स्थानीयलाई खानेपानी देऊ

नागढुंगा सुरुङमार्ग निर्माणको कुरा सुरु हुँदा नै स्थानीय जनतालाई जमिनको क्षतिपूर्ति दिने र प्राकृतिक स्रोतसाधनमा पर्न जाने प्रभावलाई मध्यनजर गरी स्थानीय जनताको माग पूरा गरिदिने सहमति सरकारले गरेको थियो । सुरुङमार्ग निर्माण भइरहेका बेलामा चन्द्रागिरि नगरपालिकाको स्थायी खानेपानीको मूल सुक्यो । भूमिगत सुरुङ खनिएपछि हालसम्म प्रयोग गर्दै आएका खानेपानीको मूल सुक्न गएको हो । पानी सुकेपछि स्थानीय जनताका लागि खानेपानीको आपूर्ति तत्काल अन्यत्र कतैबाट गर्न सकिने अवस्था नभएपछि नगरपालिकाको खाने पानी टयांकरले पानी ओसारेर स्थानीय जनताको तत्कालको आवश्यकता टारिरहेको छ । उता स्थानीय जनता भने खानेपानीको सुनिश्चितता नहुँदासम्म सुरुङमार्ग निर्माण कार्य अघि बढ्न नदिने अठोटका साथ अघि बढेपछि उनीहरूले सुरुङमार्ग निर्माण कार्यमा खटिरहेका कामदार बस्ने क्याम्प, टहरा र कार्यालयमा तोडफोड गरिदिए । निर्माण स्थलमा दैनिक झडप र हात हालाहालको अवस्था रहिरह्यो । यसै कारणले चैत महिनादेखि नागढुंगा सुरुङमार्ग निर्माण कार्य ठप्प रहँदै आएको थियो ।

झडपपछि चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दा र सरकारबीच खानेपानीको माग पूरा गर्ने सहमति भएको छ । यसले चैतबाट ठप्प रहेको सरुङ निर्माण कार्य सुचारु हुन गएको छ । यो नमिठो तर यथार्थ घटनापछि स्थानीय बासिन्दाको मागअनुसार खानेपानीको समस्या समाधान गरिदिने कार्यमा सरकार जुट्न थालेको छ । यो माग आफंैमा स्थानीय जनताको नाजायज माग पनि होइन । स्थानीय नागरिकका अनुसार सुरुङमार्ग सुरु भएपछि दहचोकबासीले प्रयोग गर्दैै आएको पानीको मुहान सुक्न गएको थियो । पानीको स्रोत नै सुकेपछि स्थानीय जनताले सुरुङ निर्माणको पक्षसँग हारगुहार गर्नु स्वभाविकै थियो । त्यसो त सरकार आफंैले सुरुङ निर्माण कार्यले प्राकृतिक स्रोतसाधन र स्थानीय जनतामा कहाँ के कस्तो असर पारेको छ भनेर हरक्षण चनाखो रहनुपर्ने हो । खानेपानी जस्तो अत्यावश्यक वस्तुको आपूर्तिका लागि शक्ति र साधन जुटाएर शीघ्रातिशीघ्र काम पूरा गरिदिनुपर्ने हो । यसमा सरकारी पक्षको कमजोरी रहेको छ । यो कमजोरी समयमै महसुस नगरिँदा अहिले भिडन्त र तोडफोडको अवस्थासम्म सिर्जना हुन गएको छ ।

जे होस् सरकारले स्थानीय जनताका माग पूरा गरिदिने सहमति गरेको छ । यो सहमतिको समयमै कार्यान्वयन हुनु जरुरी छ । जनताको बाँच्न पाउने अधिकारबाट उनीहरूलाई वञ्चित गरिनुहुँदैन । यति मात्र होइन, पानीको मूल सुकेपछि अन्य जीव तथा वनस्पतीको पनि उत्तिकै ख्याल गरिनुपर्छ । पानी सुकेकाले पहिलेदेखि चलिरहेको ‘इको सिस्टम’ अबका दिनमा चलिरहने पनि देखिँदैन । यसले सुरुमा त्यति असर पारेको त नदेखिएला, तर कालान्तरमा यसले ठूलो असर पार्ने र विपत्ति निम्त्याउने सम्भावना बढेको छ । यो कुरालाई पनि समय छँदै हेक्का राख्नुपर्छ । त्यसैले समय छँदै चन्द्रागिरिमा खाने पानी पु¥याऊ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज