नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन

शासन प्रणालीमा आएको नयाँ प्रवृत्तिले शासक प्रशासकले नागरिकलाई सेवा दिन प्रक्रिया पु¥याएर हुने अवस्थाबाट परिणाम देखाउनुपर्ने अवस्थामा पु-याइएको थियो । अब परिणाम देखाएर मात्र पुग्दैन । परिणामबाट समाजमा परेको प्रभावप्रति पनि जिम्मेवार र उत्तरदायी हुनुपर्ने बनाएको छ । उत्तरदायी सरकारका सार्वजनिक कार्यको नागरिकबाट मूल्यांकन प्रजातान्त्रिक अभ्यास हो । प्रजातन्त्रिक शासन प्रणालीमा मात्र जनताले सरकारको मूल्यांकन गर्ने र आफ्नो प्रतिक्रिया सरकारको पक्ष वा विपक्षमा आवधिक निर्वाचनको माध्यमबाट दिने गर्दछन् । नागरिकद्वारा सार्वजनिक कामको मूल्यांकनका आधारभूत तत्वहरू प्रजातन्त्र, समावेशी र सहभागिता संस्कृति, सूचनाको अधिकार, स्वतन्त्र प्रेस, जनउत्तरदायी सक्षम सरकार, सुसूचित जनता र सुशासन हुन् । सार्वजननिक कार्यको मूल्यांकन गर्न जनता सक्षम, जानकार र सक्रिय हुनुपर्दछ । जनतालाई सरकारी कामकारबाहीको विषयमा प्रश्न सोध्ने क्षमता जनतामा नभएसम्म नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन हुन सक्दैन ।

प्रजातान्त्रिक शासन प्रणाली भनेको जनताका लागि जनताद्वारा जनताको हितमा गरिने शासन हो । जनताले आफूमा अन्तरनिहित सार्वभौम अधिकार प्रयोग गर्न प्रतिनिधिको निर्वाचन गर्दछन् र उसको शासनमा रहन जनता सहमत भएका हुन्छन् । यसकारण प्रजातान्त्रिक सरकार आफ्ना काम कारबाही र जनताप्रति उत्तरदायी हुनुपर्दछ र हुन्छन् पनि ।

जनताका आवश्यकता पूरा गर्न सरकारले सार्वजनिक निर्माण कार्य र सेवा प्रदान गर्ने कार्य गर्दछ । प्राकृतिक स्रोत तथा सार्वजनिक सम्पति सुरक्षा गरेको हुन्छ । सार्वजनिक निर्माण कार्य, सेवा प्रवाह र प्राकृतिक स्रोत तथा सम्पतिको संरक्षणको कुशल व्यवस्थापन गर्नु तथा आफूले गरेको कार्यको सार्वजनिक जिम्मेवारी र उत्तरदायित्व लिनु प्रजातान्त्रिक शासन प्रणालीको विशेषता हो । सरकारबाट भएका कामकारबाही नागरिकबाट मूल्यांकन गर्ने पद्धति प्रजातान्त्रिक शासन प्रणालीको खास विशेषता हो ।

सार्वजनिक सेवाको तथा निर्माण कार्यको गुणस्तर सुनिश्चित गर्न, सार्वजनिक कार्य समयसीमा, विनियोजित बजेटभित्र सम्पन्न गर्न, तथा सार्वजनिक कार्यले समाज र वातावरणमा परेको असरको मूल्यांकन एक नियमित प्रक्रिया हो । मूल्यांकन गर्दा मूल्यांकन आधार बनाई स्टयान्र्डड विधि अवलम्बन गरी उपलब्धिको लेखाजोखा गर्ने गरिन्छ । परीक्षण गर्दा सार्वजनिक काम गराइ कानुनी रूपमा ठीक छ छैन, आधिकारिक छ छैन र आवश्यक छ छैन सो प्रभावकारिता, सक्षमता, वास्तविकता, उपयुक्तताका कसीमा राखेर हेर्ने गरिन्छ ।

