परराष्ट्र मन्त्रालयका अनुसार नेपालसँग द्विपक्षीय सम्बन्ध स्थापित गरेको तर काठमाडौंमा राजदूतावास नभएका ५३ मुलुकले हाल आफ्नो दूतका रूपमा नेपालीलाई नियुक्त गरेका छन् । द्वैत सम्बन्ध भएका मुलुकले नेपालमै रहने गरी नियुक्त गरेका अवैतनिक दूतले राज्यको सेवा सुविधा पाउँदैनन् । सेवा सुविधा नपाउने भएकैले यस्ता विदेशी दूतलाई अवैतनिक दूत भनिएको हो । सिद्धान्त सम्बन्धित मुलुकले नियुक्तिका लागि सिफरिस गरेर पठाएपछि सो सिफारिस परराष्ट्र मन्त्रालये स्वीकृति गर्ने परिपाटी रहेको छ । यस’boutमा अन्य विस्तृत छानबिनै हुँदैन र अवैतनिक दूत बन्ने व्यक्तिलाई सम्बन्धित मुलुकले के आधारले दूतावासका लागि योग्य ठह¥यायो ? भन्ने कुरा पनि रहस्यमय नै हुन्छ ।
वास्तवमा विदेशका निम्ति सद्भावना दूत छनोट गर्ने, आफूले छानेकै व्यक्तिलाई सम्बन्धित मुलुकबाट सदर गराउने तथा नियुक्ति दिलाउनेजस्ता सबै कार्य अहिलेसम्म परराष्ट्रमन्त्रीबाटै हुँदै आएका छन् । यसैले विदेशी मुलुकको दूत बनेर आफ्नो सामाजिक हैसियत बढाउन खोज्नेले परराष्ट्र नेतृत्वलाई रिझाएरै यस्तो कूटनीतिक परिचय लिने गर्छन् । नेपालको सन्दर्भमा अवैतनिक दूतलाई सामान्यतः निलो प्लेटको कूटनीतिक गाडीसहित झन्डा फहराउन दिने सुविधा दिइन्छ । अन्य सुविधा दिने व्यवस्था छैन । अवैतनिक दूतलाई कुनै प्रशासनिक, कूटनीतिक वा कानुनी उन्मुक्ति पनि हुँदैन । यो केबल मानको खातिर मानको उपाधि मात्रै हो ।
जुन देशको दूत हो, त्यहाँबाट विदेशी पाहुना नेपाल प्रवेश गर्दा वा सो देशको मन्त्री आउँदा, आपदविपत् पर्दा, उनीहरू नेपालभित्रको एक स्थानबाट अर्को स्थानमा जाँदा वा आवश्यक पर्दा अवैतनिक दूतले प्रयोग गरेको निलो प्लेटको सम्बन्धित देशको झन्डावाला गाडी अवैतनिक दूतमार्फतै प्रयोग गराइन्छ । सम्बन्धित मुलुकको प्रतिनिधित्व गर्दै कुनै कार्यक्रममा सहभागी हुँदा प्रयोग गरिने निलो प्लेटको गाडी दुई देशबीचको आत्मीयताको प्रतीक पनि हो । तर, अवैतनिक दूतले त्यही गाडी उपत्यकाबाहिर लानुपरेमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्छ । परिचालन व्यवस्था यस्तो भए पनि हाम्रो सन्दर्भमा यस्ता मान्यता अवैतनिक दूतले पूर्ण रूपमा पालन गरेका छैनन् ।
पछिल्लो समयमा अवैतनिक दूतप्रतिको आकर्षण बढ्दो छ । अधिकांश व्यापारिक घरानाकै व्यक्तिहरू अवैतनिक दूतका निम्ति प्रतिस्पर्धामा उत्रँदै आएका छन् । नेताहरूले पनि उनीहरूलाई नै विश्वास गरी सिफारिस गर्छन् । अवैतनिक दूत बन्न योग्य व्यक्ति अरू कोही नभएरै व्यापारिक घरनाकालाई रोजिएको हो वा भएर पनि नेताका निम्ति त्यस्ता दक्ष व्यक्ति बढी प्रिय किन मानिँदैन भन्ने कुरो नेतासँग सम्बन्धित रहने विषय हो । तथापि, यस्तो हुनुमा केही रहस्य भने अवश्य छ, त्यो रहस्य पनि सिफारिसकर्ता र पद हत्याउने दुवै पक्षका निम्ति लाभप्रद हुन्छ । अन्य दक्ष र योग्य व्यक्तिबाट नेताका लागि यस्तै नाम प्राप्त हुन सक्दैन । अवैतनिक दूतमा व्यापारिक घरानाका मात्रै आटाउनुको मुख्य कारण पारस्परिक लाभ नै हो ।
यो नेतालाई लगाइएको अनर्गल आक्षेप होइन व्यावहारिक यथार्थताले पुष्टि गरेको तथ्य हो । यसका निम्ति हाल नेपालमा विश्वका विभिन्न ५३ देशका लागि नियुक्त भएका अवैतनिक वा महावाणिज्य दूतको विद्यमान अवस्था हेरौं । निम्न देशहरूको तर्फबाट निम्न व्यक्तिहरू अहिले अवैतनिक दूत वा महावाणिज्य दूतका रूपमा कार्यरत छन्, जो सबैले व्यापारिक घरनाकै प्रतिनिधित्व गर्छन् । अझै रहस्यमय कुरा के हो भने अवैतनिक दूतमा प्रायःजसो सबै प्रख्यात चौधरी ग्रुप, अग्रवाल घराना, वैद्य समूह, खेतान समूहदेखि विवादास्पद व्यापारीको नामले चिनिने व्यक्ति नै पर्छन् ।
नेपालमा विश्वका विभिन्न ५३ देशका लागि अवैतनिक वा महावाणिज्य दूतको व्यवस्था गर्ने संवैधानिक प्रावधान छ
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको परिवारकै दुई भाइ र तीन छोरासहितका पाँच सदस्य क्रमशः वसन्तकुमार चौधरी नेपालका लागि मोरक्कोका, अरुणकुमार चौधरी हंगेरीका विनोदका छोरा वरुण चौधरी नेपालका लागि कजाकस्तानका, अर्का छोरा राहुल माल्दिभ्सका र निर्वाण चौधरी सर्वियाका अवैतनिक दूत छन् । यसैगरी, होटल मरिअटका सञ्चालक तथा चिनी उद्योग उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल नेपालका लागि इक्वेडरका अवैतनिक दूत छन् ।
शंकर ग्रुपका साहिल अग्रवाल बोस्निया हर्जगोभिना, अशोककुमार अग्रवाल गुयना तथा सुमितकुमार अग्रवाल पेरुका अवैतनिक दूत हुन् । वैद्य समूहका प्रमुख सुरज वैद्य नेपालका लागि फिलिपिन्सका अवैतनिक दूत छन् भने करन वैद्य लात्भियाका तथा किरण वैद्य युक्रेनका अवैतनिक महावाणिज्य दूत हुन् । यस्तै, उद्योगपति राजेन्द्र खेतान पोर्चुगलका, प्रेमप्रकाश खेतान टर्कीका तथा व्यापारी अजेयराज सुमार्गी बेलारुसका तर्फबाट नेपालका लागि अवैतनिक दूतमा कार्यरत छन् ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष हरिभक्त शर्मा स्लोभेनियाका अवैतनिक दूत हुन् । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा पञ्चकन्या ग्रुपका सञ्चालक प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका अवैतनिक दूत छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल चेक रिपब्लिकका दूत हुन् ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका सञ्चालक चन्द्र ढकाल इन्डोनेसियाका, महासंघकै उपाध्यक्ष निदेश श्रेष्ठ माल्टाका मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ अस्ट्रिया, लोकमान्य गोल्छा पोल्यान्ड, पर्यटन व्यवसायी वसन्तराज मिश्र चिलीका अवैतानिक दूत हुन् । यस्तै, गोल्डस्टार जुत्ताका लगानीकर्ता अमिरप्रताप राणा कोस्टारिका, ज्योति ग्रुपका सञ्चालक पद्म ज्योति साइप्रसका तथा दुगढ समूहका नरेश दुगढ मेक्सिकोका अवैतनिक दूत छन् ।
