काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो । यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि तरिकाबाट मतदाता प्रभावित हुने गरी मत माग्न पाइँदैन ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको र सबैले यो अवधिको पालना गरेर निर्वाचन सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।
मौन अवधिमा मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आफ्ना निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक र भाइबर जस्ता विद्युतीय माध्यमबाट मत माग्न र प्रचार गर्न नपाइने प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी सञ्चार माध्यमले समाचार वा सूचना प्रसारण गर्न नहुने पनि आयोगले भनेको छ ।
आयोगले निर्वाचन मण्डलको अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेश सभा सदस्य, पालिका अध्यक्ष वा उपाध्यक्ष तथा नगरप्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्र वा मतदाता परिचयपत्रका आधारमा वा नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभामा २० फागुनबाट १९ सिट रिक्त हुँदै छ । रिक्त हुनेमा नेकपा एमालेको ८ सिट छ । यस्तै एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सकिँदै छ ।
राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।
पहिलोपटक २०७४ सालमा निर्वाचित सदस्यको कार्यकाल गोलाप्रथाद्वारा निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानमा राष्ट्रिय सभाको कुल कार्यकाल ६ वर्ष हुने उल्लेख छ । जसअनुसार अब निर्वाचित हुनेहरू दुई वर्षसम्म पदमा रहनेछन् ।