वीरगन्ज । मुलुकको प्रमुख आर्थिक नगरी वीरगन्जको मुख्य सडकमा एकहूल मानिस हलो बोकेर निस्किए । मंगलबार हलो बोकेर उनीहरू निस्कनुको कारण खेती किसानी गरी अनाज उब्जाउनु भने थिएन । कृषिप्रधान देशका कर्मवीर किसान कहलाउन पनि उनीहरू बजारबीचको सडकमा हलो बोकेर निस्किएका थिएनन् । सेतो कपडामा पेन्ट गरी बनाएको हलो अंकित झन्डा बोकेर सडकमा निस्किका उनीहरू अरू कोही थिएनन् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता थिए ।
आगामी ३० वैशाखमा हुने निर्वाचन कार्यतालिका अनुसार पर्सामा राजनीतिको ‘राप’ चैत–वैशाखको चढ्दो घामभन्दा धेरै रापिलो भइसकेको छ । त्यसैले अन्य समयमा खासै बाहिर नदेखिने राप्रपाका स्थानीय नेता कार्यकर्ता समेत सडक र गाउँ टोलमा देखिन थालेका छन् ।
गत निर्वाचनमा पर्सामा एमालेले खासै आफ्नो प्रभाव देखाउन सकेको थिएन । मधेशमा आन्दोलनरत दलले मधेसविरोधी भन्दै गरेको प्रचारले एमालेको ‘सूर्य’ले खासै उज्यालो छर्न सकेको थिएन । तर, एमाले अहिले त्यसबेला सूर्यमा लागेको ग्रहण हटाउन मरिमेटेर लागेको छ ।
निर्वाचनको मुखमा पार्टी फेरबदलको लहर उच्च
पर्सामा योपटक अन्य पार्टीका निर्वाचित पालिका प्रमुखसहितका जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने लहर चलिरहेको छ । एमालेमा पार्टी प्रवेश गर्ने लहरले गएको पुस ८ गतेयता तातेको मधेश प्रदेशको पश्चिमको जिल्ला पर्सामा कांग्रेस र जसपा मात्र नभई सबैभन्दा कान्छो दल राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा समेत सोमबार यहाँ आइपुगे । उनले पनि आफ्ना राजनीतिक गतिविधि गरेर फर्किन भ्याइसके ।
पाँच वर्षमा एकपटक पनि पर्सा नझरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गएको ८ पुसमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहितका ४÷५ हजार अन्य पार्टीका स्थानीय नेता कार्यकर्ता एमालेमा प्रवेश गराएर जिल्लामा नै राजनीतिक तरंग सुरु गरिदिए । त्यसयता पनि गत २८ फागुनमा अध्यक्ष ओली पर्सामा आई वीरगन्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीलगायतलाई पनि एमालेमा प्रवेश गराउन भ्याए । ती पालिकाका प्रमुखसहित एमाले पार्टी प्रवेशको लहर मंगलबार पनि रोकिएको छैन ।
मंगलबार पनि बहुदरमाई नगरपालिकाका उपप्रमुख गायत्रीदेवी र उनका श्रीमान् पूर्वगाविस अध्यक्ष राजदेव यादव तथा स्थानीय नेता कमल महतो कोइरीलगायतका नेताकार्यता एमालेमा प्रवेश गरे । यसरी स्थानीय चर्चित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने लहरले जिल्लामा निकै राजनीतिक तरंग हुँदा योपटक मधेश प्रदेशमा नै एमालेको मत बढ्ने आँकलन यहाँका बुद्धिजीवीले गर्दै छन् । उता एमाले अध्यक्ष ओली फेरि आगामी २२ चैतमा पर्सामा आई ठूलो संख्यामा अरू पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यक्रम रहेपछि यहाँको राजनीति अझै तरंगित भएको छ ।
उता, कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गएको २६ फागुनमा पर्सामा आई पोखरिया नगरपालिकाका नगरप्रमुख दिपनारायण चौरसियालाई कांग्रेस प्रवेश गराए । यता दुई ठूला पार्टीले बाहिर र सत्ता गठबन्धनका नेता कार्यकर्ता फटाफट पार्टी प्रवेश गराउन थालेपछि मधेश प्रदेशमा पकड रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि एमाले प्रवेश गर्न ठिक्क पारिएका लोसपाका चर्चित युवा नेता राजेशमान सिंहको समूहलाई गएको ७ चैतमा जसपामा प्रवेश गराए ।
निर्वाचनकोे मिति तोकिनु पूर्व यसरी एकपछि अर्को केन्द्रीयस्तरका पार्टीका अध्यक्ष नझरेको पर्सामा पछिल्लो समय कुनै न कुनै चर्चित नेता जिल्ला दौडाहामा हानिएपछि जिल्लाको राजनीतिक महोल गर्माएको हो ।
एकपछि अर्का ठूला नेताको आगमनसँगै निर्वाचनका मुखमा राप्रपाले पनि आफ्ना नेता कार्यकर्ता खास गरी राप्रपा नेपालमा जान नदिन राजनीतिक गतिविधि बढाउन बाध्य भएर अब सडकमा आउन थालेको नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले तर्क गरे । निर्वाचन पनि नजिकिएकोले यस्ता ताल–तालका गतिविधि अब देख्न पाइने उनले बताए ।
हैसियतअनुसार अब जनता झुक्याउने र नेता कार्यकर्ता तानातान गर्ने लहर निर्वाचनसम्म नै चल्ने राजनीतिलाई नजिकबाट नियाली रहेका स्थानीय बुद्धिजीवीको भनाइ छ । नेता नै तानातान हुँदा राजनीतिक नीति सिद्धान्तको दोहोलो काढेको उनीहरूको तर्क छ । राप्रपाको कार्यक्रम भने अन्य पार्टीका नेता कार्यकर्ताभन्दा फरक खुलेर नै हिन्दु राष्ट्र पुनस्र्थापना र गणतन्त्रको खारेजीको मागसहितको देखिएको छ ।
योपटक पार्टीभित्र नीतिगत निर्णय नै गरी उम्मेदवारको टुंगो लगाउने प्राविधिक निर्णयमा नेपाली कांग्रेस निकै सुझबुझका साथ अगाडि बढ्न थालेको छ । उसले स्थानीय वडा र गाउँपालिकाका उम्मेदवारको नाम टुंगो लगाउन मंगलबार जिल्ला कार्य समितिको बैठक राखी आधिकारिक निर्णय गरेर प्रतिनिधि खटाइसकेको छ ।
यही २० चैतभित्र सहमति वा प्रजातान्त्रिक प्रक्रियाबाट वडा र गाउँपालिकाका उम्मेदवारको नाम टुंग्याउन प्रतिनिधि खटाइएको नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले बताए । उम्मेदवारको नाम टुंग्याउन जिल्ला सभापति जनार्दन क्षेत्रीको नेतृत्वमा जिल्ला कार्यसम्पादन समिति र संसदीय कार्य सम्पादन समितिसमेत निर्माण गरिसकेको छ । जिल्लाका ३ नगरपालिका र वीरगन्ज महानगरपालिकाको हकमा भने जिल्लाले सिफारिस मात्र गर्ने कांग्रेस पर्साले जनाएको हो ।
केन्द्रमा गठबन्धनको चर्चाका कुरा चलिरहेको भए पनि पर्साको सन्दर्भमा भने नेपाली कांग्रेसका नेता कार्यकर्ताले एक्लै निर्वाचनमा जाने तयारी गरिरहेका छन् । ‘आफ्नै नेता कार्यकर्तालाई त पाँच वर्षमा लड्न पाउने एकपटक अवसर आउँछ, यस्तो अवस्थामा पर्साको हकमा भने अरूसँग गठबन्धन नगर्ने रणनीतिअनुसार गृहकार्य भइरहेको छ,’ कांग्रेस पर्साका अध्यक्ष पाण्डेयले भने, ‘तर, केन्द्रको निर्देशन आयो भने उल्लंघन गरेर अगाडि भने बढ्दैनौं,’ उनले भने ।






