काठमाडौं । अभिनेता अनमोल केसी अब शरीरको तौल बढाउने कि नबढाउने भन्ने अन्योलमा छन् । नयाँ फिल्म ‘एक्स–९’ का लागि अनमोलले तौल बढाएर करिब ९० केजी पुग्न लागेको अभिनेता अनमोल अब त्योभन्दा बढी तौल बढाउने कि नबढाउने भन्ने अन्योलमा परेका हुन् ।
मुकुन्द भट्टको निर्देशनमा तयार हुने भनिएको फिल्मको छायांकन यही फेब्रुअरीबाट युरोपदेखि सुरु गर्ने तयारी हुँदै थियो । नेपाल तथा युरोपमा कोरोनाको महामारी बढेपछि फिल्मको छायांकन अनिश्चित कालका लागि स्थगित गरिएको छ । जसका कारण यो फिल्मकै लागि भनेर तौल बढाइरहेको अभिनेता अनमोल केसी अब के गर्ने भन्ने अन्योलमा परेका हुन् । यो फिल्मको निर्माण पक्षले युरोपमा कोरोना मत्थर भएपछि मात्र छायांकन सुरु गर्ने बताएका छन् । जसका लागि फेरि तीन÷चार महिना कुर्नुपर्ने अवस्था आएको छ ।
नयाँ फिल्म ‘ए मेरो हजुर–४’ का लागि आफ्नो तौल घटाएर ६५ केजीमा झारेका यी अभिनेता विगत ६ महिनबाट तौल बढाउन व्यस्त थिए । किनकि फिल्म ‘एक्स नाइन’का लागि उनको तौल कम्तीमा ९५ केजी बनाउनुपर्ने थियो । उनीसहित यो फिल्मका अभिनेताहरू पल शाह, पुष्प खडका, सौगात मल्ल, अनुपविक्रम शाही, नवीन लम्साल तौल बढाउन व्यस्त थिए । सबै कलाकार यो फिल्मका लागि सुगठित शरीरको हुनुपर्ने थियो ।
अब तौल बढाउने क्रमलाई नरोक्दा आवश्यकभन्दा बढी तौल हुने हो कि भन्ने डर यी अभिनेतालाई छ । सोही कारण अनमोल केसीले अहिलेलाई यही तौललाई स्थिर गर्ने उपाय र व्यायामलाई अपनाएको उनका पिता भुवन केसीले बताएका छन् ।
भुवनको कथनमा उनी दुईवटा नयाँ फिल्म ‘पारस’ र ‘भाइरस’ गर्ने तयारीमा थिए । ‘ए मेरो हजुर–४’ को छायांकन सकिएपछि अनमोल नयाँ फिल्म एक्स नाइनको तयारीमा जुटेकाले आफूले फिल्मको निर्माणलाई केही पर सारेको उनले बताए । आफ्नो फिल्म पारसको छायांकन वैशाखबाट गर्ने भनिएकोमा अब त्यो समयमा एक्स नाइनको छायांकन हुन सक्ने अवस्था आएको पनि भुवनले बताएका छन् । सोही कारण अब आफ्नो फिल्मको निर्माण तयारीमा जुट्ने भुवनले बताएका छन् । अबको निर्धारित समयमा एक्स नाइनको छायांकन सुरु नभएमा अनमोलले फेरि आफ्नो गृह ब्यानरको फिल्म ‘पारस’का लागि १० देखि १५ केजीसम्म तौल घटाउनुपर्नेछ ।






