स्वस्थानीको सामाजिक भ्रम र यथार्थ

अहिले नेपाली समाजमा श्रीस्वस्थानीको व्रत चलिरहेको छ । यस व्रतमा कतिले त महिना दिनभरि नै स्वस्थानी व्रत विधिअनुसार एक छाक खाएर मध्याह्नकालमा श्रीमहादेव र स्वस्थानी परमेश्वरीको पूजा गरी व्रत बसिरहेका छन् भने कतिले बिहान वा बेलुकी स्वस्थानीको कथा भनेर र सुनेर परम्परालाई निरन्तरता दिइरहेका छन् । फलतः विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा स्वस्थानीको विशेष पूजा आराधना गर्दै छन् । स्वस्थानी व्रत चलिरहँदा समाजमा विभिन्न किसिमका तर्कवितर्क चलिरहेका छन् । मूलतः स्वस्थानी व्रतले महिला हिंसालाई प्रश्रय दियो, पुरुषवादी सोचले लेखिएको कथा किन अहिलेका महिलाले किन पढ्ने ? पुरुषवादी सोचको व्रतलाई किन निरन्तरता दिने ? लगायतका प्रश्न उठेका छन् । व्रत स्वस्थानीको भन्ने गरिए पनि महिनाभरि महादेवको पूजा गर्ने गरेको अर्थात् महिलाको नामको व्रत भए पनि पुरुषकै पूजा भएको एकथरीको भनाइ छ । आफूलाई आधुनिक देखाउन विभिन्न प्रसंग उठाएर तर्क गरे पनि सनातन हिन्दू धर्ममा महिला र पुरुषलाई बराबर मान्यता दिइएको बुझिन्छ ।

माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिलाहरूले पौष शुल्क पूर्णिमाको दिन बिहानै हात खुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत सुरुवात गर्न् । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एक छाक चोखो खाई १ सय ८ पान, १ सय ८ कुड्का सुपारीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ ।

स्थानच्युत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ

व्रत समाप्तिको दिन ती रोटी, पान सुपारी आफ्ना श्रीमान्लाई, श्रीमान नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ । स्वस्थानीको व्रत बस्नाले सुख शान्ति समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लागेको छ । ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्ने गर्छ ।

स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीहरूको घरघरमा गरिन्छ । नेपाल बाहिर गएका प्रत्येक नेपालीले पनि एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वका रूपमा मनाइने स्वस्थानी व्रतकथा हो । यो नेपालमा स्वस्थानी भगवनीको पूजाको ठूलो महत्व छ । अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउन स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ । स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ । स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन दुई÷दुई अध्याय भनेर पनि सक्नुपर्छ ।

यद्यपि, माघस्नानको नियम र महत्व छिमेकी देश भारतमा पनि देखिन्छ । किन्तु स्वस्थानी भगवतीको पूजा नेपालीहरूको आफ्नो विशेषता हो । धर्मप्राण नेपालीहरूमा स्वस्थानीको कथाले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ । स्वस्थानी व्रतको कथामा शिव शर्मा र ब्राह्मण र उनकी ब्राह्मणी सती नामकीलाई कुनै सन्तान नहुँदा दुःखी भएकोमा उनको पुण्यले गर्दा त्यहाँ आइपुगेकी यौटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले र ठूली भएपछि सन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ८० वर्षको बूढो तेरो पति होस् भन्ने श्राप पाइन् । त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह¥यो । वृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् ।

विधिपूर्वक व्रत बस्ने वा नबस्नेले पनि माघशुक्ल पूर्णिमामा स्वस्थानीको विशेष पूजा आराधना गर्दै छन्

गोमाले छोरो पाइन् र उनको छोराको नाम नवराज राखियो । छोरा ठूलो भएपछि मेरो पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त वताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरेर फर्के । उता गोमाले ऋषिहरूको उपदेशले स्वस्थानी भगवतीको मेरो छोरो चाँडै फर्कोस् भनेर पूजा व्रत गरिन् । नवराजले पनि भगवान् शिवको स्तुति गरेर राज्य पाउने वरदान पाए । घर फर्केर आएपछि पूर्वविवाह गरिएकी पत्नीलाई आमा छोडेर कमाउन भनी गएका नवराजले लावण्यपुरीको राज्य त्यस देशको हात्तीले फूलमाला लगाइदिएकाले राज्य पाउने नियमले पाए । आमालाई बोलाए । नवराजले अर्को विवाह गरे । उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन् ।

बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले कुष्ठी भएर भुइँमा खसेर बसिन् । पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन् । यो कथामा स्वस्थानी भगवतीको वर प्रसादले नवराजकी प्रथम पत्नीले पनि पहिला भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी थिइन् र पछि उनै भागवतीको व्रत र पूजाले पुनः स्वस्थान आफ्नो स्थान पाइन् । त्यसो हुँदा स्थान च्युत व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ । स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो । यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्य गर्न छोड्न हुन्न ।

समग्रमा भन्नुपर्दा नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ । जसका कारण घरघरमा स्वस्थानी माताको विधिपूर्वक पूजा आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत एवं पूजा गर्ने परम्परा रहिआएको छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने स्वस्थानी माहात्म्यको पूर्व भागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गर्नुभएको प्रसंग आएको छ भने मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिका रूपमा प्राप्त गरेको प्रसंग आएको छ ।

स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्दावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । साथै काम र उमेरले पाका भएको व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गर्नुपर्छ, अनि मात्र स्वस्थ समाज बन्ने कुराको अनुभूतिजस्ता दृष्टान्त दिन खोजेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 444 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु