अध्यागमनले सच्यायो निर्णय

काठमाडौं । सरकारले विदेशी नागरिकले अनअराइभल भिसाका लागि नगद रकम लिएर आउनुपर्ने नियम सच्याएको छ ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी नागरिकलाई २ सय अमेरिकी डलर नगद बोकेर आउँदा मात्रै अनअराइभल भिसा दिने निर्णय गरेको थियो । सो निर्णयप्रति चौतर्फी विरोध भएपछि निर्णय स्थगन गरिएको हो । सोमबार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विभागकाअनुसार विदेशी नागरिकले अब विद्युतीय माध्यमबाटसमेत अनअराइभल भिसाका लागि आवश्यक रकम तिर्न सक्नेछन् ।

‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट २०७९ वैशाख ३ गते जारी सूचनाबमोजिमको विदेशी नागरिकलाई २ सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले यसअघि ३ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि तिर्नुपर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २ सय अमेरिकी डलर साथमा ल्याउन भन्दै सूचना प्रकाशित गरेको थियो ।

सोमबारको बैठकले त्रिभुवन विमानस्थल क्षेत्रमा सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पीओएस मेसिन थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने र आगमन कक्षतर्फ एक र प्रस्थान कक्षमा एकवटा एटीएम मेसिन थप गर्ने निर्णयसमेत गरेको छ ।

भिसा शुल्क सम्बन्धमा पर्यटकलाई असुविधा परे नपरेको विषयमा अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

देशका विभिन्न भागबाट लागुऔषधसहित २१ जना पक्राउ