उसै बखतको कुरा हो, कार्ल माक्र्सको साम्यवाद र गान्धीको सर्वोदयबीचको तुलनात्मक अध्ययन गर्ने मानिसहरूले भनेछन्, गान्धीवाद र माक्र्सवाद एउटै वाद हो । भिन्नता फगत यत्ति हो कि गान्धीले माक्र्सवादबाट हिंसालाई झिकिदिए । जब गान्धीले यो टिप्पणी’bout थाहा पाए, उनले भनेका थिए, ‘मैले जे भनेको या लेखेको छु, त्यो कार्ल माक्र्सबाट प्रभावित भएर होइन । मैले त ईशोपनिषद्बाट प्रभावित भएर मेरो विचार व्यक्त गरेको हुँ ।’ ‘ईशावास्यं इदं सर्वं यत्किंच जगात्याम् जगत् । तेन त्यक्तेन भुंजीथा मा गृधःकस्यस्विद्धनम्’ अर्थात् यो जगत ईश्वरको बासस्थान हो । यहाँ जो जे छ त्यसको त्याग गरेर आनन्द लेऊ । धन र सम्पदाप्रति आसक्त नहोऊ । अर्को अर्थमा यो संसारमा जति पनि उपभोग्य सामग्री छन् । ती आवश्यकताअनुरूप भोग गर्न मात्र हुन् । कुनै कुरालाई आफ्नो स्वामित्वमा ल्याउने चेष्टा गर्नुहुँदैन ।
गान्धी सत्य, अहिंसा, त्याग र सहनशीलताका पक्षपाती थिए । सत्ता र शक्तिले लादेको विभेद र अन्यायविरुद्ध लड्ने उपायका रूपमा गान्धीले सविनय अवज्ञाको आविष्कार गरे । एउटा हिंसाको प्रतिकार गर्न अर्को हिंसा अपानाउने हो भने हिंसाको शृंखलाको अन्त्य कहिल्यै हुँदैन । अन्याय गर्नेको कठोर हृदयलाई सत्याग्रहरूपी शालीन विद्रोहको माध्यमबाट परिवर्तन गराउनुपर्छ भन्ने गान्धीको आधारभूत अभिमत हो । उनको भनाइ थियो, जब दुई जोर जुत्ता नै काफी छ भने दस जोर जुत्ताको के काम ? प्रकृतिले मनुष्यको आवश्यकताको परिपूर्ति गर्न सक्छ, किन्तु आशक्तिको परिपूर्ति गर्न सक्दैन । उनी सदाचारमा आधारित नैतिक समाजवाद चाहन्थे ।
तर युगानुयुगदेखि शोषण र वञ्चनाको मारमा परेको, सबैथोक गुमाएको र अत्यन्तै चित्त दुखाएको मानव समुदायका लागि कार्ल माक्र्सको आह्वान आकर्षक थियो । उनीहरूको छातीभरि विद्रोहको आगो बल्थ्यो तर त्यसको उपचार कतै थिएन । माक्र्सले अकिन्चन र दरिद्रहरूको सुतिरहेको अन्तरात्माको चेतना जगाइदिए । माक्र्सले असंख्य दलित र प्रताडितको पीडामय घाउको अनावरण गरिदिए । उनले पीडितहरूको अविरल दुःख निवारणको बाटो देखाइदिए । शोषण तथा बहिष्करणमा परेका र प्रत्येक साधन एवं सम्पदा खोसिएका सर्वहारालाई गान्धीको सत्याग्रहभन्दा माक्र्सको हिंसात्मक आन्दोलनको आह्वान आकर्षक लाग्नु स्वाभाविक थियो । उनीहरूले सोचे होलान्, उनीहरूलाई सताउनेले कौनसा सत्य र सदाचार अपनाएको थियो र उनीहरूले सो अपनाउने ? कुन ईश्वरले उनीहरूको दारुण क्रन्दन सुन्यो ? पैतालामा गडेको काँडो निकाल्न काँडो नै प्रयोग गर्नुपर्छ ।
सत्ता र शक्तिले लादेको विभेद र अन्यायविरुद्ध लड्ने उपायका रूपमा गान्धीले सविनय अवज्ञाको आविष्कार गरे
एकपल्ट राजा महेन्द्रले बीपीलाई सोधेछन्, ‘तपाईंको महत्वाकांक्षा के छ ?’ बीपीले उत्तर दिए ‘तीनपल्ट चुनाव जितें भने १५ वर्षभित्र म सबै नेपालीलाई मजस्तै मध्यम परिवारको बनाउन सक्छु ।’ बीपी कोइराला भन्ने गर्थे, ‘राजाको तस्बिरसँगै किसानको तस्बिरसमेत झुन्ड्याउनुपर्छ ।’ यो कथनभित्र ठूलो दर्शन लुकेको छ । किसान एक बिम्ब मात्र हो । यसले किसान, मजदुर, पहाडी, मधेसी, हिमाली र सर्वोपरि रूपमा सर्वसाधारण नेपालीको प्रतिनिधित्व गर्छ । राजा र किसानको तस्बिर सँगसँगै राख्नुको तात्पर्य हो, राजादेखि रंकसम्म सबैलाई यो देशमा प्रतिष्ठित र गरिमामय जीवन जिउने हक छ । जनता छ र न राजा छ । परन्तु, राजा महेन्द्रले सम्यक तरिकाले बीपीको भावनाको विश्लेषण गर्न सकेनन् । उनलाई राजा र प्रजा एउटै पंक्तिमा रहन सक्छन् र रहनुपर्छ भन्ने कुरा महसुस नै भएन । दुर्भाग्यवश महेन्द्रले सर्वसत्तावादको मार्गलाई रोजे ।
प्रथम जननिर्वाचित सरकारको दुर्भाग्यपूर्ण अवसान न्यायकामी नेपाली जनताको शिरमाथि प्रहार गरिएको निर्मम बज्र थियो । पञ्चायतको समयमा बीपीको आफू तथा राजाको घाँटी जोडिएको र आइपरेको खण्डमा ‘मेरो घाँटीमाथि र राजाको घाँटी तल’ भन्ने अभिव्यक्तिलाई राजा र पञ्च मिलेर खिसी गरे । राजा र किसानको तस्बिर एकै ठाउँ राख्नुपर्छ भन्ने उद्गारको मर्म नबुझेका उनीहरूले त्यसको धज्जी उडाए । बीपी र राजा मिले भने आफ्नो अस्तित्व नामेट हुन्छ भन्ने बुझेका पञ्चहरू राजा र बीपीलाई टाढा राख्न सफल भए । बीपीलाई प्रतिस्पर्धी मान्ने राजाले पनि प्रतिस्पर्धाहीन सर्वाधिकारसम्पन्न शासक हुनुमै आफ्नो कल्याण र सुख देखे । राजाहरूले अंगीकार गरेको अस्थायी प्रेममार्गले उनीहरूकै चिरकालसम्मको श्रेयमार्गमाथि कुठाराघात भयो । गण्डकीमा धेरै पानी बगेपछि बल्ल बचेखुचेका तिनै पूर्वपञ्चहरूले नेपाली कांग्रेसलाई उसले बिर्सिसकेको संवैधानिक राजतन्त्रको सिद्धान्त याद गराइरहेका छन् ।
बीपी कोइराला माक्र्स र गान्धी दुवैको नजिक देखिन्छन् । बीपीको मूल सिद्धान्त अहिंसा नै हो । तर, उनले आवश्यकताअनुसार हिंसात्मक आन्दोलनको सहारा पनि लिए । उनको गान्धीसँग व्यक्तिगत जानपहिचान थियो । बीपीप्रति गान्धीको सहानुभूतिपूर्ण सद्भाव पनि थियो । परन्तु, राजनीतिक झुकावको मामिलामा बीपी माक्र्सको नजिक थिए । बीपीलाई मन पर्ने विचारक पनि माक्र्स नै हुन् । तर, सायद माक्र्सबाट प्रतिपादित समाजवाद हुँदै साम्यवादमा पुग्ने बाटोप्रति बीपीको असहमति थियो । यसै कारण उनी सर्वहारा वर्गको अधिनायकत्वको पक्षपोषक बन्न सकेनन् । बीपी प्रजातान्त्रिक समाजवादका अग्रतम अनुयायी थिए ।
अनावश्यक र अन्यायपूर्ण तवरले सञ्चय गरिएको धन कि चोरले खान्छ, कि कुटुम्बले लुछाचुडी गरेर सोहोर्छ, कि राज्यले लिन्छ या समयक्रमा आफैं विनष्ट भएर जान्छ
सभ्यताको विकाससँगै मानव जातिमाथि हुन थालेको थिचोमिचोप्रति विभिन्न मनीषीहरूले आपत्ति जनाउन थालेका हुन् । उपनिषद्हरूमा मानवतावादका अनेकौं अनुकरणीय आह्वान छन् । तैत्तिरियोपनिषद् भन्दछ, ‘ॐ सहनाववतु ।
सह नौ भुनक्तु । सह वीर्यं करवाव है । तेजस्वी नावधीतमस्तु मा विद्विषाव है । ॐ शान्तिः शान्तिः शान्तिः ।’ अर्थात हे ईश्वर † हामी दुवैको रक्षा गर । हामी दुवैलाई साथसाथै पोषण गर ताकि हामी दुवै मिलेर दिव्य ऊर्जाका साथ काम गर्ने शक्ति प्राप्त गरौं । हाम्रो बुद्धि तेज होस् । हामी आपसमा ईष्र्या नगरौं । प्राचीन ग्रिसमा सुकरात सत्य, न्याय र सामाजिक एकजुटताको पक्षमा बोल्दै हिँड्थे । अरस्तुले सामान्य हित र अभिरुचिको वास्ता हुनुपर्ने कुरा बताउने गर्थे । पछिका जोन लक र रुसोजस्ता चिन्तकहरूले शान्ति, जीवनरक्षा र सर्वसाधारणको कल्याणको पक्षमा काम गरे । भिन्न विद्वान्का भिन्न मत भए तापनि सबैको ध्येय कल्याणकारी र विवेकी सरकार नै हो ।
महात्मा गान्धी बेलायती लेखक जोन रस्किनको ‘अन्टु दिस लास्ट’ पुस्तक पढेर अत्यन्तै मुग्ध भए । उनले त्यस किताबको ‘सर्वोदय’ शीर्षकमा गुजराती भाषामा अनुवाद गरेका थिए । पछि गएर गान्धीको राजनीतिक दर्शन सर्वोदयको नामले प्रसिद्ध भयो । सर्वोदयको अभिप्राय हो, सबैको उन्नयन र समृद्धि । सर्वोदयको अर्थ हो, संयम, शालीनता र सहकारिता । शोषणरहित समाज, समानता, सामाजिक नैतिकता, विवेकपूर्ण न्याय र सादाचारपूर्ण शासनपद्धति सर्वोदयका विशेषता हुन् । गान्धी साधनको शुद्धतामा जोड दिन्छन् । उनी सर्वहारा वर्गको अधिनायकत्वजस्तो बदला र हिंसामा आधारित शासनलाई गलत साधन मान्छन् । गान्धीको अभ्यन्तर अभिप्राय नै गलत साधन प्रयोग गरेर असल गन्तव्यमा पुग्नु असम्भव छ भन्ने हो । भविष्यको न्यायपूर्ण समाज स्थापनाका लागि कार्ल माक्र्स सत्ता परिवर्तनमा जोड दिन्छन् भने गान्धी हृदय परिवर्तनमा । सत्य, अनुशासन, त्याग, अनासक्ति, करुणा र क्षमा सर्वोदयका मूलभूत तत्व हुन् । गान्धी दर्शनको आधारभूमि मानवतावाद हो ।
गान्धी आहारा, यौन, धनार्जन, पारिवारिक रहनसहन र सामुदायिक क्रियाकलापलाई संयम र न्यायको आधारमा स्थापित भएको देख्न चाहन्थे । आफूलाई तोकिएको कर्तव्य पूरा नगरी पूरा पारिश्रमिक लिने कामलाई समाजको सम्पत्तिको चोरी मान्दथे उनी । धनका तीन गति हुन्छन्, ‘भोग, दान र विनाश ।’ गान्धीको अभिमतमा आवश्यकताअनुसारको भोग गरेर बाँकी रहेको धन समाजकल्याणको पक्षमा दान गर्नुपर्छ । अनावश्यक र अन्यायपूर्ण तवरले सञ्चय गरिएको धन कि चोरले खान्छ, कि कुटुम्बले लुछाचुडी गरेर सोहोर्छ, कि राज्यले लिन्छ या त समयक्रमा आफैं विनष्ट भएर जान्छ ।