इन्जिन भाडामा लिएर उड्यो निगमको ग्राउन्डेड विमान

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको ग्राउन्डेड भएको न्यारो बडी ए–३२० विमानले शनिबारदेखि पुनःनियमित उडान सुरु गरेको छ ।

इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको सो विमान मर्मतपछि उडानयोग्य भएको थियो । निगमका अनुसार अहिले सो विमानको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो । ग्राउन्डेड विमानले मर्मतपछि शनिबारदेखि नै नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । ग्राउन्डेड विमान उडिसकेको बताउँदै अधिकारीले भने, ‘यो विमान बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए मैले काम गरेर उनीहरूको मुखमा बुझो लगाइदिएको छु ।’

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको बताए । आफ्नो मिहिनेत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले बताए । अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि उनकोे जिकिर थियो ।

निगमको सो विमानमा २८ डिसेम्बर २०२१ मा काठमाडौं दोहा नियमित उडानमा सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । दोहास्थित कतार एयरवेजका इन्जिनियरले विमान निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो । इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले सो विमानलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो । इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो ।

इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनोट भएको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर विमान उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ । सो इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ । निगमको आन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी र दुई थान न्यारो बडी विमान छन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप