काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्थानीय तहमा आफ्नो पार्टीको सरकार गठन भएमा प्रत्येक घरपरिवारलाई ३ सय युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमका बीचमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्र सार्वजनिक गर्दै यस्तो घोषणा गरेका छन् ।
‘जनमुखी स्थानीय सरकार : विकास र समृद्धिको आधार’ भन्ने मूल नारासहित स्थानीय तहको निर्वाचनमा होमिएको एकीकृत समाजवादीले संघीय र प्रदेश सरकारसँग आवश्यक समन्वय गरेर प्रत्येक घर परिवारलाई ३ सय युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने उद्घोष गरेको हो ।
प्रत्येक घरपरिवारलाई ३ सय युनिट बिजुली निःशुल्क
‘स्थानीय सरकारमार्फत हरेक घरपरिवारलाई वार्षिक रूपमा ३ सय युनिटसम्म विद्युत् महसुलमा छुट दिइनेछ । यसका लागि संघीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिनेछ । विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पु¥याइनेछ,’ एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा विगत (एमाले)मा छँदा ‘स्थानीय विकास’bout विगतका हाम्रा प्रयास’ शीर्षक दिएर विगतका कामको स्मरण गराइएको छ । ‘कमरेड मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको सबैभन्दा लोकप्रिय र जनजनका मनमस्तिष्कमा बस्न सफल कार्यक्रम हो, ‘आफ्नो गाउँ आफैं बनाऔं’ । यो कार्यक्रम नेपालको स्थानीय विकासका क्षेत्रमा आधारभूत परिवर्तन ल्याउने युगान्तकारी कदम थियो,’ घोषणापत्रमा भनिएको छ ।
आफ्नो पार्टीका उम्मेदवार स्थानीय तहमा विजयी भएमा एकीकृत समाजवादी पार्टीले विभिन्न प्रतिबद्धता व्यक्त गर्दै पूरा गर्ने आह्वान गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेको छ ।
निःशुल्क स्वास्थ्योपचार, शिक्षामा सुधार ः प्रगतिको आधार, निःशुल्क खानेपानी ः सुखी जिन्दगानी, संरक्षित कृषिबजार ः किसानको जीवनमा बहार, घरेलु तथा ग्रामीण उद्योग, आत्मनिर्भताको प्रयोग, उद्यमशीलता विकासका लागि विशेष योजना, पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदानः खेलाडीहरूलाई सम्मान र पुरस्कारको व्यवस्था गरिने एकीकृत समाजवादीले प्रतिबद्धता गरेको छ ।
यस्तै, हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालय, फोहोर बन्ने छ मोहर : सफा गाउँसहर, सडक सञ्जाल : विकास निर्माणको पूर्वाधार, जातीय छुवाछुत मेटाऔं : मानव मर्यादा कायम गरौं, सामाजिक विकासका लागि साहित्य, कला र संस्कृति; बालबालिका विशेष कार्यक्रम, ज्येष्ठ नागरिकको सम्मान : समुदायको सानजस्ता नाराका साथ विभिन्न योजना कार्यान्वयन गर्ने पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ ।
एक्लै निर्वाचनमा जान तयार छौं
एकीकृत समाजवादीले वर्तमान पाँच दलीय गठबन्धनलाई आगामी संसदीय निर्वाचनमा समेत सँगै लैजानका लागि पार्टी पूर्णतः इमानदार रहेको उल्लेख गरेको छ । तर पार्टीको इमानदारीलाई कसैले कमजोरी ठान्छ भने आफूहरू गठबन्धनको सहयात्रालाई सम्मान गर्दै एक्लै चुनावमा जान तयार रहेको उद्घोष गरिएको छ ।
राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि आक्रमणको खतरा अझै पनि कायम नै रहेको निष्कर्ष एकीकृत समाजवादीको रहेको छ । एकीकृत समाजवादीले घोषणापत्रमा उल्लेख गरेको छ, ‘एकपटकका लागि तीनवटै तहका निर्वाचनमा सँगै मिलेर जानुपर्छ भन्ने हाम्रो विश्लेषणका आधारमा नै हामी वर्तमान गठबन्धनलाई अझै बलियो बनाउन चाहन्छौं ।
गठबन्धनलाई बलियो बनाएर लैजान हाम्रो अधिकतम प्रयास रहनेछ । वर्तमान गठबन्धनलाई आगामी संसदीय निर्वाचनमा समेत सँगै लैजानका लागि हाम्रो पार्टी पूर्णतः इमानदार छ । हाम्रो इमानदारीलाई कसैले कमजोरी ठान्छ भने हामी गठबन्धनको सहयात्रालाई सम्मान गर्दै एक्लै चुनावमा जान पनि तयार छौं ।’
आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने सम्भावनाका कारण मात्र गठबन्धनलाई जोड दिइरहेको प्रस्टीकरण एकीकृत समाजवादीले दिएको छ । घोषणापत्रको पहिलो बुँदामै पार्टीको जन्म कसरी भयो भन्ने प्रसंग उल्लेख गर्दै एमालेसँगको विद्रोहको बाध्यता’bout समेत उल्लेख गरिएको छ ।
कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा कम्युनिस्ट आन्दोलन जोगाउन विद्रोह गरेको स्मरण घोषणापत्रमा गरिएको छ ।
एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीबीच एकता
यसैबीच, एकीकृत समाजवादी र नेकपा गौरवशाली पार्टीको बीचमा एकीकरण भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा दुई पार्टीबीचमा एकीकरण भएको घोषणा गरिएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरवशाली पार्टीका अध्यक्ष भवीश्वर पराजुलीसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् । एकीकृत समाजवादी नेकपा एमालेबाट विभाजन भएको गठन भएको पार्टी हो भने नेकपा गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रबाट विभाजन भएर गठन भएको पार्टी थियो ।