यसैगरी, पर्यटन व्यवसायी विक्रम पाण्डे ग्रिसका लागि, अर्का पर्यटन व्यवसायी आङछिरिङ शेर्पा बेल्जियमका लागि अवैतनिक दूत नियुक्त भएका छन् । बुल्गेरियाका लागि भोलाविक्रम थापा, क्यानडाका लागि बुद्ध बस्न्यात, कोलम्बियाका लागि विनयमान श्रेष्ठ, डेनमार्कका लागि हरिधरेल, इन्डोनेसियाका लागि नवराज दाहाल, इथियोपियाका लागि राजेन्द्र गिरी, फिजीका लागि परेश शाक्य अवैतनिक दूत छन् । यस्तै, गरेर ५३ व्यक्ति विभिन्न मुलुकका अवैतनिक दूतमा कार्यरत छन् ।
अवैतनिक दूतले दुई देशबीचकै हितमा कार्य गर्दै आएका छन् कि व्यक्तिगत हितमा मात्र कार्य गरिरहेका छन् ? यो अवैतनिक दूतको सन्दर्भमा उब्जने महत्वपूर्ण सवाल हो । यसै क्रममा अवैतनिक दूतले वैधानिक कार्य मात्र गर्छन् कि अवैधानिक ? यो आमनागरिकको नजरमा देखिएको कौतुहलता हो । यसका निम्ति पछिल्लो एउटै दृश्य दृष्टान्त नै हेरौं ।
विगतमा मुलुक कोरोनाबाट आक्रान्त भएको बेला किर्गिस्थानका अवैतनिक दूत तथा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल ‘कूटनीतिक सुविधा र विशेषाधिकार’ दुरुपयोग गरी ज्वरो नाप्ने थर्मलगनको कालो बजारी नै गरेर चर्चित बनेका थिए । उनी निलो नम्बर प्लेटको २०९– एचसीसी १ गाडीमा रहेको ठूलो परिमाणको थर्मलगनसहित २०७६ चैत २५ मा काठमाडौंको नक्सालमा पक्राउ परेका थिए । सुलभ अग्रवालले ५ हजार पर्ने थर्मलगन १५ हजारसम्म लिई बिक्री गरेको अनुसन्धानले पुष्टि गरेको थियो । उनी धरौटीमा छुटेपछि अवैतनिक दूतबाट हटे । हालसम्म उनको स्थानमा अर्को व्यक्तिले नियुक्ति पाएको छैन ।
अवैतनिक दूतप्रतिको आकर्षण के हो ? भन्ने’boutमा चर्चा नगरिए यो आलेख अपूर्ण ठहरिन्छ । सामान्य रूपमा भन्नुपर्दा अवैतनिक दूतले दुई देशबीचकै सम्बन्धलाई स्थापित गराउँछ । पारस्परिक सम्बन्धमा सहजता ल्याउँछ । एक अर्काबीचको कटुता भए हल गराउने भूमिका अपनाउँछ । दुई मुलुकबीचको अवागमन सहज बनाउँछ । औपचारिक रूपमा अवैतनिक दूतले यस्तो कार्य गर्ने भए पनि यही धरातलमा त्यहाँ दूतको निजी स्वार्थसँग सम्बन्धित अन्य विविध कार्यहरू हुन सक्छन् । त्यसैमध्येको एक अपराधिक कार्यको माथि उल्लेखित दृष्टान्त हो । वास्तवमा दूतका रूपमा दुई मुलुकबीचको सम्पर्क सेतु बनी कार्य गर्ने गैरव्यापारिक घरानाका दक्ष व्यक्ति मुलुकमा हजारौं छन् । तर, त्यस्ता व्यक्ति नेताको छनोटमा किन पर्दैनन् ? यसको कारण राज्यपक्ष र दूतबीचकै पारस्परिक लाभलाई सर्वोपरि ठान्ने प्रवृत्तिले नै हो ।
सत्ताशक्तिको दुरुपयोग गरेर अवैध लाभ लिन सकिने भएकाले उपल्लो वर्गका मानिस अवैतनिक दूतको मौका कुरिरहेका हुन्छन्
अवैतनिक दूतको मात्र होइन, राज्यको अन्य कुनै क्षेत्र पनि अहिले लाभविहीन नितान्त सेवामुखी बन्न सकेको छैन । उच्च पदस्थ पदाधिकारीदेखि तल्लो तहसम्मको राज्य निकाय नाफाखोरी हुँदा राज्य प्रशासन नै दूषित बनिरहेको छ । कानुनको उपहास भइरहेको छ । अपराधीले (नै प्रश्रय पाइरहेका छन् । कूटनीतिक गतिविधिमा संलग्न रहनुपर्ने व्यक्ति कूटनीतिक आवरणभित्र अवैध धन्दा सञ्चालन गर्दै आएका छन् । व्यक्तिगत लाभको पेसागत गतिविधि विस्तारित गर्नकै लागि अधिकांश व्यक्ति कूटनीतिक क्षेत्र र पदको दुरुपयोग गरिरहेका छन् । त्यस्तै, व्यक्तिबाट राज्य सञ्चालक नै लाभान्वित बनिरहेका छन् । राजनीतिक नेताको नजरमा दक्ष इमानदार व्यक्तिभन्दा खुवाउन र खान सक्ने पोख्त व्यक्ति प्रिय पात्र बन्छन् । यसको दृष्टान्तका निम्ति विनोद चौधरीकै परिवारका पाँच जना अवैतनिक दूत बनेको अवस्थाले नै पुष्टि गर्छ । उनीहरूले गरेका कूटनीतिक सेवाको राज्यबाट लेखाजोखा हुँदैन ।
माथि उल्लेखित नेपालका लागि किर्गिस्थानका अवैतनिक दूत सुलभ अग्रवाल अपराधिक कार्यमा संलग्न रहेपछि अवैतनिक दूतले प्रयोग गर्दै आएको निलो प्लेटको गाडी र सम्बन्धित देशको झन्डा फहराउन पाउने सुविधा कटौती भएको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला सन् २००८ देखि अवैतनिक दूतहरूले यो सुविधा उपभोग गर्दै आएका थिए । बीचमा खोसिएको यो सुविधा वर्तमान परराष्ट्रमन्त्री नारायण खड्काको मन्त्रीस्तरीय निर्णयबाट हालै मात्र अवैतनिक दूतलाई पुनः प्रदान गरिएको छ । सुविधा उपभोग गर्न पाएपछि हाल कार्यरत ५३ देशकै अवैतनिक दूतहरू उत्साहित देखिएका छन् । हुन त यी सबैलाई एउटै नजरले हेर्नु उचित हुँदैन किनकि यसमध्येका कतिपय व्यक्ति पदीय दायित्वप्रति संदनशील पनि छन् ।
वास्तवमा हाम्रो मुलुकको सबैभन्दा ठूलो दुर्भाग्य भनेकै सत्ता परिवर्तन सँगसँगै नीति र सिद्धान्त परिवर्तन गर्ने प्रवृत्ति हो । अझ व्यक्तिको जिम्मेवारी परिवर्तनले त उथलपुथलै गराउँछ । दीर्घकालीन स्थिर नीति नहुँदा अल्पकालीन व्यक्तिवादी नीतिले नै प्रश्रय पाउँदै आएको छ । व्यक्तिवादी अल्पकालीन नीति देश र जनाका निम्ति घातक तर व्यक्ति विशेषका निम्ति लाभदायक हुन्छ । आफ्नो सेवासुविधा वृद्धि गर्न उतिखेरै राष्ट्रिय सहमति हुन्छ तर राष्ट्रको हित र जनताको जीवनस्तर उत्थान गर्ने दीर्घकालीन स्थिर नीतिका निम्ति सर्वदलीय सहमति बन्नै सक्दैन । यसो हुनुको प्रमुख कारण पनि व्यक्ति वा नेतामुखी स्वार्थको राजनीति नै हो । दीर्घकालीन नीति बने सत्ता परिवर्तनको कुनै असर पर्दैन । जुन व्यक्ति सत्तामा पुगे पनि उसले स्थिर दीर्घकालीन नीतिलाई नै निरन्तरता दिन बाध्य हुनै पर्छ । यो अवस्थामा नेताले निजी स्वार्थ पूरा गर्न पाउँदैनन् ।
यसको सट्टामा अस्थिर व्यक्तिवादी नीति लागू भए व्यक्तिले स्वेच्छाचारी कार्य गर्न पाउँछन् । विकास निर्माणको नाममा राष्ट्रिय सम्पत्ति कुम्ल्याउन पाउँछन् । आफू मात्र होइन परिवार, नातासम्बन्ध र चाकडीदार तथा आसेपासेलाई समेत हैसियतबेगरको पद र प्रतिष्ठामा आसीन गराई लाभान्वित बनाउन पाउँछन् । सत्ताशक्तिको दुरुपयोग गरेर अवैध लाभ लिन्छन् । देश र जनताको सेवामा भन्दा लाभमा आकर्षित हुने मौका पाउँछन् । यही नै मुलुकको अभिसाप हो । अवैतनिक दूतप्रतिको व्यापारिक घरानाको आकर्षण र स्वार्थ, यही उद्देश्यमा लक्षित रहेको तथा लाभको साझेदारी बन्न पाउने लालसाले यही प्रवृत्तिलाई नेताले पनि संरक्षण दिँदै ल्याएका हुन् ।






