शिक्षामन्त्री र शिक्षक महासंघबीचको ५१ बुँदे सम्झौता कार्यान्वयनका क्रममा २०७८ सालदेखि कक्षा १० को अन्तिम परीक्षा (एसइई)मा सहभागी हुने परीक्षार्थीका लागि १४ वर्षे थ्रेसहोल्ड हटाइएको छ । गएको चैत २ मा मन्त्रीस्तरीय निर्णय गरी उमेरको थ्रेसहोल्ड कायम नगर्नेगरी राष्ट्रिय परीक्षा बोर्डलाई मन्त्रालयले निर्देशन दिएको हो । यति बेला समस्या एसइईको मात्र होइन । कक्षा १२ सकेपछि चिकित्सा शिक्षातर्फ भर्ना हुनका लागि थ्रेस होल्ड कायम नै छ । त्रिभुवन विश्व विद्यालय र काठमाडौं विश्वविद्यालयका आआफ्ना थ्रेस होल्ड छन् । चिकित्सा शास्त्रमा डिप्लोमाका लागि १७ वर्ष पुुग्नुपर्ने त्रिविविको र १७ वर्ष कटेको हुनुपर्ने काठमाडौं विश्वविद्यालयको नियम छ । यसअनुसार कक्षा १२ पास गरेर पनि उमेर नपुुगेका कारण उच्च शिक्षतर्फ भर्ना हुन नपाएर पढाइलाई ब्रेक गर्नुपर्ने अवस्था छ । अर्कोतिर लोकसेवा आयोगतर्फ दर्खास्त दिनका लागि निश्चित उमेरको थ्रेसहोल्ड कायम नै छ । यता विश्वविद्यालय शिक्षा उत्तीर्ण गरेर पनि उता उमेर नपुुगेको कारण प्रतियोगितात्मक परीक्षामा सम्मिलित हुनबाट बञ्चित हुनुपर्ने अवस्थाले छ । यी सबै कारणले गर्दा एसइईका साथै विश्वविद्यालय तथा विभिन्न आयोगका परीक्षामासमेत सहभागी हुन पाउने गरी उमेरको हदबन्दी कायम हुनसके मात्रै एसइईमा उमेर हद हटाएको सार्थक हुनेछ ।
शिक्षामा आज पनि १० प्रतिशतभन्दा बढी राष्ट्रिय लगानी भइरहेको छ । विगतमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकोले शिक्षामा भएको यो लगानी कम भयो भनेर शिक्षाविद्हरू कुर्लिरहेका छन् । आगामी वर्ष २० प्रतिशतसम्म पु-याउने बचन शिक्षक महासंघलाई शिक्षामन्त्रीले दिएका छन् । तर, के साँच्चै लगानीअनुसारको प्रतिफल प्राप्त भएको छ त ? यस’bout भने तैंचुप, मैचुपको स्थिति छ । हामीसँग शैक्षिक योजना के छ ? कति जना डाक्टर, कति जना इन्जिनियर वा कति जना पाइलट, वकिल, प्राध्यापक हामीलाई चाहिएको हो ? ती जनशक्ति उत्पादनका लागि हामीले के कति लगानी गरेका हौ ? त्यसको कुनै हिसाबकिताब नगरीकन गरिएको लगानीको के अर्थ ? शिक्षाको सिकाउ र बिकाउ पक्ष किन कमजोर भइरहेको छ ? दिनहुँ हजारांैको संख्यामा खाडी मुलुक धकेल्ने जनशक्ति उत्पादनकै लागि के यो लगानी अपर्याप्त भएकै हो त ? एकपटक सोच्न जरूरी छ । हैन भने दिशाविहीन गतिमा शैक्षिक लगानी यही पनि धेरै भएको त होइन ? विचारणीय छ ।
सीप खै ?
चीनमा एउटा उखान छ ‘मलाई एक किलो माछा उपहार होइन, माछा मार्नका लागि सीप देऊ, ताकि म आफैंले मन लागेका बेला माछा मारेर खान सकूँ’ । तर, आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ । सीप छैन । व्यावहारिक पक्ष उपेक्षित नै छ । कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ । के सिक्यो हैन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्नेबाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन । यो आजको विडम्बना नै हो । कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन । गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन ।
कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ
शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो । सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो । यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासका कारणले गर्दा नै भएको हो । शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुुग्दैन, कुनै पनि काम गर्न सक्ने सीप अर्थात् खुबी प्रदान गर्न सक्नुपर्छ । हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ । तर, गुणस्तरको पाटो कमजोर छ । पढेर देश नै छोडनुपर्ने शिक्षाको कुनै दरकार हुँदैन । शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ । बजारमा बिकाउन सक्नुुपर्छ । तर, जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनै सक्दैन ।
व्यावहारिक पक्षः
अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकन आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै, ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन् । स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै, शत्रु पनि छन् मित्र पनि छन् । उसलाई सित्तैमा पाएको हजारौं डलरभन्दा परिश्रम गरी कमाएको एक डलरभन्दा बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताई दिनुहोस्’ भनेका छन् ।
लिंकनले अगाडि लेख्छन्, ‘मेरो छोरो जतातिर हूल छ त्यतातिर लाग्ने प्रवृतिको नहोस् । उसलाई कहिले काहीं आँखाबाट आँसु झार्न लाजमर्दो कुरो होइन भनी दिनुहोस् । ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । सम्झनुहोस् आगोको लप्काबाट नै फलाम खारिन्छ । ऊभित्र साहस र सधंै केही गरांै भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भिक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान् हुन सक्छ ।’
मानवता हराउँदै गएको, पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको उक्त सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ न व्यवहार । तसर्थ व्यावहारिक पक्षमा लिंकनको उक्त आकांक्षाले आमनेपाली अभिभावकको प्रतिनिधित्व गर्दछ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।
विद्यालय रहरको होस्ः
बा,
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ
मरेका दिनहरूको ।’
यी हरफहरू हरिभक्त कटुवालका हुन् । आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ । सैद्धान्तिक छ । हाम्रा बालबालिकाको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामिप्यता छँदै छैन । महेन्द्र मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने ? प्रजातन्त्र आएको कुरा २००७ साल फागुन ७ गतेको सट्टा कसैले फागुन ६ वा ८ गते भन्यो भने के नै बिग्रला ? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो । यो जान्नुु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा तात्विक अन्तर आउँदैन । बरू आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेरभन्दा गुुुुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन् । आज उनीहरूलाई गुुुुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । आजका बच्चालाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ । कति पढ्नेभन्दा पनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो । यसका लागि विद्यार्थीलाई विद्यालय जाऊँ जाऊँ लाग्नुपर्छ । करले होइन रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ । स्वतस्फूर्त सिकाइ वातावरण हुनुपर्छ ।
‘न गरी खाने न मरी जाने’ शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं
प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो । आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दै गर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ । यो सन्तोषको विषय हो । तर, पढेका जनशक्तिमध्ये कति जना रोजगारीमा लागे भन्ने कुरा पनि महत्वपूर्ण हो । बजारमा बिकाउ नहुने र ज्ञानमा टिकाउ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो । यसैकारण व्यावसयिक शिक्षा आजको मुख्य आवश्यकता थियो । तर, हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्क्रमबाट हटायौं । भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौं । विगतमा कक्षा ८ बाट ऐच्छिक विषयका रूपमा बागबानी लिन सकिन्थ्यो । त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौं । जसले गर्दा गरिखाने शिक्षाको अभावमा प्रमाणपत्रहरू खोटोमर हुन थाले । दराजभरि प्रमाणपत्र थन्किएका छन् तर ती प्रमाणपत्रको बजार भाउ शून्य छ । आजको मूल समस्या नै यही हो ।
बढ्दो बेरोजगारः
निर्वाचनलक्षित गरी सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको छ । उक्त पदमा जागिरका लागि दरखास्त दिनेहरूको हूल निकै ठूलो देखिन्छ । बेरोजगारीताको यो ठूलो उदाहरण हो । स्वदेशमा काम पाउन नसक्दा कैयौं संख्यामा युवा विदेश पलायन भएका छन् । युवा भनेको शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीच उमेर समूह हो । युवा सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह पनि हो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । कुल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यो समूहमा पर्दछन् । युवा विकास सूचांंकमा नेपाल विश्वमा ७७औं स्थानमा छ । १९ दशमलव २ प्रतिशत युवा आज पनि पूर्ण बेरोजगार छन् । कृषिमा संलग्न युवाहरू ५० दशमलव २ प्रतिशत छन् । २६ दशमलव १ प्रतिशत युवाहरू स्नातक तहको शिक्षा पूरा गरेर पनि बेरोजगार छन् । प्रतिवर्ष ५ लाख ३८ हजर युवा विदेसिने गरेको पाइन्छ । यसरी विदेसिनेमध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । उनीहरू विदेशमा गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन । जे पायो त्यही गर्ने सर्तमा विदेश गएका हुन्छन् । २४ प्रतिशत अर्धदक्षसम्म छन् । २ प्रतिशत मात्र दक्ष छन् । दुःखको कुरो स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवामध्ये प्रतिदिन सरदर ३ देखि ४ वटा बाकसमा उनीहरूको लाश नेपाल फर्कछन् । यो अवस्था आउनुको पछाडि हाम्रै गलत शिक्षानीति दोषी छ । ‘न गरी खाने न मरी जाने’ शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं ।






