म्यादी प्रहरीका लागि झन्डै ३ लाखको आवेदन

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख म्यादी प्रहरी माग भएकोमा झन्डै ३ लाख जनाको आवेदन परेको छ । प्रहरी प्रधान कार्यालयले ६ देखि ११ चैतसम्म म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो । सो समयभित्र २ लाख ९३ हजार ३ सय १२ जनाले आवेदन दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत म्यादी प्रहरी भर्नाका लागि दर्खास्त माग गरेको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीमा भर्ती हुनका लागि सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । सो प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको हो ।

बढी आवेदन मधेश प्रदेशमा

मधेश प्रदेशपछि लुम्बिनी प्रदेशमा ५६ हजार ५ सय ६० जनाको आवेदन परेको छ । यस्तै, प्रदेश १ मा ५० हजार ९ सय ४४, बाग्मतीमा २७ हजार ८ सय ३४, उपत्यकामा १३ हजार ९ सय ५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २ सय ४५ र सुदूरपश्चिममा २९ हजार ७ सय १४ जनाको आवेदन परेको छ । म्यादी प्रहरी छनोटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहनेछन् ।

प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग नलागेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य भएको हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखेको छ । म्यादी प्रहरीसम्बन्धी छनोट प्रक्रिया १५ चैतबाट सुरु हुनेछ भने अन्तिम नतिजा २२ चैतमा प्रकाशित हुनेछ । म्यादीका लागि छनोट भएकाहरूको प्रशिक्षण २८ चैतबाट सुरु गरिनेछ । उनीहरूको सेवा अवधि ४० दिन रहने उल्लेख छ ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२ हजार ६ सय ८० रुपैयाँ)ले ३० हजार २ सय ४० रुपैयाँ दिइनेछ । यसैगरी खाद्यान्नवापत एकमुष्ठ ७ हजार २ सय रुपैयाँ र पोसाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइनेछ । यस्तै, निर्वाचनमा खटिने कर्मचारीका लागि तयारीस्वरूप खटाइएको ठाउँमा आउन जान थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त