काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने काम गरिरहेको आरोप लगाएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले पाँच दलीय गठबन्धनका नेताले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने कार्ड फ्याँकेर स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका हुन् । उनले मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतले यस्ता काम भइरहेको समेत बताएका छन् ।
जुनसुकै निर्वाचन सामना गर्न तयार रहेको जनाउ
‘हाम्रो पार्टी गतवर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ, ‘यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी ओलीले गत वर्ष आफूले ताजा जनादेशको माग गर्दा अनेकौं प्रहार गरिएको भन्दै जनताबीच जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन‘ भन्ने भाष्य निर्माण गरिएको बताएका छन् ।
‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जित’का रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’को कुरा गर्दै छन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?,’ उनले पाँच दलीय गठबन्धनका नेतासँग प्रश्न गरेका छन् ।
ओलीले सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको पनि आरोप लगाएका छन् । ‘शक्ति पृथकीकरण र राज्यका अंगहरूबीच सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्ष गम्भीर रूपले समस्याग्रस्त बनेका छन्,’ ओलीले भनेका छन् ।
अध्यक्ष ओलीले मुलुकको कार्यकारी अंगका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको भन्दै राष्ट्रिय हितको रक्षामा चुकेको, महामारीमा अकर्मण्य बनेको र जनतालाई न्यूनतम राहत दिनसमेत असमर्थ भएको आरोप पनि लगाएका छन् । उनले राज्यका तीनवटै अंगहरू संकटोन्मुख भएको र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको बताएका छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चीनसँग सीमा विवाद गरेर दुई राष्ट्रबीचको सम्बन्ध विगार्न खोजेको आरोप पनि लगाएका छन् । विगतमै टुंगिसकेको चीनसँगको सीमा विवादमा प्रश्न गर्दै सम्बन्ध बिगार्ने काम देउवा नेतृत्वको सरकारले गरिरहेको आरोप लगाएका छन् ।
‘विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रूपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशंका र अविश्वास पैदा गर्ने काम गरिरहेको छ,’ ओलीले जारी गरेको प्रेस विज्ञप्तिको बुँदा ५ मा उल्लेख गरिएको छ ।
मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखापरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ ।’
यस्तै, अमेरिकी सहायता परियोजना एमसीसी’bout सत्ता गठबन्धनकै नेताले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको आरोप उनले लगाएका छन् ।
‘अमेरिकी अधिकारीसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् । उनीहरूले हिजो आफैंले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन्’ उनले भनेका छन् ।
अध्यक्ष ओलीले देउवा नेतृत्वको सरकारले ललिता निवास जग्गा प्रकरणका दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् । उनले ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिनामा संलग्नलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप लगाएका हुन् ।
‘ललिता निवासको १ सय ४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ‘थप अनुसन्धान’का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नलाई उन्मुक्ति दिने खतरनाक प्रपन्च गरिएको छ’ ओलीले जारी गरेको विज्ञप्तिको १३ बुँदामा उल्लेख गरिएको छ ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारका कारण अर्थतन्त्रका सबै सूचकले गम्भीर अनिष्टको संकेत गरेको टिप्पणी गरेका छन् । उनले देउवा सरकारका ६ महिने कार्यकालमा विकासका गति ठप्पै भएको आरोप लगाउँदै पाँच दलीय गठबन्धन सरकारले मुलकलाई आर्थिक संकटतर्फ धकेलेको आरोपसमेत लगाएका छन् ।
‘पूर्ववर्ती सरकारले ल्याएको लोकप्रिय बजेटलाई विस्थापन गरेर नयाँ बजेट ल्याएको यस सरकारको कार्यकालमा विकासको गति ठप्प जस्तै भएको छ, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक अवस्थाको विवरणले मुलुक आर्थिक संकटतिर उन्मुख भएको चिन्ताजनक तस्बिर प्रस्तुत गरेको छ’ ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।