परीक्षणको अर्थ काम गराइमा भएको, हुन सक्ने, भइरहेको गलत काम पहिल्याउनु र सच्याउनु हो भने सेवा प्रवाह तथा परियोजना कार्यान्वयनमा आउन सक्ने सम्भाव्य द्वन्द्व व्यवस्थापन गर्नु पनि हो । यसले सरकार र जनताबीच विश्वासको वातावरण निर्माण गर्दछ । परीक्षण संगठनभित्रबाटै गर्ने तथा संगठनभन्दा बाहिरको व्यक्ति वा संस्थाद्वारा गर्नेगरी आन्तरिक र बाह्य दुई किसिमको हुन्छ ।

प्रजातान्त्रिक शासन प्रणालीमा नागरिकबाट मूल्यांकन गर्ने परिपाटीको विकास भएको छ । सरकार नियन्त्रित परीक्षणमा इमानदारिताको कमी खट्किँदो छ । नागरिकद्वारा गरिने मूल्यांकन सार्वजनिक कामकारबाहीमा जनताद्वारा सार्वजनिक उत्तरदायित्व कायम गर्ने एक उपाय हो । नागरिक मूल्यांकनमा नागरिकको चासो, नागरिकको खबरदारी र नागरिकको पक्षपोषण रहेको हुन्छ । सार्वजनिक कामको नागरिकबाट हुने मूल्यांकनले राजनीतिक र विकासको लाभ प्राप्त हुन्छ । जनता शासन प्रणालीमा सहभागी हुन्छन् भने विकासका कामको रखवाली गर्न सक्रिय हुन्छन् ।

सार्वजनिक काम छिटो हुने, तोकिएको समयभित्र हुने, कामको गुणस्तर राम्रो हुने, विनियोजित बजेटभित्र सम्पन्न हुने, अपेक्षित लक्ष्यअनुरूप हुने, भ्रष्टाचार हुन नपाउने, काम गर्दागर्दै बिग्रिएमा तत्काल सच्याउन सकिने सार्वजनिक कामको नागरिकबाट हुने मूल्यांकनको महत्व रहेको हुन्छ । नागरिकबाट सार्वजनिक कामको मूल्यांकन गर्ने प्रमुख विधिमा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण तेस्रो पक्षबाट गरिने मूल्यांकन, रिपोर्ट कार्डबाट प्राप्त पक्षपोषण तथा सार्वजनिक गुनासाहरू पर्दछन् ।

सार्वजनिक सुनुवाइ
सार्वजनिक सुनुवाइ कुनै संगठनले निर्णय हुनुभन्दा पहिला वा निर्णय भई कार्यान्वयनको चरणमा रहेका काम कारबाहीको विषयमा सार्वजनिक सुनुवाइ गर्नेगर्दछ । सार्वजनिक सुनुवाइ सार्वजनिक ठाउँमा गरिन्छ । सरोकारवालाले भाग लिन्छन् । यस्तो सुनुवाइमा पहिले संगठनका तर्फबाट विवरण प्रस्तुत हुन्छ । संगठनले पेस गरेको विषयवस्तुमाथि सहभागीहरूले प्रश्न गर्ने र राय दिने वा आलोचना गर्ने गर्दछन् । नागरिकको प्रश्न, राय र आलोचनाको जवाफ दिनु संगठन प्रमुखको दायित्व हुन्छ ।

सार्वजनिक सुनुवाइबाट नागरिकको चासो र राय जानकारी हुन्छ । सार्वजनिक सुनुवाइले सार्वजनिक कार्य गर्ने निर्णय लिन, निर्णय कार्यान्वयन गर्न र कार्यान्वयनको दौरान सुपरभिजन गर्न तथा पृष्ठपोषण दिन सहज हुन्छ । सुनुवाइ कार्यक्रम फेर टु फेस कार्यक्रमै एक पक्ष हो । सार्वजनिक सुनुवाइ कार्यक्रम एक घण्टाभन्दा लामो गरिँदैन । सार्वजनिक सुनुवाइ कार्यक्रमले संगठनलाई जनउत्तरदायी बन्ने दबाब दिन्छ । तर, सार्वजनिक सुनुवाइ नाम मात्रको हुने र बन्द कोठाभित्र सीमित व्यक्तिबीच गर्ने गरियो भने त्यसको कुनै अर्थ रहँदैन ।

सार्वजनिक परीक्षण
सार्वजनिक परीक्षण मूलतः महालेखा परीक्षकबाट हुने परीक्षण हो । नागरिकका लागि गुणस्तरीय सेवा प्रवाह तथा संरचना सुविधाका लागि भौतिक सम्पति तथा पूर्वाधारको निर्माण र सम्भार, व्यवस्थापकीय अभ्यास तथा नीति रणनीति र परियोजनाको योग सार्वजनिक कार्य हो । सार्वजनिक कार्य मूलतः सरकारले चलाएका सेवा वा कार्यक्रम वा परियोजना देशको समृद्धि र जनताको सेवामा केन्द्रित हुन्छन् । सार्वजनिक कामको सार्वजनिक परीक्षण सुरुका दिनमा वित्तीय परीक्षण अर्थात् खर्चपर्चमा मात्र केन्द्रित हुने गर्दथ्यो । वर्तमान युगमा सार्वजनिक परीक्षणको दायरा फराकिलो भएको छ र विधिमा परिवर्तन आएको छ । वित्तीय परीक्षणका अलावा भौतिक एवं आध्यात्मिक परीक्षण हुने गरेका छन् ।

परीक्षण भनेको काम गराइमा भएको, हुन सक्ने, भइरहेको गलत काम पहिल्याउनु र सच्याउनु हो

भौतिक परीक्षण भन्नाले उपलब्धि हेर्ने, उपलब्धिको गुणस्तर हेर्ने भन्ने बुझिन्छ भने आध्यात्मिक परीक्षणले निर्णय गर्दाका बखत निर्णयकर्ताले कस्तो वातावरणमा काम गरेको थियो र सो वातावरणले उसको निर्णय मनस्थितिमा कस्तो असर प¥यो र के–कस्तो निर्णय ग¥यो, त्यो हेर्नु हो । सार्वजनिक परीक्षण गर्दा नियमितता, मितव्ययीता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार लिने गरिन्छ । सार्वजनिक परीक्षण आन्तरिक र बाह्य हुन्छ । आन्तरिक मूल्यांकन संगठनभित्र भए गरेका कमीकमजोरी सच्याउन प्रयोग गरिन्छ भने बाह्य परीक्षण संवैधानिक निकाय महालेखा परीक्षकले गर्दछ । आन्तरिक परीक्षण गतिलो हुने हो भने बाह्य परीक्षणमा खप्की खानुपर्दैन ।

सामाजिक परीक्षण
आजको डिजिटल डेमोक्रेटिक युगमा जनता उत्तरदायी र सामाजिक रूपमा जिम्मेवार सरकारको माग बढिरहेको छ । सामाजिक परीक्षण समाजले गर्ने परीक्षण हो । संगठनको सामाजिक र नैतिक कार्य सम्पादनको मापन गर्न, बुझ्न, रिर्पोटिङ गर्न तथा सुधार गर्न सामाजिक परीक्षण गर्ने गरिन्छ । सामाजिक परीक्षण भनेको सरकारका कामकारबाहीबाट समाज तथा जनतामा परेको प्रभावको लेखाजोखा गर्नु हो । सामाजिक परीक्षण संगठनको कार्य सम्पादन क्षमता सुधार गर्न, सामाजिक जिम्मेवारी पूरा गर्न तथा सामाजिक हित गर्न केन्द्रित हुनु हो । अर्थात्, संगठनले आफ्नो सामाजिक जिम्मेवारी पूरा ग¥यो वा गरेन सो को व्यवस्थित रूपमा हेर्ने मूल्यांकन गर्ने एक प्रक्रिया सामाजिक परीक्षण हो ।

संगठनको सामाजिक योगदानकोे मापन, संगठनका क्रियाकलापबाट समाजमा परेको प्रभावको परीक्षण, सामाजिक सोचअनुरूप संगठनको नीति रणनीति मिले नमिलेको मूल्यांकन, संगठनले सामाजिक प्रतिबद्धता पूरा गरे नगरेको जाँचबुझ, निरन्तर रूपमा सार्वजनिक चासोका सूचना प्रवाह गरे नगरेको खोजविन, संगठनको कामकारबाहीमा समुदायको सहभागिता रहे नरहेको सोधखोज, समाजप्रतिको उत्तरदायित्व वहन गरे नगरेको परीक्षण गर्नु तथा लाभग्राही र प्रत्यक्ष प्रभावित सरोकारवालालाई सशक्तीकरण गर्नु सामजिक परीक्षणका उद्देश्यहरू हुन् ।

सामजिक परीक्षणका चरणहरूमा परीक्षणको प्रक्रिया निर्धारण गर्ने, संगठनका क्रियाकलापबाट प्रभावित हुने लाभग्राहीहरू पहिचान गर्ने, संगठनको उद्देश्य र सम्पादित महŒवपूर्ण कार्यमा केन्द्रित रही संगठनको उपलब्धिको लेखाजोखा गर्ने, तथ्यमा आधारित भई प्राप्तिहरू सिफारिस गर्ने पर्दछन् । यस्तो सामाजिक परीक्षण खासगरी सेवाग्राही वा सेवाग्राहीको समूहले गर्ने गर्दछन् । सामाजिक परीक्षणले संगठनलाई जिम्मेवार, उत्तरदायी, भ्रष्टाचारमुक्त, पारदर्शी, परिणाममुखी, परिवर्तनकामी तथा समाज र समुदायउन्मुख बनाउँछ ।

तेस्रो पक्षबाट गरिने मूल्यांकन
सरकारका विभिन्न कार्यक्रम, परियोजना तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालनमा रहेका हुन्छन् । यस्ता कार्य सम्पन्न गर्न बजेट र समय खर्च भएको हुन्छ । तर, सम्पन्न भएका परियोजना तोकिएको समयभित्र सम्पन्न नहुने, तोकिएको बजेटभित्र सम्पन्न नहुने, तोकिएको गुणस्तरको नहुने र निर्धारित सेवाग्राहीसम्म पनि नपुग्ने गरेका दृश्यहरू हामीले देखेका छौं । सेवा दिनेलिनेले गरेको मूल्यांकन पूर्वाग्रही हुने, मूल्यांकन राजनीति हुने तथा झूठा सुन्दरता पोत्ने प्रवृत्ति हाबी हुने गरेको प्रसंगमा थर्डपार्टी मूल्यांकनको प्रारम्भ भएको हो ।

सार्वजनिक सेवा वा निर्माण वा संगठनले प्रवाह गर्ने सेवामा सेवा दिने र सेवा लिने दुई पक्ष रहेका हुन्छन् । पहिलो पक्ष सरकार, दोस्रो पक्ष कार्यक्रमबाट लाभ पाउने तथा हानि पुग्ने जनता हुन् भने तेस्रो पक्ष न सरकार न लाभ हानि बेर्होने जनता हुन् । तेस्रो पक्षमा स्वतन्त्र एवं व्यावसायिक विज्ञ मूल्यांकनकर्ता तथा खोजमूलक प्रेस पर्दछन् । उनीहरूको मूल्यांकन विधि अलग, वैज्ञानिक र परिस्कृत हुन्छ । सार्वजनिक कार्यको परीक्षण तेस्रो पक्षबाट गर्दा तटस्थ, निष्पक्ष र गुणस्तरीय परीक्षण हुने अपेक्षा रहेको हुन्छ । तेस्रो पक्षले परीक्षण गर्दा सेवा दिने, सेवा लिने र स्वतन्त्र जनतासँग छलफल गरी जानकारी संकलन गर्दछ र स्वतन्त्र रूपमा प्राप्ति सिफारिस गर्दछ । यस्तो मूल्यांकन आग्रह र पूर्वाग्रहबाट मुक्त हुने विश्वास गरिएको हुन्छ ।

नागरिकबाट हुने सार्वजनिक कार्यको मूल्यांकन सार्वजनिक कार्यको निर्माण र कार्यान्वयनको अभिन्न अंग बन्न गएको छ

सेवा प्रवाहपछि सेवाग्राहीलाई सेवाको प्रक्रिया, सेवाको गुणस्तर, लागेको समय, भएको खर्च, कर्मचारीले गरेको व्यवहार जस्ता पक्षमा कार्डमा भर्न लगाइन्छ र त्यसबाट निचोड निकालिन्छ । जसको आधारमा सेवा प्रवाहमा सुधार गर्ने गरिन्छ । खोजमूलक प्रेसले महŒवपूर्ण विषयमा गोप्यतवरले सूचना प्राप्त गरी समाचार बाहिर ल्याउँछ । त्यस्तै सरकार र सरकारी निकायको काम गराइका सम्बन्धमा सर्वसाधारणले गुनासो गर्न सक्छन् । त्यस्ता गुनासाहरू मौखिक, लिखित, अनलाइन तथा सामाजिक सञ्जालमार्फत आउने गर्दछन् र सरकार त्यसको आधारमा जनताका अपेक्षा पूरा गर्न क्रियाशील हुने गर्दछ । नेपाल सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ यसको उदाहरण हो ।

नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनका कठिनाइहरू
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनबाट धेरै लाभ हुने गरेको पाइन्छ । तापनि नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनमा धेरै कठिनाइहरू देखिने गरेको पनि छ । सरकार आप्mनो मूल्यांकनबाहेक अन्य मूल्यांकनलाई सही मान्न तयार हुँदैन । जनता मूल्यांकन गर्न इच्छुक पनि देखिँदैनन् । मूल्यांकनबाट सुधार हुने अपेक्षा पूरा हुने पनि गरेको छैन । बारम्बार एउटै समन्वयको समस्या सार्वजनिक कार्य गर्दा देखिए पनि सुधार नभएको दृश्य हाम्रो अगाडि रहेको छ ।

मूल्यांकन राजनीतिले मूल्यांकनको निचोडलाई वायसनेसको लेप लगाउने गर्दछ र अर्थहीन बनाउँछ । जनतामा सार्वजनिक कार्यको परीक्षणसम्बन्धी प्रर्याप्त ज्ञान, क्षमताको कमी, सूचना प्राप्त गर्न कठिनाइ, तथ्यांक सूचना विश्लेषण क्षमताको कमी छ । सरकारमा परीक्षण प्रतिवेदन प्रकाशन गर्ने प्रवृतिको कमी, परीक्षणमा देखिएका वा औंल्याएका कमीकमजोरी सच्याउनेतर्फ सरकार संवेदनशील नहुने प्रवृत्ति, सेवाग्राहीले दिएको रिपोर्ट कार्डबाट प्राप्त फिडब्याक तथा गुनासाको समयमा सम्बोधन नहुनु, मूल्यांकनमा सूचना सञ्चार प्रविधि प्रयोगको कमी पनि नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन गर्दा आउने कठिनाइहरू हुन् ।

उपसंहार
नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन प्रजातान्त्रिक समावेशी शासन, नागरिक सचेतना, सहभागितामूलक निर्णय प्रक्रिया र सुशासनको अवस्थामा निर्भर गर्दछ । नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन गर्ने परिपाटीले सरकारले मात्रै सेवा प्रवाह वा निर्माण कार्य गर्ने प्रक्रियामा बहुपक्षीय चासो रहने वातावरणको विकास भएको हुन्छ । परिणामतः सार्वजनिक निकायमा रहेको अहंपनको स्थानमा सरलता, सरकारप्रति उत्तरदायी बन्ने ठाउँमा जनताप्रति उत्तरदायी बन्ने पद्धति, प्रक्रियामुखीको ठाँउमा परिणाममुखी बन्ने सोच र अपारदर्शीताको ठाउँमा पारदर्शीताले ठाउँ लिएको पाइन्छ । नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकनका कारण जनता लाभान्वित भएका छन् र सरकारी कार्यक्रम कार्यान्वयन प्रभावकारी बन्दै गएको छ ।

नागरिक वा सेवाग्राहीबाट सार्वजनिक कार्यको साथै निजी क्षेत्र कर्पोरेटबाट भएका कार्यको पनि मूल्याकंन गर्नुपर्ने भएको छ । बिस्तारै, नागरिकबाट सार्वजनिक कार्यको मूल्यांकन सार्वजनिक कार्यको निर्माण र कार्यान्वयनको अभिन्न अंग बन्न गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2,723 times, 1 visits today)

epaper

ताजा समाचार

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो