त्रिभुवन विश्वविद्यालयको भविष्य

सन्तोष कार्की


त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय हो । ३० असार २०१६ मा राजा त्रिभुवनको ५३औं जन्मजयन्तीको अवसरमा त्रिभुवन विश्वविद्यायको स्थापना भयो । त्रिविले लगभग ६ दशकसम्मको उत्तारचढावका बाटा तय गरिसक्यो । त्रिभुवन विश्वविद्यालय भन्नेबित्तिकै सबैले यसलाई गर्वका साथ हेर्ने गर्दथे । ६ दशकको समयमा त्रिविका धेरै कुलपति, उपकुलपति, शिक्षाध्यक्षहरू फेरिए । मान्छे कति फेरिए कति तर त्रिविको परिपाटी कति फेरियो भन्ने कुराले विशेष अर्थ राख्ला । विश्वमा कतिपय यस्ता विश्वविद्यालयहरू छन्, जसले विश्व हल्लाउन सक्ने जनशक्ति उत्पादन गरेका छन् । तर, के त्रिविले पनि त्यस्तै जनशक्ति उत्पादन गर्न सक्यो त ? त्रिविमा पदाधिकारी फेरिए तर नेतृत्व शैली किन फेरिन सकेन ? कुनै बेला त्रिभुवन विश्वविद्यालयमा पढ्नेको लर्काे बेग्लै थियो । तर, त्यही विश्वविद्यालयका कतिपय क्याम्पसका केही विभागहरू विस्तारै बन्द हुँदै छन् ।
जेठो विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्दै छ ? यो प्रश्न त्यति बेला टड्कारो रूपमा उठेको छ । हाल नेपालमा त्रिविसँगै संस्कृत, काठमाडौं, पोखरा, पूर्वाञ्चल, लुम्बिनी, कृषि तथा वन विज्ञान, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरू सञ्चालनमा छन् । विश्वविद्यालयमा आउने नेतृत्वकर्ताहरू परिवर्तन भए तर तिनीहरूको काम औंलामा गन्न सकिने पनि हुन सकेनन् ।
यतिबेला दिनहुँजसो अधिकांश युवायुवतीहरू प्लस टु सकेपछि अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, फिनल्यान्ड, क्यानाडा विद्यार्थी वा अन्य भिजामा जान्छन् तर पछि फर्किने त दुई चार जना मात्र हुन् । किन हाम्रा विश्वविद्यालयले त्यस्ता विद्यार्थीलाई विदेश जानबाट रोक्न सकेका छैनन् वा विद्यार्थीलाई आकर्षण गर्न सक्दैनन् । विदेशी विद्यार्थी ल्याउनु त परै जाओस्, हाम्रा नेपाली विश्वविद्यालयहरूले किन समयसापेक्ष उत्पादनमुखी शिक्षा प्रदान गर्न सकिरहेका छैनन् ? विश्वका क्याम्ब्रिज, अक्सफोर्ड, हवार्ड, मासुसियस, स्टेफड, कोलम्बिया, क्यालिर्फोनिया, कारनिज मेलन, किंग्स फर्ड र साउदर्न विश्वविद्यालयहरू विश्वका १० उत्कृट विश्वविद्यालयभित्र पर्दछन् । तर, त्रिभुवन विश्वविद्यालय एसियाको ३००औं स्थानमा परेको छ । विश्वका तिनै उत्कृष्ट विश्वविद्यालयमा पढ्ने जानेको संख्या कम छैन । त्रिभुवन विश्वविद्यालयले ती विश्वविद्यालयसँग समन्वय गर्न सकेको छैन ।
अध्ययन–अनुुसन्धानका लागि विदेशी विश्वविद्यालय जानु नराम्रो कुरा होइन तर ती गएकाहरू फेरि किन त्यहाँको सिकेको ज्ञान, सीप, दक्षता लिएर पुन ः नेपाल आउन चाँहदैनन् । कमजोरी कहाँकहाँ रह्यो ? सूक्ष्म अध्ययन कहिले गरेर समाधान निक्लेला ?
त्रिभुवन विश्वविद्यालयले दुई खाले शैक्षिक पद्धति कार्यान्वयन गरिरहेको छ ः सत्र प्रणाली र वार्षिक प्रणाली । सत्र प्रणाली केही प्राविधिक विषयका स्नातक तथा बाँकी अन्य संकायको स्नातकोत्तर तहमा देशभर लागू भइरहेको छ । केही वर्षका शैक्षिक अनुभवहरू हेर्ने हो भने सत्र प्रणालीमा धेरै जनगुनासो बढ्दो छ । नेपाली माटो सुहाउँदो सत्र प्रणाली नभएको तर्क प्रस्तुत नभएका पनि होइनन् । हालसालै देशभरि एकसाथ विभिन्न क्याम्पसहरूमा स्नातकोत्तर तहका कक्षा सुचारु भइरहेका छन् । मानविकी तथा समाजिकशास्त्र तथा शिक्षाशास्त्र संकायतिरका नेपाली मनोविज्ञान, भाषा, इतिहास, मानवशास्त्र र पाठ्यक्रम तथा मूल्यांकनजस्ता विभागमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था छ ।
त्रिभुवन विश्वविद्यालयको भौतिक संरचनामा धेरथोर परिवर्तन आएको छ तर शैक्षिक गतिविधिमा भने शून्यजस्तै छ । त्रिविका पाठ्यक्रम भने पुरानै छन् । तिनमा आधुनिकता आउन सकेको छैन । त्रिविबाट उत्पादित जनशक्ति विश्व बजारमा बिक्न नसक्नु तथा विश्वका अरू ठूला विश्वविद्यालयबीच समन्वय गर्न नसक्नु नै यसको ठूलो समस्या हो । शैक्षिक, प्रशासनिक, भौतिकलगायतका समस्याको चंगुलबाट त्रिवि कहिले उठ्ने हो ? के अब यहाँबाट उत्पादित जनशक्तिलाई विश्वबजारले सहज रूपमा स्वीकार गर्ला त ? भन्ने कुरा समसामयिक मुद्दाका विषयहरू बनेका छन् । स्नातकोत्तर, एमफिल, पीएचडीसम्म गरेका दक्ष जनशक्तिले सामान्य किसिमको जागिर खानको लागि भौतारिनुपरेको छ । अर्काेतर्फ विद्वान् वर्गले पनि रचनात्मक काम गर्न नसकेको यर्थाथ घटनाहरू यत्रतत्र छन् ।
प्राध्यापकजस्तो पदमा खुला प्रतिस्पर्धाभन्दा राजनैतिक कोटा प्रणालीबाट छनोट गरिनु लज्जास्पद कुरा हो । हुँदै आएका केही रचनात्मक तथा प्राज्ञिक कार्य बन्द भएका छन् । त्रिविका विकृति, विसंगति हटाउने काममा विश्वविद्यालय अनुदान आयोगले पर्याप्त निरीक्षण गर्न सकेको छैन । त्यस्तै गरी त्रिविले वर्षमा हजारौं शैक्षिक बेरोजगार उत्पादन गरिरहेको छ । उत्पादन गर्नुभन्दा उत्पादित जनशक्तिलाई बजारमा बिक्न सक्ने बनाउनु वाञ्चछनीय हुन्छ । वर्षमा धेरै शैक्षिक बेरोजगार उत्पादन गर्नुभन्दा विश्वबजारको मागअनुसार उत्पादन गर्दै जाने हो भने शैक्षिक बेरोजगार उत्पादन नहुने थियो । साथै एमफिल, पीएचडी गरेका बौद्धिक वर्गहरूले पेट पाल्नकै लागि खाडी मुलुक जानुपर्ने बाध्यता हट्ने थियो ।
यस विश्विद्यालयले ६० वर्षको लामो अन्तरालमा निकै ठूलो फड्को मार्ने परिकल्पना गरिएको थियो तर त्यो भने जस्तो हुन सकेन । यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । त्यसमा पनि विभिन्न कारणले बाह्य विश्वविद्यालयमा नेपाली विद्यार्थीको घुइँचो लागिरहेको छ । विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति हुन नसक्नु, त्रिविका पदाधिकारी राजनीतिक भागबन्डामा प्रवेश गर्नुजस्ता समस्याहरू मौलाउँदै गएका छन् । अर्काेतर्फ कर्माचारी, प्राध्यापकहरूको नियुिक्त पारदर्शी हुन नसक्नु, पाठ्यक्रम, शिक्षण विधि र प्रक्रियालाई अध्यावधिक गर्न नसक्नु तथा कक्षा सञ्चालन, परीक्षा लिनेदेखि नतिजा प्रकाशनसम्मका कार्यहरूमा एकरूपता नपाइनुजस्ता समस्या अझै जस्ताको त्यस्तै छन् । जिम्मेवार पदमा बसेकाहरूले आप्mनो मर्यादा पालन गर्न नसक्नु, केही सीमित स्वार्थ राखेर आन्दोलन गर्दैमा त्रिवि स्वयं आफैं विचलित बन्दै जाने तथा झन्डै एक दशकसम्म पनि स्ववियु निर्वाचन हुन नसक्नु त्रिविका जल्दाबल्दा समस्या हुन् ।
देशमा संघ, प्रदेश र स्थानीय गरी तीन निकाय छन् । देश संघीयतामा गए पनि पूर्ण रूपमा अधिकार भने गएको देखिँदैन । त्रिविका धेरै कामहरू केन्द्रबाटै निर्देशित तथा सञ्चालित छन् । यसले पनि थुप्रै समस्या जन्माएको छ । विज्ञहरूको ध्यान आप्mनै परिवारिक काममा गएको देखिन्छ । पछिल्ला केही वर्षयता विशिष्ट खालका अध्ययन अनुसन्धान भएको देखिन्न । नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था हुन सकेको छैन । केन्द्रीय क्याम्पस, कीर्तिपुरको कथा पनि फरक छैन । सत्र प्रणाली लागे सँगै विद्यार्थी संख्या देशैभर घटेको छ । सत्र प्रणालीको वास्तविक मर्मअनुसार विश्वविद्यालय चल्न नसकेको कु्रा स्वयं प्राध्यापक स्वीकार गर्छन् । दुई वर्षमा सकिनुपर्ने स्नातकोत्तर तहको पढाइ सक्न तीन÷चार वर्ष लाग्ने गरेको छ । ६–६ महिनाको अन्तरालमा हुनुपर्ने परीक्षा १० महिनामा र नतिजा झन्डै एक वर्षमा आएका प्रशस्त उदाहरण पाइन्छन् । यी त केही ज्वलन्त उदाहरण मात्र हुन् । यिनै समस्यामाथि त्रिविका जिम्मेवार निकायहरू एक अर्कालाई आरोप प्रत्यारोप गर्र्दै छन् । त्यसैको परिणाम हुनुपर्छ । केन्द्रीय क्याम्पसको प्रांगण कहिलेकाहीँ गौचरनमा बद्लिएको देखिन्छ ।
सकारात्मक सोच र दृढ संकल्प हुने हो भने जुनसुकै समस्याका पहाडहरूबाट नवनिर्माणको सुरुङ लिकाल्न सकिने धेरै उदाहरण छन् । विस्तारै त्रिवि का कतिपय क्याम्पसहरूमा विद्यार्थी संख्या घट्नु, भएका पनि बिदेसिनु, गुणस्तरीय शिक्षा खस्कदै जानु आजको विकाराल समस्याको रूपमा देखिएको छ । तर यसलाई विश्वविद्यालयले गम्भीर रूपमा लिन सकेको छैन । जिम्मेवार निकायले आनाकानी गर्दै जाने हो भने कालान्तरमा यसको असर डरलाग्दो हुने निश्चित छ । यस्तो अवस्थामा कस्तो जनशक्ति उत्पादन
होला ? यसप्रकारको शैक्षिक परिपाटीले देशले काँचुली फेर्ला त † अत ः शिक्षामा आमुल परिवर्तन ल्याउन यथासम्भव त्रिभुवन विश्वविद्यालयका समस्याको समाधानमा चासो देखाउनु जरुरी छ ।


(लेखक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस, कीर्तिपुरका नेपाली भाषा शिक्षा विभागका विद्यार्थी हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 785 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने