धनगढी । बिहानदेखि बेलुकासम्मको मेहनत, घरखर्च कटाएर गरेको बचत र भविष्य सुरक्षित बनाउने सपना । वर्षौँ लगाएर जम्मा गरेको त्यही पैसाका लागि धनगढीका हजारौँ बचतकर्ता भने प्रहरी कार्यालय धाउन बाध्य छन् । शिवशिखर सहकारी संस्था लिमिटेडमा उनीहरूको बचत रकम फसेको छ ।
आफ्नै पसिनाको कमाइ फिर्ता पाउनुपर्ने मागसहित तीन हजार तीन सयभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । धनगढीकी रमिता रानाले नखाई नलाई दुःख गरेर जम्मा गरेको रकम फिर्ता नपाउँदा निराश हुनुपरेको गुनासो गरिन्।जीवनभरको मेहनतले जम्मा गरेको पैसा नै फसेपछि भविष्यका योजनासमेत प्रभावित भएको उनको भनाइ छ ।
शिवशिखर सहकारीका अर्का बचतकर्ता हरिप्रसाद जोशीले पनि जसोतसो गरेर करिब ११ लाख रुपैयाँ जम्मा गरेका थिए । तर, सहकारी बन्द भएपछि आफ्नो रकम फिर्ता पाउन उनले संघर्ष गर्नुपरेको छ । ठूलो रकम फस्दा परिवारको आर्थिक अवस्था र भविष्यको योजनामा असर परेको उनी बताउँछन् ।
शिवशिखर सहकारीबाट ठगिएको भन्दै कैलालीमा तीन हजार तीन सयभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । यसैक्रममा बुधबार एक हजार चार सय जना बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बोलाइएको थियो । उनीहरूलाई विचाराधीन मुद्दाको अनुसन्धान प्रक्रियाअन्तर्गत बकपत्र रुजुका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
गौरीगंगा नगरपालिका–६, बनबेहडाबाट जिल्ला प्रहरी कार्यालय पुगेका टीकाराम शर्मा पनि आफ्नो बचत फिर्ता हुने आशामा प्रहरीकहाँ पुगेका हुन् । लामो समयदेखि रकम फिर्ताको प्रतीक्षामा रहेका बचतकर्ताहरूले आफ्नो गुनासो सुनाउने र न्याय पाउने आशामा प्रहरी कार्यालय धाउनुपरेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले सहकारीविरुद्ध नयाँ उजुरी दर्ता भइरहेको छैन । यसअघि दर्ता भएका उजुरी तथा विचाराधीन मुद्दाको अनुसन्धान प्रक्रियालाई अघि बढाउने क्रममा बचतकर्तालाई बकपत्र रुजुका लागि बोलाइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार बचतकर्तालाई अनुसन्धान प्रक्रियाअन्तर्गत बोलाइएको हो । प्रहरीले मुद्दाको प्रक्रिया अघि बढाइरहे पनि बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ । वर्षौँको मेहनतले जम्मा गरेको रकम फिर्ता नपाउँदा बचतकर्ताहरू आर्थिक संकट र मानसिक तनावमा छन् ।
सम्बन्धित समाचार
घटनास्थलबाट घरदैलोसम्म पुग्दै प्रहरी
बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन
रियादको वित्तीय क्षेत्रमा आक्रमण, अरामको टावरमा क्षति
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग
बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री डा. वाग्ले
जलवायु वित्त र विकासशील राष्ट्रका लागि न्याय सुनिश्चित गर्न कोप-३१ मा माग
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो






