चोटको १३ महिनापछि ‘गोलमेसिन’ साम्वाको पुनरागमन

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबकी महत्वपूर्ण फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ले झन्डै १३ महिनापछि फुटबलमा पुनरागमन गरेकी छन् । गत वर्ष फागुनमा राष्ट्रिय महिला लिग खेल दौरानमा घुँडामा गम्भीर चोट बोकेपछि मैदानबाहिर रहेकी सावित्राले बिहीबारदेखि चितवनमा सुरु भएको महिला राष्ट्रिय लिगबाटै फुटबलमा पुनरागमन गरेकी हुन् ।

उनले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवविरुद्धको पहिलो खेलमा परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गर्दै पुनरागमन गरेकी हुन् । गोल मेसिनका रूपमा रहेकी सावित्राले पुनरागमन खेलमा भने गोल गर्न सकिनन् ।

सावित्रा ६०औं रमिला गोलेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । उनी मैदान प्रवेश गर्नुअघिसम्म टोली १–१ गोलको बराबरीमा रहँदा उनको आगमनसँगै एपीएफले २–१ को पुनरागमन जित निकाल्न सफल भयो । एक वर्षभन्दा लामो समयपछि मैदानमा फर्कन लाग्दा उत्साहसँगै डर र दबाब पनि रहेको सावित्राले बताइन् ।

सावित्राको प्रशिक्षणलाई हेर्दा उनी पूर्ण रूपमा फिट र ९० मिनेट नै खेल्न सक्ने देखिए पनि कतारका फिजियोथेरापिस्ट र टोलीको फिजियोथेरास्टिको सुझावअनुसार विस्तारै खेल्ने समय बढाउँदै लैजाने योजनाअनुरूप पहिलो खेलमा दोस्रो हाफमा मैदान छिराइएको हो– जनक सिंह, प्रशिक्षक

राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्षको ३ फागुनमा उनको घुँडामा गम्भीर चोट लागेको थियो । झन्डै आठवर्षे खेल जीवनमा सावित्राले पहिलोपटक गम्भीर खालको चोटबाट गुज्रनुपरेको थियो ।

१२ असारमा कतार पुगेकी सावित्राको ३१ असारमा दोहास्थित विश्व प्रसिद्ध अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो । शल्यक्रियापछिको रिह्याब सकेर सावित्रा झन्डै ७ महिनापछि २५ माघमा स्वदेश फर्केकी थिइन् । त्यसयता उनी लगातार एपीएफको प्रशिक्षणमा सामेल भइरहेकी छन् ।

एपीएफका प्रशिक्षक जनक सिंहले सावित्राको प्रशिक्षणलाई हेर्दा उनी पूर्ण रूपमा फिट र ९० मिनेट नै खेल्न सक्ने देखिए पनि कतारका फिजियोथेरापिस्ट र टोलीको फिजियोथेरास्टिको सुझावअनुसार विस्तारै खेल्ने समय बढाउँदै लैजाने योजनाअनुरूप पहिलो खेलमा दोस्रो हाफमा मैदान छिराइएको बताए ।

सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डका रूपमा परिचित छिन् । नेपाली फुटबलमा एपीएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छन् । दुवैपटक उनी खेलेको टोली आई लिग च्याम्पियन बनेको थियो ।

गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आई लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा सावित्रा दशककी उत्कृष्ट महिला खेलाडी अवार्डबाट सम्मानित भएकी थिइन् । अवार्ड सकिएलगत्तै उनी टोलीमा सामेल हुन चितवन गएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त