वमा निर्णय भएको हो ?’
उनले विभिन्न प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय हुने संसदीय अभ्यास रहेको भन्दै मन्त्री भएकै कारण गच्छदारलाई मुद्दा चलाएर अरूलाई उन्मुक्ति दिइएकामा खेद व्यक्त गरिन् ।


‘माधवकुमार नेपाल प्रधानमन्त्री र उहाँको मन्त्रिमण्डलमा गच्छदार भौतिक योजनामन्त्री हुनुहुन्थ्यो । प्रक्रिया पु¥याएरै त्यसबेला नीतिगत निर्णय भएको होला । प्रक्रिया नपुगेको भए वा प्रधानमन्त्रीले नचाहेको भए मन्त्रिपरिषद्मा प्रस्ताव थन्किएर बस्छ,’ भुसालले भनिन्, ‘प्रधानमन्त्रीको स्वीकृतिबिना मन्त्रीले लगेको प्रस्ताव कसरी पारित हुन्छ ?’ सरकारले संवैधानिक आयोगलाई नियन्त्रणमा लिएर अधिनायकवादी शैलीबाट शासन अघि बढाउन खोजेको भुसालको तर्क छ । ‘सरकारले अधिनायकवादी शैलीबाट शासन अघि बढाउन खोजेको हो । संवैधानिक आयोग नियन्त्रणमा राख्ने ?,’ उनले भनिन्, ‘सरकारको प्रभावमा आएर अख्तियारले पनि कसैलाई काखा र कसैलाई पाखा लगाउने ?’
‘प्रधानमन्त्रीले चाहनुभएन र मुख्य सचिवलाई निर्देशन दिनुभएन भने फाइल थन्किएर बस्छन्,’ सचेतक भुसालले भनिन्, ‘प्रधानमन्त्री र मुख्य सचिवको स्वीकृतिबिना प्रस्तावले प्रवेश नै पाउँदैन भने तत्कालीन भौतिक योजनामन्त्री प्रस्ताव लैजानासाथ पास हुनुपर्छ भन्ने नियम छ र ? छैन ।’
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा रहेको जग्गा फिर्ता गर्ने नाममा उनीहरूलाई उन्मुक्ति दिने अख्तियारको निर्णयप्रति पनि कांग्रेसले प्रश्न उठाएको छ । ‘जग्गा फिर्ता गर्ने नाममा छोड्न मिल्ने हाम्रो कानुनले भन्छ ?’ भुसालले भनिन्, ‘विभेदकारी ढंगबाट लगाइएको मुद्दा स्वीकार गर्न सकिँदैन । हामी सदन अवरूद्ध पार्छौं ।’


सभामुख सापकोटाले विपक्षी सांसद उभिएर संसद् अवरोध गरेको भन्दै बैठक शुक्रबार १ बजे बस्ने गरी स्थगित गरे ।
कांग्रेसले प्रतिनिधिसभा र राष्टिय सभा दुवै सदनमा अवरोध गर्ने जनाइए पनि राष्ट्रिय सभामा कांग्रेस सांसदले अभिव्यक्तिमार्फत विरोध जनाए । राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद बद्री पाण्डेले भादभावपूर्ण तवरले गच्छदारमाथि मुद्दा चलाइएको बताए । उनले ललिता निवास जग्गा प्रकरणमा कांग्रेसले पहिलेदेखि नै छानबिन माग गरिरहेको प्रसंग निकालेर बुधबार अख्तियारले भेदभावपूर्ण तवरले गच्छदारमाथि मुद्दा लगाएको आरोप लगाए ।


अख्तियारको कदम स्वागतयोग्य : नेकपा


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय स्वागतयोग्य भएको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सत्तारुढ दलका सांसदले अख्तियारको निर्णयले भ्रष्टाचार गर्नेविरुद्ध कारबाही हुन्छ भन्ने सन्देश गएको बताएका हुन् ।
नेकपा सांसद बलराम बाँस्कोटाले अख्तियारको निर्णयले आमजनमानसमा भ्रष्टाचारविरुद्ध अब केही हुन्छ कि भन्ने आशा सञ्चार गरेको बताए । उनले भने, ‘हाई प्रोफाइल भ्रष्टाचार काण्डका रूपमा चर्चित यो काण्ड अझ बढी दबाबरहित, स्वतन्त्र निष्पक्ष रूपमा छानबिन गर्न माग गर्दछु ।’ राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले भ्रष्टाचारविरुद्ध कारबाही चलाउने अख्तियारको निर्णयको स्वागत गर्नुपर्ने बताए । सत्तारूढ दलका वरिष्ठ नेता माधवकुमार नेपाल, महाचिव विष्णु पौडेललगायतविरुद्ध मुद्दा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर हुनु बदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए