तस्करी रोक्न सीमा नाकामा नियमित अनुगमन

देश आर्थिक संकटको भुमरीमा परिरहेका बेला सीमा भन्सारमा करोडौं रुपैयाँ राजस्व छली गरिएको विषयलाई लिएर राजस्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध दायर गरिएको यो पछिल्लो मुद्दाले देशको चालू अर्थतन्त्र र यसको सञ्जालमा अनगिन्ती प्वाल, सुरुङ र लुपहोलहरू छन् भन्ने स्पष्ट रूपमा देखाएको छ । यिनै लुपहोलले देशमा उठ्ती हुनुपर्ने जति राजस्व उठ्तीमा समस्या निम्त्याउने गरिरहेका छन् । राजस्व छली गरेका ६ जना व्यक्तिविरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरिनुले पनि नेपालको भन्सारको वास्तविक हालत यथार्थमा बाहिर ल्याएको छ । यो मुद्दा त नेपालको समग्र आर्थिक कारोबार हुने हजारौं आइटममध्ये भारतबाट भन्सार छलेर कपडा भित्र्याउने १ जना भारतीयसहित ६ जनाविरुद्धको त्यो पनि एकपटकको राजस्व छलीको एउटा अभिव्यक्ति उदाहरण मात्र हो । राजस्व छलीका यस्ता घटना हरेक क्षणमा हुने गरिइरहेका छन् । यस्ता कर्मका लागि अथाह छिद्रहरू नियमित सञ्चालनमा छन् ।

केवल ठूला गाडी, मालबाहक साधन आदिको विषय मात्र कहिलेकाहीं खोजी तथा निरीक्षणमा परेको देखिन्छ । त्यो पनि आधिकारिक भन्सार नाकाबाटै भएको हुन्छ । यसका अतिरिक्त चोर बाटोहरूबाट दैनिक मालसामान ओसारपसार भइरहेकै हुन्छ । त्यहाँ पनि गाडीहरू प्रयोग गरेको पाइन्छ । सीमा इलाकामा मानिसको लाइन लागेर सामान ओसारपसार गर्ने ज्यालादारी काम त दैनिकजसो क्षणक्षणमा भइरहेको हुन्छ । यसको नियन्त्रण र रखवारी कहिल्यै पनि हुन सकिरहेको छैन । नेपाल–भारत सीमा इलाका आफंैमा खुला छ । त्यसमा पनि नेपालका तर्फबाट सीमानाकामा निरीक्षणका लागि सुरक्षा पोस्टहरू राखिएका छैनन् । नेपाल र भारतमा धेरै सम्बन्ध छन् । यसले गर्दा पनि स्थानीय जनताले आफ्ना सामानका रूपमा त्यस्ता सामानहरु बोकेर आ–आफ्ना घरसम्म ल्याइदिने र त्यहाँबाट व्यापारीले उठाउने गरिरहेका पनि छन् । यसमा पनि कुनै निरीक्षण वा चेकजाँच छैन । यो मानौ छुटका रूपमा चलिरहेको जस्तो देखिन्छ । सामान आउनु, सामानको उपलब्धता हुनु, स्थानीय जनताले प्रयोग गर्न पाउनु नराम्रो कुरा होइन । तर, पनि देशमा आर्थिक संकट छाउनु, भयावह अवस्था सिर्जना हुन पुग्नु दुर्भाग्यको कुरा हो ।

त्यसैले नेपाल सरकार राजस्व छलीको मामलामा निकै चनाखो हुनुपर्छ । नेपाल–भारतको सीमा इलाकामा रहेका नाका तथा भन्सार क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुपर्छ । अहिले राजस्व चुहावटले देशमा भयावह संकट खडा गर्दै छ । विभिन्न फर्महरूले गर्ने गरेको चोरी निकासी तथा पैठारी भयावह बन्दै छ । सामानहरू बिनाबिलबिजक बिक्रीवितरण भइरहेका छन् । कतिपय स्वदेशी उत्पादन बेलैमा पैठारी गरिनु पर्नेमा सरकार र सरकारी निकायको असक्षमताका कारण पनि तस्करी पैठारी मौलाउने गरिरहेको छ । यसलाई सरकार र मातहतका निकायले गम्भीरताका साथ बोध गरी क्षमता र आचरण सच्याउनु पनि जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु