काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक)लाई जीवन्त बनाउन बौद्ध दर्शनलाई बलियो आधार बनाउनुपर्नेमा जोड दिएका छन् । पाँचांै शिखर सम्मेलनलाई बुधबार भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिम्सटेक क्षेत्रलाई जोड्न बौद्ध दर्शन जोड्नुपर्ने बताए ।
त्यस्तै, प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ । फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ ।’
बिम्सटेक बडापत्र अनुमोदन
श्रव्यदृश्यका माध्यमबाट सदस्य राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले वडापत्रमा हस्ताक्षर गरेर अनुमोदन गरेको छ । बडापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् । सम्मेलनमा तीन नयाँ दस्तावेज अनुमोदन भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले कोलम्बोमा भएको शिखर सम्मेलनमा सहभागी डा. नारायण खड्काले हस्ताक्षर गरे ।
नेपालका तर्फबाट ‘आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी बिम्सटेक महासन्धि’ र ‘कोलम्बोमा प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी ज्ञापनपत्र’ त्यसैगरी, मन्त्रालयका सहसचिव तथा क्षेत्रीय संगठन महाशाखाका प्रमुख घनश्याम भण्डारीले ‘बिम्सटेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्र’मा हस्ताक्षर गरेका छन् ।
‘बिम्सटेक–लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता’ भन्ने नाराका साथ बोलाइएको शिखर सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गरेका थिए । विगत साढे तीन वर्षदेखि श्रीलंकाको नेतृत्वमा रहेको बिम्सटेकको अध्यक्षता अब थाइल्यान्डलाई सुम्पिएको छ ।
तीन वर्षअघि काठमाडौंमा सम्पन्न चौथो शिखर सम्मेलनले बलियो बिम्सटेक निर्माण गर्न बडापत्रको आवश्यकता, संगठनको पुनर्संरचना, संगठनको कार्यक्षेत्र र उपक्षेत्र निर्धारण तथा सचिवालयलाई बलियो बनाउने आधारशीला निर्माणका निम्ति आह्वान गरेको थियो ।
तीनपटक स्थगित भएको बिम्सटेक शिखर सम्मेलन हाइब्रिड फरम्याटमा भएको थियो । बिम्सटेकको शिखर सम्मेलन कोरोना महामारीका कारण तीनपटक स्थगित भएको थियो । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भौतिक रूपमै सहभागिता जनाएका थिए । पछिल्लोपटक डिसेम्बर ५ का लागि प्रस्तावित सम्मेलन अन्तिम समयमा कोरोनाको कारण देखाउँदै स्थगित भएको थियो ।
सन् २०२० को जनवरीमा शिखर सम्मेलन गर्ने तयारी थियो । तर, कोभिड–१९ का कारण स्थगित भएको थियोे । त्यसपछि गत अगस्टमा बिम्सटेक शिखर सम्मेलन गर्ने भनियो । तर, बिम्सटेकको अध्यक्ष मुलुक श्रीलंकाको अनुरोधमा स्थगित भएको थियो ।






