मुम्बई । आफ्नी पत्नी श्रीदेवीको निधनपछि बलिउड निर्माता बोनी कपुरले एक वर्षभन्दा लामो समय फिल्म निर्माणमा चासो देखाएनन् । यिनै निर्माता पछिल्लो समय फिल्म निर्माणमा निकै सक्रिय भएका छन् ।
भारतमा कोरोना संक्रमण मत्थर भएपछि पछिल्लो एक वर्षयता निर्माता बोनी कपुरले एक साथ पाँचवटा फिल्म निर्माण गरेका छन् । सबैभन्दा ठूलो बजेटेको फिल्म अजय देवगन अभिनित मैदानदेखि सानो बजेटको फिल्म वलीमाईसम्म उनले निर्माण गरेका छन् ।
चाँडै भारतीय सिनेमा बजार खुल्ने र एकपछि अर्को गर्दै रिलिज गर्ने लक्ष्यका साथ आफूले पाँचवटा फिल्म यतिबेला निर्माण गरेको यी निर्माताको कथन छ । तर, पछिल्लो समय भारतमा तेस्रो लहरको कोरोना महामारी बढ्दै गएपछि आफ्नो फिल्म रिलिजका लागि यी निर्माता चिन्तित बनेका छन् ।
उनले निर्माण गरेर प्रदर्शनीका लागि तयार पारेको फिल्ममा अजय देवगन अभिनित मैदान, अजित अभिनित वलीमाई, उदयनिधि स्टालिन अभिनित नेन्जुकु, जान्हवी कपुर अभिनित मिली रहेका छन् । विगत चार दशकदेखि उनले बलिउड तथा दक्षिण भारतीय फिल्म बनाउँदै आएका छन् । यतिबेला पनि उनले बलिउड र दक्षिण भारतीय फिल्म बनाएका हुन् ।
फिल्म निर्माणको यो चार दशक लामो इतिहासमा आफूलाई सबैभन्दा संकट यतिबेला परेको उनले बताएका छन् । लगातार कोरोनाको महामारीका कारण निर्माण भएका फिल्म एकपछि अर्को गर्दै रिलिज हुन नपाउँदा संकट परेको उनले बताए । दुई महिनाभित्र फिल्म हल नखुलेमा आफ्ना फिल्म ओटीटी प्लेटफर्मबाट भए पनि रिलिज गर्ने निर्माता बोनीको भनाइ छ ।






