काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना बहालवाला एवं अवकाशप्राप्त कर्मचारीका साथै आश्रित परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न यो वर्ष गण्डकी प्रदेशमा अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २१औं सशस्त्र प्रहरी दिवस–२०७८ को अवसरमा आइतबार संगठनको केन्द्रीय कार्यालय हल्चोक, स्वयम्भूमा आयोजित विशेष समारोहमा संगठनको कल्याणकारी कोषको रकमबाट अस्पताल निर्माण गर्ने घोषणा गरेका हुन् । उनले अर्काे वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक÷एकवटा फिल्ड अस्पताल स्थापना गरिने पनि सो अवसरमा घोषणा गरे ।
सशस्त्र प्रहरीले लामो समयदेखि काठमाडौंको बलम्बुमा नेपाल एपीएफ अस्पताल सञ्चालन गर्दै आएको छ । बलम्बुपछि प्रदेश १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बाग्मती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशको कोहलपुरमा मध्य–पश्चिम क्षेत्रीय अस्पताल सञ्चालन गर्दै आएको छ ।
यसैगरी, कल्याणकारी सेवा केन्द्रमार्फत बहालवाला एवं भूतपूर्व सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक÷एकवटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरूप सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरीले विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना एवं पेट्रोल पम्प विस्तारमा पनि जोड दिएको छ । स्वच्छ ऊर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप एवं कल्याणकारी कोषको आयस्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षित बनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाइने भएको छ ।
साथै समय–समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्न बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि सुरु गरी निरन्तरता प्रदान गरिएको छ ।
सशस्त्र प्रहरीले अबदेखि आफ्ना सबै अधिकृतलाई चारपांग्र्रे सवारीसाधन खरिद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने भएको छ । यो व्यवस्था यसअघि सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्मका लागि थियो । अब भने सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतलाई समान रूपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।
सशस्त्रले कल्याणकारी कोषको रकमबाट शहीद समर्पण सम्मान कार्यक्रम पनि सुरुवात गरेको छ । यो कार्यक्रमअन्तर्गत कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमतीमध्येबाट एक जनालाई वार्षिक २५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ । यसका लागि संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्नुपर्नेछ । यस्तै, कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती (एकल महिला)लाई सम्मानस्वरूप उपलब्ध गराइएको वार्षिक नगद सहयोग २ हजारलाई बढाएर २ हजार ५ सय पु¥याइएको छ ।
्कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सन्ततिमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने एक जनालाई वार्षिक रूपमा नेपाल एपीएफ स्कुलमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने भएको छ ।
यस्तै, सशस्त्र प्रहरी कर्मचारीहरूलाई कल्याणकारी सेवा केन्द्रमार्फत सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आएको नगद ऋणको कोटामा सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मासिक रूपमा २५ वटा कोटा थप गरिने भएको छ । यसबाट वार्षिक रूपमा ३ सय जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित ३ हजार ६ सय जना सशस्त्र प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
यस्तै, सशस्त्र प्रहरी बल, नेपालका एकाइहरूमा लैंगिकमैत्री वातावरण सिर्जना गर्ने संगठनको नीतिलाई निरन्तरता दिँदै प्रधान कार्यालयदेखि गण तहसम्म कार्यरत महिला राष्ट्रसेवक कर्मचारीको सुविधाका लागि शिशु स्याहार केन्द्र स्थापना गरी एकाइमा कार्यरत योग्य सशस्त्र प्रहरी कर्मचारीहरूद्वारा बालबालिकाका लागि पूर्व–प्राथमिक शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ ।






